बिहिबार, जेष्ठ २१ २०८३
क्यान्सर आज विश्वकै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य समस्यामध्ये एक बनेको छ । बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान, बढ्दो मानसिक तनाव, वातावरणीय प्रदूषण, विषादीयुक्त फलफूल तथा तरकारीको प्रयोग र शारीरिक गतिविधिको कमीका कारण क्यान्सरका बिरामीको सङ्ख्या विश्वभर बढिरहेको छ । नेपाल पनि यस समस्याबाट अछुतो छैन । पछिल्ला वर्षहरूमा नेपालमा क्यान्सर रोगीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । क्यान्सरको सबैभन्दा ठूलो चुनौती भनेको यसको प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिनु हो । धेरैजसो अवस्थामा रोग निकै बढिसकेपछि मात्र बिरामीले समस्या महसुस गर्छन् । त्यसपछि परीक्षण, बायोप्सी र अन्य स्वास्थ्य जाँचमार्फत रोगको पहिचान हुन्छ । रोग पत्ता लागेपछि बिरामी मात्र होइन, उनका परिवार, आफन्त र शुभेच्छुकहरू पनि चिन्ता, तनाव र अनिश्चितताले घेरिन्छन् । उपचार कहाँ गर्ने, कुन अस्पताल उपयुक्त हुन्छ, खर्च कति लाग्छ, उपचार सफल हुन्छ कि हुँदैन भन्ने प्रश्नले बिरामी र परिवारलाई थप पीडित बनाउँछ ।
यस्तै परिस्थितिमा धेरै नेपाली क्यान्सर बिरामी उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर पुग्ने गरेका छन् । नयाँदिल्लीको रोहिणी क्षेत्रमा रहेको यो अस्पताल भारतका प्रमुख क्यान्सर उपचार केन्द्रहरूमध्ये एक मानिन्छ । सन् १९९६ मा स्थापना भएको यो अस्पतालले क्यान्सर उपचार, अनुसन्धान र स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक र व्यवस्थित उपचार प्रणालीका कारण यस अस्पतालले भारत मात्र होइन, दक्षिण एसियाका विभिन्न मुलुकका बिरामीहरूको विश्वास जित्न सफल भएको छ । अस्पतालको विशेषता भनेको कुनै एक चिकित्सकको निर्णयमा मात्र निर्भर नरही विभिन्न विशेषज्ञहरूको संयुक्त परामर्शका आधारमा उपचार प्रक्रिया अगाडि बढाउनु हो । यसले बिरामीलाई थप विश्वसनीय र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पु¥याएको छ ।
अस्पतालले क्यान्सरका विभिन्न प्रकारका रोगहरूको उपचारका लागि आधुनिक उपकरण र प्रविधिको प्रयोग गर्दै आएको छ । अनुसन्धान र नयाँ उपचार विधिको विकासमा पनि यो संस्था सक्रिय छ । समय–समयमा सञ्चालन गरिने स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रमले क्यान्सरबारे जनमानसमा सचेतना फैलाउने काम गरिरहेको छ । आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा विशेष सहयोग उपलब्ध गराउने व्यवस्थाले पनि अस्पताललाई मानवसेवाप्रति समर्पित संस्थाको रूपमा चिनाएको छ ।
तर यो अस्पताल नेपाली बिरामीहरूका लागि केवल उपचार केन्द्र मात्र होइन, आशा र भरोसाको अर्को नाम पनि बनेको छ । यसको एउटा प्रमुख कारण हुन् विष्णु शाही ठकुरी । कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ मा जन्मिएका शाही विगत दुई दशकदेखि नयाँदिल्लीमा नेपाली क्यान्सर बिरामीहरूको सहयोगमा समर्पित रहँदै आएका छन् । हाल उनी रोहिणीस्थित एन.बी. टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन् । व्यवसायसँगै उनले नेपाली बिरामीहरूको सेवालाई आफ्नो सामाजिक जिम्मेवारीका रूपमा लिएका छन् ।
शाहीको जीवन कथा आफैंमा सङ्घर्ष, पीडा र सफलताको उदाहरण हो । माओवादी द्वन्द्वको समयमा किशोर अवस्थामै उनी परिवारबाट टाढिन बाध्य भए । त्यसबेला गाउँघरमा असुरक्षा बढिरहेका कारण उनका बुबाले उनलाई भारत पु¥याएर आफन्तको जिम्मा लगाएका थिए । सानै उमेरमा घरपरिवार, पढाइ र आफ्ना सपनाबाट टाढिनुपरेको पीडाले उनको जीवनलाई गहिरो प्रभाव पारेको थियो । दिल्ली पुगेपछि उनले होटलमा काम गरे, सवारी चालकको काम गरे र अनेक दुःखकष्ट भोगे । तर कठिन परिस्थितिसँग हार नमानी उनले निरन्तर सङ्घर्ष जारी राखे । समयसँगै व्यवसायमा स्थापित हुँदै गए र अहिले हजारौँ नेपालीका लागि सहयोगी र अभिभावकसरह बनेका छन् ।
उनका अनुसार नेपालबाट दैनिक रूपमा १५ देखि २० जना नयाँ क्यान्सर बिरामी उपचारका लागि राजीव गान्धी क्यान्सर अस्पताल पुग्ने गरेका छन् । धेरै बिरामी पहिलोपटक विदेश पुगेका हुन्छन् । अपरिचित वातावरण, भाषाको समस्या, आर्थिक चिन्ता र रोगको पीडाले उनीहरू मानसिक रूपमा निकै कमजोर बनेका हुन्छन् । यस्तो अवस्थामा शाहीजस्ता व्यक्तिको साथ र सहयोग बिरामी तथा परिवारका लागि ठूलो सहारा बन्ने गरेको छ । उनले अस्पताल पुग्ने व्यवस्था मिलाउने, बसोबासको प्रबन्ध गर्ने, चिकित्सकसँग भेटघाट गराउने, उपचार प्रक्रियाबारे जानकारी दिने, टिकट व्यवस्थापन गर्ने लगायतका काममा सहयोग गर्दै आएका छन् ।
बिरामीहरूका अनुसार दिल्लीजस्तो ठूलो सहरमा पहिलोपटक पुगेपछि कहाँ बस्ने, कसरी अस्पताल पुग्ने, चिकित्सकसँग कसरी कुरा गर्ने भन्ने समस्या सामान्य हुन्छ । विष्णु शाहीले यस्ता समस्यामा सहयोग गर्ने भएकाले धेरै नेपाली बिरामीले उनलाई आफ्नै परिवारको सदस्यझैँ मान्ने गरेका छन् । उनले भाषा नबुझ्ने बिरामीका लागि चिकित्सकसँग संवाद गराइदिने, आवश्यक कागजात मिलाइदिने र उपचार प्रक्रियामा आवश्यक परामर्श दिने कामसमेत गर्दै आएका छन् । बिरामीको अवस्था हेरेर आर्थिक व्यवस्थापनका लागि पनि सक्दो सहयोग गर्ने उनको प्रयास रहने गरेको बताइन्छ ।
उनको अनुभवअनुसार नेपाली बिरामीहरूमा विभिन्न प्रकारका क्यान्सर देखिने गरेका छन् । पुरुषहरूमा मुख, घाँटी, फोक्सो, कलेजो र प्रोस्टेट क्यान्सर बढी देखिन्छ भने महिलाहरूमा स्तन, पाठेघर, आन्द्रा, अण्डाशय तथा प्यान्क्रियाजसम्बन्धी क्यान्सरका बिरामी उल्लेख्य सङ्ख्यामा भेटिन्छन् । समयमै उपचार सुरु गर्न सकिए धेरै बिरामीमा सकारात्मक परिणाम देखिएको उनको अनुभव छ । कतिपय बिरामी नेपालमा रोग पहिचान हुन नसकेपछि वा उपचारबाट अपेक्षित सुधार नआएपछि भारत पुगेका हुन्छन् । यद्यपि उपचारपछि स्वास्थ्यमा सुधार आएर नियमित फलोअपका लागि मात्र अस्पताल आउने नेपाली बिरामीहरूको सङ्ख्या पनि उल्लेखनीय रहेको बताइन्छ ।
धेरै नेपाली बिरामीले नेपालमा पनि क्यान्सर उपचार सम्भव भए तापनि विभिन्न कारणले विदेश जानुपर्ने अवस्था रहेको बताउँछन् । सरकारी अस्पतालमा लामो प्रतीक्षा, सीमित स्रोतसाधन, विशेषज्ञ चिकित्सकको अभाव, अत्यधिक बिरामीको चाप तथा निजी अस्पतालमा महँगो उपचारका कारण धेरै बिरामी भारततर्फ आकर्षित हुने गरेका छन् । कतिपय बिरामीले समयमै उपचारको पालो नपाउँदा रोग जटिल बनेपछि मात्र विदेश जाने निर्णय लिने गरेका छन् । यस्ता अनुभवले नेपालमा क्यान्सर उपचार प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्ने आवश्यकता औँल्याउँछ ।
विगतमा क्यान्सरलाई मृत्युको पर्यायका रूपमा हेरिन्थ्यो । क्यान्सर भयो भने अब जीवन समाप्त हुन्छ भन्ने सोच समाजमा व्यापक थियो । तर चिकित्सा विज्ञान र प्रविधिको तीव्र विकासले यो धारणा धेरै हदसम्म परिवर्तन गरिसकेको छ । अहिले धेरै प्रकारका क्यान्सर समयमै पत्ता लागेमा सफलतापूर्वक उपचार गर्न सकिन्छ । उपचारपछि बिरामी सामान्य जीवनमा फर्किएका अनेक उदाहरणहरू छन् । त्यसैले क्यान्सरलाई डराउनुपर्ने रोगभन्दा पनि समयमै पहिचान र उपचार गर्नुपर्ने रोगका रूपमा बुझ्न आवश्यक छ । नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, सन्तुलित आहार, धूमपान तथा मदिराजन्य पदार्थको नियन्त्रण र शारीरिक सक्रियताले क्यान्सरको जोखिम कम गर्न मद्दत पु¥याउन सक्छ ।
राजीव गान्धी क्यान्सर अस्पतालमा पुग्ने नेपाली बिरामीहरूलाई सहयोग गर्ने क्रममा विष्णु शाहीले मानवीय सेवाको एउटा उदाहरण प्रस्तुत गरेका छन् । उनी बिरामीलाई सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउँछन् । रोगको पीडामा रहेका नेपालीहरूलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको उनको धारणा छ । यही कारणले उनी धेरै बिरामी र परिवारका लागि विश्वासिलो साथी बनेका छन् । विदेशमा बसेर पनि आफ्ना देशका नागरिकको दुःखमा साथ दिनु आफैंमा प्रेरणादायी कार्य हो ।
किन नेपाली बिरामीहरू अझै पनि गुणस्तरीय उपचारका लागि विदेश जान बाध्य छन् ? भन्ने प्रश्न उठाउँछ । नेपालमा केही उत्कृष्ट अस्पताल र दक्ष चिकित्सक भए पनि आधुनिक प्रविधि, अनुसन्धान, जनशक्ति विकास र उपचार सेवाको विस्तारमा अझै धेरै काम गर्न बाँकी छ । क्यान्सरजस्तो जटिल रोगको उपचार देशभित्रै सहज, भरपर्दो र सर्वसुलभ बनाउन राज्यले दीर्घकालीन योजना, पर्याप्त लगानी र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । उपचार प्रणालीलाई सेवामुखी बनाउँदै ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार गर्न सके हजारौँ नेपालीले विदेश धाउनुपर्ने बाध्यता कम हुन सक्छ ।
क्यान्सरको उपचार औषधि र शल्यक्रियासँग मात्र सम्बन्धित विषय होइन, यो आशा, आत्मविश्वास र मानवीय सहयोगसँग पनि जोडिएको विषय हो । बिरामीलाई समयमै उपचार, उचित परामर्श र भावनात्मक साथ प्राप्त भए कठिन रोगसँग लड्ने शक्ति बढ्छ । यही सन्देश बोकेर नयाँदिल्लीमा रहेका विष्णु शाहीजस्ता व्यक्तिहरू नेपाली क्यान्सर बिरामीका लागि सहारा बनेका छन् । उनीहरूको सेवा भावना र समर्पणले रोगसँग सङ्घर्ष गरिरहेका सयौँ नेपालीलाई नयाँ आशा र जीवनप्रतिको भरोसा प्रदान गरिरहेको छ । यही कारणले उनी सहयोगी मात्र होइनन्, कठिन घडीमा नेपाली क्यान्सर रोगीहरूको सच्चा सहारा बनेका छन् ।
(लेखक परिवारको क्यान्सर उपचारका सिलसिलामा हाल नयाँदिल्लीमा बसोबास गर्दै आएका छन् । उनी पोखरा विश्वविद्यालयका पिएचडी स्कलर हुन् ।)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij