शनिबार, साउन २३ २०८३
नेपालको अर्थतन्त्रको मेरुदण्ड के हो भन्ने प्रश्नको उत्तर खोज्न धेरै टाढा जानुपर्दैन। प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा वैदेशिक रोजगारीका लागि देश छोड्न लामबद्ध भएका हजारौँ युवाहरुको अनुहार हेरे पुग्छ। उनीहरूले विदेशको मरुभूमि, कारखाना, निर्माणस्थल र श्रमबजारमा बगाएको रगत पसिनाको प्रतिफलस्वरूप नेपाल भित्रिने रेमिट्यान्सले आज मुलुकको अर्थतन्त्रलाई धानेको छ।
कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब २३ प्रतिशत हिस्सा ओगट्ने यही विप्रेषणले बैंकिङ प्रणालीलाई चलायमान बनाएको छ, गाउँका खरका छानालाई जस्तापाता र कङ्क्रिटका घरमा रूपान्तरण गरेको छ, लाखौँ परिवारको जीवनस्तर उकासेको छ र दुर्गम गाउँका बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ। गरिबी न्यूनीकरणदेखि राष्ट्रिय अर्थतन्त्रको सन्तुलन कायम राख्नसम्म वैदेशिक रोजगारीले खेलेको भूमिका निर्विवाद रूपमा महत्त्वपूर्ण छ।
तर, यो चित्रको अर्को पाटो पनि छ, जुन आर्थिक उपलब्धिभन्दा पनि चिन्ताजनक छ। यूएई, कतार, साउदी अरेबिया वा मलेसियाका कठोर श्रमस्थलमा नेपाली युवाले बगाएको पसिनाको मूल्यस्वरूप घर भित्रिएको पैसाले जति नयाँ घरहरू निर्माण गरिरहेको छ, त्यति नै कतिपय घरभित्रका सम्बन्धहरू भने बिस्तारै भत्काइरहेको छ। सामाजिक सञ्जालमा दिनहुँ देखिने घटनाहरू, अदालतमा पुगिरहेका सम्बन्ध विच्छेदका मुद्दाहरू, पारिवारिक विवाद र विदेशबाट आउने दुःखद समाचारहरूलाई नियाल्दा एउटा गम्भीर प्रश्न उठ्छ के हामी आर्थिक समृद्धिको मूल्य सामाजिक विखण्डनका रूपमा चुकाइरहेका त छैनौँ?
वैदेशिक रोजगारी आफैँमा समस्या होइन। समस्या त्यससँगै विकसित हुँदै गएको सामाजिक संरचना, पारिवारिक दूरी, भावनात्मक खालीपन, अविश्वास र डिजिटल संस्कृतिको दुरुपयोग हो। पैसा कमाउने दौडमा परिवारसँग बिताउने समय घट्दै गएको छ। वर्षौँसम्मको भौगोलिक दूरीले श्रीमान् श्रीमतीबीचको आत्मीयता कमजोर बनाइदिन्छ। सुरुमा सामान्य लाग्ने संवादको कमी, एक्लोपन र शङ्काले विस्तारै सम्बन्धलाई क्षय गर्न थाल्छ। विदेशमा रहेका श्रीमान् वा श्रीमती परिवारका लागि दिनरात संघर्ष गरिरहेका हुन्छन् भने स्वदेशमा रहेका सदस्यहरू आफ्नै किसिमका सामाजिक, आर्थिक र मानसिक दबाबसँग जुधिरहेका हुन्छन्। यही दूरीलाई कतिपय अवस्थामा सामाजिक सञ्जाल, गलत सङ्गत वा परिस्थितिजन्य कमजोरीले अझ गहिरो बनाइदिन्छ।
पछिल्ला केही वर्षयता नेपालका जिल्ला अदालतहरूमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढिरहेका छन्। ती सबैको कारण वैदेशिक रोजगारी मात्र होइन, तर धेरै मुद्दामा यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देखिन्छ। लामो समयसम्मको दूरी, आर्थिक निर्णयमा असमझदारी, भावनात्मक संवादको कमी, सामाजिक दबाब र डिजिटल माध्यमबाट विकसित हुने नयाँ सम्बन्धहरूले वैवाहिक जीवनमा गम्भीर असर पारिरहेका छन्। एकातिर विदेशमा रहेका जीवनसाथीको शङ्कालु मानसिकता हुन्छ भने अर्कोतिर घर सम्हालिरहेका व्यक्तिमाथि समाजका अनेक टिप्पणी र दबाब। यस्तो अवस्थामा विश्वास कमजोर बन्दै जाँदा सम्बन्ध पनि कमजोर बन्न पुग्छ।
सत्य घटनाको एक कुरुप ऐना।
झापाका २८ वर्षीय सुनिल (नाम परिवर्तन) विगत चार वर्षदेखि यूएईको एक सुरक्षा कम्पनीमा कार्यरत थिए। महिनाको करिब दुई हजार दिराम उनी नियमित रूपमा घर पठाइरहेका थिए। वृद्ध बुबाआमा, दुई वर्षीया छोरी र श्रीमतीको भविष्य सुरक्षित बनाउने सपना बोकेर उनले श्रीमतीलाई विर्तामोडमा कोठा भाडामा राखिदिएका थिए, ताकि छोरीले राम्रो शिक्षा पाओस् र परिवार सहज रूपमा बस्न सकोस्। तर, समयसँगै दूरी बढ्दै गयो। सुरुमा फोनमा हुने सामान्य भनाभन विस्तारै सम्बन्धको चिसोपनमा बदलियो। श्रीमती सामाजिक सञ्जालमार्फत अर्कै युवासँग नजिकिइन्। गत महिना कुनै जानकारी नदिई अचानक नेपाल फर्किएका सुनिलले आफ्नो जीवनकै सबैभन्दा ठूलो पीडा भोग्नुपर्यो। कोठामा न श्रीमती थिइन्, न आफूले वर्षौँको कठिन परिश्रमले कमाएर पठाएको झन्डै १५ लाख रुपैयाँ बैंक खातामा थियो। दुई वर्षीया छोरीलाई वृद्ध सासू ससुराको जिम्मा लगाएर उनकी श्रीमती अर्कै व्यक्तिसँग घरजम गरिसकेकी थिइन्।
आज सुनिल जिल्ला अदालतको ढोका धाइरहेका छन्। उनीसँग विदेशमा बिताएका चार वर्षको सम्झना छ, रगत पसिनाले कमाएको रकम गुमाएको पीडा छ, अनि परिवार जोगाउन नसकेको आत्मग्लानि पनि। उनी एक्ला होइनन्। यस्ता कथाहरू अहिले हजारौँ नेपाली श्रमिकका साझा अनुभव बन्दै गएका छन्।
यस्ता घटनाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध मात्र होइन, बालबालिकाको मनोविज्ञानलाई पनि गहिरो असर पारिरहेको छ। बाबु विदेशमा र आमा आफ्नै संघर्षमा अल्झिँदा धेरै बालबालिका अभिभावकको प्रत्यक्ष माया, समय र निगरानीबाट टाढा हुर्किरहेका छन्। रेमिट्यान्सले महँगा मोबाइल, राम्रो विद्यालय र सुविधा त किनिदिएको छ, तर बाबुको काख, आमाको समय र परिवारको आत्मीयता किन्न सकेको छैन। यही भावनात्मक अभावका कारण कतिपय बालबालिका कुलत, डिप्रेसन, डिजिटल लत र गलत सङ्गततर्फ आकर्षित भइरहेका छन्। पैसा आउने तर संस्कार र समय नपुग्ने अवस्था भविष्यका लागि गम्भीर सामाजिक चुनौती बन्न थालेको छ।
यति मात्र होइन, विदेशबाट वर्षौँपछि घर फर्किने धेरै व्यक्तिले आफ्नो परिवार पहिले जस्तो नरहेको यथार्थ पनि भोगिरहेका छन्। कतै सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश भइसकेको हुन्छ, कतै विश्वास पूर्ण रूपमा टुटिसकेको हुन्छ। पुनर्मिलनको आशामा फर्किएका धेरै परिवार अन्ततः अदालत, प्रहरी वा हिंसात्मक घटनासम्म पुग्ने गरेका छन्। आर्थिक सफलताभन्दा सम्बन्धको असफलता ठूलो पीडाको विषय बन्न थालेको छ।
डिजिटल युगको अर्को चुनौती : सामाजिक सञ्जाल कि सामाजिक विघटन?
प्रविधिको विकासले संसारलाई एकअर्कासँग जोड्ने अभूतपूर्व अवसर दिएको छ। हजारौँ किलोमिटर टाढा रहेका परिवारलाई भिडियो कलमार्फत केही सेकेन्डमै एकअर्काको अनुहार देख्न सक्ने सुविधा पनि यही प्रविधिले दिएको हो। वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीका लागि फेसबुक, मेसेन्जर, ह्वाट्सएप, भाइबर, टिकटक र युट्युबजस्ता डिजिटल माध्यमहरू परिवारसँग जोडिने महत्वपूर्ण सेतु बनेका छन्। तर, विडम्बना के छ भने सम्बन्धलाई बलियो बनाउन आएको यही प्रविधि कतिपय अवस्थामा सम्बन्ध भत्काउने सबैभन्दा शक्तिशाली माध्यम पनि बन्दै गएको छ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै एक्लोपन, भावनात्मक कमजोरी, गलत सम्बन्ध, गोपनीयताको उल्लङ्घन र सस्तो लोकप्रियताको होडले नेपाली समाजमा नयाँ प्रकारका सामाजिक समस्या जन्माइरहेको छ। पछिल्ला वर्षहरूमा टिकटक र फेसबुकमा भाइरल हुने अधिकांश पारिवारिक विवादका भिडियोहरू नियाल्ने हो भने धेरै घटनामा वैदेशिक रोजगारीको पृष्ठभूमि भेटिन्छ। श्रीमान् विदेशमा छन्, श्रीमती नेपालमा; वा श्रीमती विदेशमा छिन् र श्रीमान् स्वदेशमा। भौतिक दूरीसँगै भावनात्मक दूरी बढेपछि सामाजिक सञ्जालले त्यसलाई अझ जटिल बनाइदिने गरेको छ।
आजभोलि व्यक्तिगत जीवनलाई सार्वजनिक तमासा बनाउने प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ। श्रीमान् श्रीमतीबीच भएका निजी संवाद, भिडियो कल, अडियो रेकर्ड, च्याट, पारिवारिक झगडा र व्यक्तिगत कमजोरीलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेर ‘भाइरल’ हुने संस्कृतिले हाम्रो समाजको नैतिक धरातललाई कमजोर बनाइरहेको छ। केही युट्युब च्यानल र डिजिटल प्लेटफर्महरूले पारिवारिक पीडालाई समाचारभन्दा पनि व्यापारको सामग्री बनाइदिएका छन्। कसैको जीवनको सबैभन्दा संवेदनशील क्षणलाई आकर्षक थम्बनेल र उत्तेजक शीर्षक बनाएर भ्यूज र आम्दानी कमाउने प्रवृत्ति दिनप्रतिदिन बढिरहेको छ।
यसले सम्बन्ध मात्र होइन, व्यक्तिको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक अस्तित्वमाथि समेत गम्भीर प्रहार गरिरहेको छ। समाजले केही मिनेटको भिडियो हेरेर कसैलाई दोषी वा निर्दोष घोषणा गरिदिन्छ। तर, त्यस भिडियो पछाडि लुकेको वर्षौँको पीडा, गलतफहमी, मानसिक तनाव वा परिस्थितिलाई बुझ्ने प्रयास भने कमै हुन्छ।
डिजिटल विकृतिको सत्य उदाहरण
केही समयअघि टिकटक र युट्युबमा एउटा भिडियो अत्यधिक भाइरल भयो। वैदेशिक रोजगारीमा रहेका एक नेपाली श्रीमानले भिडियो कल गर्दा आफ्नी श्रीमती अर्कै पुरुषसँग आपत्तिजनक अवस्थामा देखिएको दाबी गर्दै उक्त भिडियो स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरे। त्यसपछि विभिन्न युट्युब च्यानलहरूले घटनाको वास्तविकता बुझ्नुभन्दा पहिले नै त्यसलाई सनसनीपूर्ण सामग्री बनाए। “विदेशबाट श्रीमान् रोए”, “श्रीमती रङ्गेहात पक्राउ”, “धोकेबाज पत्नीको कर्तुत” जस्ता उत्तेजक शीर्षक राखेर लाखौँ भ्यूज बटुले।
घटनामा संलग्न महिला मात्र होइन, उनका नाबालक सन्तानसमेत क्यामेराको अगाडि ल्याइए। उनीहरूको व्यक्तिगत जीवन, पारिवारिक पीडा र सामाजिक प्रतिष्ठालाई कुनै संवेदनशीलता नदेखाई सार्वजनिक गरियो। समाजबाट लगातार अपमान र मानसिक दबाब खेप्न नसकेपछि ती महिलाले अन्ततः आत्महत्याको बाटो रोज्नुपरेको दुःखद समाचार सार्वजनिक भयो।
यो घटना एउटा व्यक्तिको मात्र त्रासदी थिएन; यसले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग कति घातक हुन सक्छ भन्ने प्रश्न सम्पूर्ण समाजसमक्ष उभ्यायो। कुनै पनि घटनाको सत्य अदालत वा अनुसन्धानले स्थापित गर्नुअघि नै सामाजिक सञ्जालले फैसला सुनाउने प्रवृत्ति बढ्दै गएको छ। यस्तो डिजिटल भीडले व्यक्तिको सामाजिक मृत्युदण्ड त दिन्छ नै, कतिपय अवस्थामा वास्तविक जीवनसमेत समाप्त हुने अवस्था सिर्जना गरिदिन्छ।
तर, यो चित्रको अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। नेपाली समाजमा महिलाको गल्ती छिट्टै देखिन्छ, तर पुरुषका कमजोरी भने धेरैपटक ओझेलमा पारिन्छन्। वैदेशिक रोजगारीसँग जोडिएका धेरै घटनामा दोषको सम्पूर्ण भार महिलामाथि थोपर्ने प्रवृत्ति देखिन्छ। जबकि यथार्थ त्यति एकाङ्गी छैन।
विदेशमा रहेका कतिपय पुरुषहरूले पनि स्वदेशमा श्रीमती र छोराछोरी हुँदाहुँदै अर्को सम्बन्ध बनाउने, सामाजिक सञ्जालमार्फत चिनिएका व्यक्तिसँग लिभिङ–टुगेदरमा बस्ने वा दोस्रो विवाह गर्ने गरेका घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले नेपालमा रहेका श्रीमती र सन्तानलाई आर्थिक मात्र होइन, गहिरो मानसिक र सामाजिक पीडा दिने गरेको छ। धेरै महिलाहरू वर्षौँसम्म श्रीमान् फर्किने आशामा परिवार सम्हालेर बस्छन्। तर, अन्ततः उनीहरूले सामाजिक अपमान, कानुनी संघर्ष र एक्लोपन मात्र भोग्नुपर्ने अवस्था आउँछ।
त्यसैले वैदेशिक रोजगारीसँग सम्बन्धित सामाजिक समस्यालाई केवल महिला वा पुरुषमध्ये कसै एकको दोषका रूपमा बुझ्नु उचित हुँदैन। सम्बन्ध विच्छेद, विश्वासघात वा पारिवारिक विखण्डनका घटनाहरूमा दुवै पक्षका कमजोरी, परिस्थितिजन्य दबाब, संवादको अभाव, मानसिक तनाव र सामाजिक परिवेशले आ–आफ्नो भूमिका खेलेका हुन्छन्। दोषी व्यक्ति हुन सक्छ, तर सम्पूर्ण लिङ्ग वा समुदायलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन।
हामीले समस्या देख्ने दृष्टिकोण पनि बदल्न आवश्यक छ। सामाजिक सञ्जालले कसैको निजी जीवनलाई सार्वजनिक मनोरञ्जन बनाउने माध्यम होइन, बरु सम्बन्धलाई सुदृढ बनाउने, अनुभव आदान–प्रदान गर्ने र सकारात्मक सन्देश फैलाउने माध्यम बन्नुपर्छ। जबसम्म डिजिटल नैतिकता, व्यक्तिगत गोपनीयताको सम्मान र जिम्मेवार सञ्चार संस्कृतिको विकास हुँदैन, तबसम्म यस्ता घटनाहरू दोहोरिरहने जोखिम रहन्छ।
घरबार उजाडिएको उदाहरण : विश्वास, दूरी र मौनताको त्रासदी
वैदेशिक रोजगारीसँग जोडिएका सामाजिक कथाहरू केवल आर्थिक सफलता वा असफलताको कथा मात्र होइनन्; यी सम्बन्ध, विश्वास, समय र मौनताको गहिरो मनोवैज्ञानिक संघर्ष पनि हुन्। जब परिवार एउटै छानामुनि हुँदैन, सम्बन्धलाई जोगाउने सबैभन्दा ठूलो आधार संवाद हुन्छ। तर, जब संवाद कमजोर हुँदै जान्छ, त्यसपछि शंका, असुरक्षा र गलत बुझाइले सम्बन्धलाई क्रमशः भत्काउँदै लैजान्छ।
स्याङ्जाकी मनिषा (नाम परिवर्तन) को कथा पनि यही यथार्थको एउटा प्रतिनिधि उदाहरण हो। उनका श्रीमान् विगत ६ वर्षदेखि दुबईको एउटा प्रतिष्ठित होटलमा कार्यरत थिए। सुरुका वर्षहरूमा नियमित फोन सम्पर्क, आर्थिक सहयोग र पारिवारिक योजनाहरूले सम्बन्ध सामान्य जस्तो देखिन्थ्यो। तर समयसँगै दूरी बढ्दै गयो। पछिल्लो डेढ वर्षदेखि श्रीमान् घरमा पैसा पठाउन छोडे, फोनमा कुरा गर्दा पनि चिसोपन बढ्दै गयो। सानो कुरामा पनि झर्किने, चुप लाग्ने र टाढिने प्रवृत्ति देखिन थाल्यो।
मनिषाले शंका गर्न थालिन्। सामाजिक सञ्जालमार्फत श्रीमानको गतिविधि बुझ्ने प्रयास गर्दा उनले एउटा यथार्थ भेटिन्, जसले उनको संसार नै उल्टाइदियो। श्रीमान् त्यहीँ कार्यरत अर्की नेपाली महिला, जो एजेन्टको भूमिकामा पनि संलग्न थिइन्, सँग नजिकिँदै गएको मात्र होइन, पछि उनीसँग सम्बन्धमा बसेर तस्बिर र भिडियोहरू सार्वजनिक गरिसकेको पाइन्। यो दृश्यले मनिषाको विश्वास मात्र होइन, सम्पूर्ण जीवन संरचनालाई नै हल्लाइदियो।
गाउँमा रहेका सासू ससुरा र दुई छोराछोरीको जिम्मेवारी एक्लै सम्हालिरहेकी मनिषा अन्ततः माइतीको शरणमा पुगिन्। मानसिक तनाव, सामाजिक दबाब र व्यक्तिगत पीडाले उनलाई डिप्रेसनतर्फ धकेल्यो। अहिले उनी नियमित औषधि सेवन गर्दै दिन बिताइरहेकी छन्। अर्कोतर्फ उनका श्रीमान् भने विदेशमै नयाँ जीवन निर्माणमा व्यस्त रहेको देखिन्छ। एउटै सम्बन्ध, तर दुई फरक संसार यो नै आजको यथार्थ हो।
विश्वासघात र अपराधको चौथो उदाहरण : प्रेम, आवेग र विनाशको अन्त्य
वैदेशिक रोजगारीले केही सम्बन्धलाई कमजोर मात्र बनाएको छैन, कतिपय अवस्थामा यसले गम्भीर अपराधसम्म पनि पुर्याएको छ। आर्थिक दबाब, लामो दूरीको सम्बन्ध र भावनात्मक अस्थिरताले कहिलेकाहीँ मानिसलाई आवेग र हिंसातर्फ धकेल्ने गर्छ।
चितवनका रमेश (नाम परिवर्तन) साउदी अरबमा कडा श्रम गर्थे। वर्षौँको मेहनतपछि उनले करिब ४० लाख रुपैयाँ बचत गरेर श्रीमतीको नाममा पठाए। ती पैसाबाट काठमाडौँको थानकोटमा जग्गा किनियो र सानो घर पनि निर्माण गरियो। बाहिरबाट हेर्दा रमेशको सपना सफलतापूर्वक पूरा हुँदै थियो।
तर समयसँगै परिस्थितिले अर्कै मोड लियो। पैसा, सहरको जीवनशैली र सामाजिक प्रभावले उनकी श्रीमतीलाई फरक दिशातर्फ मोडिदियो। एक स्थानीय जग्गा दलालसँग उनको सम्बन्ध विकसित हुँदै गयो। जब रमेश कुनै पूर्वसूचना बिना अचानक नेपाल फर्किए, उनले आफ्नो कल्पनाभन्दा बाहिरको दृश्य देख्नुपर्यो आफ्नै घरभित्र श्रीमती अर्को पुरुषसँग सम्बन्धमा रहेको अवस्था।
त्यो क्षण रमेशको लागि केवल व्यक्तिगत पीडा मात्र थिएन, त्यो भावनात्मक विस्फोटको क्षण थियो। आवेग, आक्रोश र पीडाको मिलनले उनलाई नियन्त्रण बाहिर पुर्यायो। सोही रात उनले श्रीमतीमाथि खुकुरी प्रहार गरे। घटनास्थलमै श्रीमतीको मृत्यु भयो भने रमेश अहिले कैद जीवन बिताइरहेका छन्। विदेशको मरुभूमिमा देखेको सुखद भविष्य घरको चिसो जेल कोठामा समाप्त भयो।
यो घटना केवल अपराधको कथा होइन, सम्बन्ध व्यवस्थापनमा आएको गम्भीर असफलताको परिणाम पनि हो। जहाँ संवाद टुट्छ, त्यहाँ शंका बढ्छ; र जहाँ शंका चरममा पुग्छ, त्यहाँ कहिलेकाहीँ जीवन नै समाप्त हुन्छ।
रेमिट्यान्सको मूल्य केवल पैसा होइन, सम्बन्ध पनि हो
वैदेशिक रोजगारी नेपालका लागि बाध्यता मात्र होइन, आजको अर्थतन्त्रको अपरिहार्य आधार पनि हो। रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको छ, लाखौँ परिवारलाई गरिबीबाट माथि उठाएको छ र राष्ट्रिय विकासमा ठूलो योगदान दिएको छ। यसलाई नकार्न सकिँदैन। तर, यसको अर्को पाटो पनि उत्तिकै गम्भीर छ। लामो दूरी, भावनात्मक अलगाव, सामाजिक सञ्जालको दुरुपयोग, कमजोर पारिवारिक संवाद र बदलिँदो सामाजिक मूल्यले कतिपय परिवारमा गहिरो विखण्डन ल्याइरहेको छ। पैसा आइरहेको छ, तर सम्बन्ध कमजोर हुँदै गएको छ। घर बनिरहेका छन्, तर परिवारको आत्मीयता भत्किरहेको छ।
यो समस्याको समाधान केवल वैदेशिक रोजगारी रोक्नु होइन। बरु सम्बन्धलाई बलियो बनाउने, संवादलाई नियमित बनाउने, विश्वासलाई कायम राख्ने र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने संस्कृतिको विकास गर्नु आवश्यक छ। राज्यले पनि श्रमिक र तिनका परिवारलाई मनोवैज्ञानिक परामर्श, कानुनी सुरक्षा र सामाजिक सचेतनाका कार्यक्रमहरूमार्फत सहयोग गर्नुपर्ने देखिन्छ।
अन्ततः प्रश्न आर्थिक समृद्धिको मात्र होइन, सामाजिक स्थायित्वको पनि हो। यदि आज हामीले सम्बन्ध र विश्वासको मूल्य बुझेनौँ भने भोलि हामीसँग पैसा त हुनेछ, तर त्यो पैसा उपभोग गर्ने परिवार र समाज भने कमजोर, विभाजित र अस्थिर हुनेछ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij