बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

यूएईका विदेश व्यापारमन्त्रीसँग नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उच्चस्तरीय भेट, व्यापार र लगानी साझेदारी विस्तारमा जोड

बिहिबार, साउन २१ २०८३

युएई,संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीसँग उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–यूएई सम्बन्धलाई आर्थिक, व्यापारिक तथा लगानी साझेदारीमार्फत नयाँ उचाइमा पुर्‍याउने विषयमा महत्वपूर्ण छलफल गरेका छन्।
भेटवार्ताका क्रममा दुवै पक्षले नेपाल र यूएईबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने, लगानी प्रवर्द्धन गर्ने तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत विचार आदानप्रदान गरेका थिए।
राजदूत क्षेत्रीले नेपाल आर्थिक विकासको नयाँ चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै ऊर्जा, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त क्षेत्रमा यूएईका लगानीकर्ताका लागि पर्याप्त अवसर रहेको बताए। उनले नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार, कानुनी सहजीकरण तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जानकारीसमेत गराए।
भेटपछि प्रतिक्रिया दिँदै राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीचको सम्बन्ध विगतदेखि नै विश्वास, मित्रता र पारस्परिक सम्मानमा आधारित रहेको उल्लेख गर्दै अब त्यसलाई आर्थिक साझेदारीमार्फत अझ सुदृढ बनाउने समय आएको बताए।
उनले भने,”नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई अझ परिणाममुखी बनाउने साझा चाहना दुवै देशमा देखिएको छ। व्यापार, लगानी, आर्थिक सहकार्य र निजी क्षेत्रबीचको साझेदारी विस्तार गरेर दुवै मुलुकका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो। आगामी दिनमा पनि यस्ता उच्चस्तरीय संवादले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएको छु।”
भेटका क्रममा यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीले पनि नेपालसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न यूएई सरकार सकारात्मक रहेको बताउँदै आपसी हितका क्षेत्रमा सहकार्य बढाउन इच्छुक रहेको धारणा व्यक्त गरेका थिए।
नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्धका साथै श्रम, व्यापार, पर्यटन, लगानी तथा आर्थिक सहकार्यका विविध क्षेत्रमा निकट सम्बन्ध रहँदै आएको छ। यूएई नेपाली श्रमिकका प्रमुख रोजगारी गन्तव्यमध्ये एक हुनुका साथै व्यापारिक साझेदारका रूपमा पनि महत्वपूर्ण मुलुक मानिन्छ। पछिल्ला वर्षहरूमा दुवै देशबीच आर्थिक सहकार्य विस्तार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन्।
यसै सन्दर्भमा भएको राजदूत क्षेत्री र मन्त्री अल जेयुदीबीचको भेटलाई दुई देशबीचको आर्थिक कूटनीतिलाई थप सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। भेटवार्ताले व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा आर्थिक साझेदारीलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट