कतार,नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ प्रवासी नेपाली मञ्च, कतारको आठौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न आज कतार आइपुग्नुभएको छ। उहाँ अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रवासी नेपाली मञ्च, कतारले आगामी ७ अगस्ट २०२६ मा दोहाको सेन्ट्रा वेस्ट बे एण्ड सुइट्स, अल दाफ्ना मा आफ्नो आठौँ राष्ट्रिय अधिवेशन आयोजना गर्दैछ। अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता, आपसी एकता, अनुशासन र जिम्मेवारीबोधलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाइएको छ। मञ्चका सचिव शोभराज तिमिल्सिना द्वारा जारी निमन्त्रणापत्रअनुसार समाजसेवी तथा पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई कार्यक्रममा सहभागी भई अतिथिको आतिथ्यता ग्रहण गर्न आग्रह गरिएको छ। कतारमा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको अधिवेशनलाई प्रवासी नेपाली मञ्च, कतारले आफ्नो संगठनात्मक यात्राको महत्त्वपूर्ण अवसरका रूपमा लिएको नेता अफसर अली खानले जानकारी दिए ।
कानुनी पृष्ठभूमि, संसदीय प्रस्तुति र शालीन शैलीले नेम्वाङलाई एमालेभित्र मात्रै होईन बाहिर पनि फरक राजनीतिकर्मीको रूपमा हेर्ने गरेका छन्। यद्यपि उनलाई हेर्ने राजनीतिक दृष्टिकोण फरक–फरक हुन सक्छन्।