काठमाडौं, स्वदेशमै रोजगारीका अवसर विस्तार गर्दै दक्ष जनशक्ति उत्पादनमार्फत दिगो रोजगार प्रणाली निर्माण गर्ने उद्देश्यका साथ युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रसँग सहकार्यलाई अघि बढाएका छन्। दुई मन्त्रीको संयुक्त उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको उच्चस्तरीय छलफलले आन्तरिक रोजगारी प्रवर्द्धनतर्फ सरकार गम्भीर रहेको सन्देश दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा सम्पन्न छलफलमा निर्माण क्षेत्रको वास्तविक जनशक्ति आवश्यकतालाई आधार बनाएर सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको हो।
छलफलमा श्रममन्त्री रामजी यादवले नेपालमा पर्याप्त युवा जनशक्ति भए पनि आवश्यक सीपको अभावका कारण धेरै क्षेत्रले दक्ष कामदार नपाइरहेको बताए। उनले श्रम बजारको मागअनुसार सीप विकास कार्यक्रम सञ्चालन गरेर नेपाली युवालाई स्वदेशमै सम्मानजनक रोजगारी उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।
उनले सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामसँगै स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानलाई पनि समान प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाइने बताए। उनका अनुसार निर्माण क्षेत्र, पूर्वाधार विकास तथा अन्य उत्पादनमूलक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न मन्त्रालय योजनाबद्ध रूपमा अघि बढिरहेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकमा पूर्वाधार निर्माणका काम तीव्र रूपमा अघि बढिरहेका बेला दक्ष जनशक्तिको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीबीचको सहकार्यले विकास निर्माणलाई गति दिनुका साथै हजारौँ युवाका लागि रोजगारीको ढोका खुल्ने विश्वास व्यक्त गरे।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूले निर्माण क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सरकारले सञ्चालन गर्ने सीपमूलक तालिमलाई निर्माण क्षेत्रको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले तालिम प्राप्त युवालाई प्रत्यक्ष रोजगारीमा जोड्ने प्रणाली विकास गर्न सके वैदेशिक रोजगारीतर्फ पलायन हुने युवाको सङ्ख्या पनि घटाउन सकिने धारणा राखे। बैठकले निर्माण क्षेत्रको मागअनुसार सीपमूलक तालिम सञ्चालन गर्ने, तालिम पूरा गरेका जनशक्तिलाई रोजगारीसँग आबद्ध गर्ने तथा रोजगारी सिर्जनाका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाउने निर्णय गरेको छ।छलफलमा दुवै मन्त्रालयका सचिव, नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।पछिल्ला दिनमा श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार, श्रमिक अधिकार संरक्षण, अवैध एजेन्ट नियन्त्रण र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आएका छन्। निर्माण क्षेत्रसँगको यो सहकार्यलाई पनि युवालाई सीप, रोजगारी र उत्पादनसँग जोड्ने सरकारको महत्वपूर्ण कदम का रूपमा हेरिएको छ। सरकारले यस सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके निर्माण क्षेत्रमै हजारौँ नेपाली युवाले रोजगारी पाउने अपेक्षा गरिएको छ।