शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

एनआरएनए यूरोप सम्मेलनमा रास्वपा उपनेता पराजुलीसहित ३५ देशका प्रतिनिधि सहभागी हुने , नागरिकता, लगानी र दोस्रो पुस्ताका मुद्दा मुख्य प्राथमिकतामा

शनिबार, साउन २३ २०८३

काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।आगामी अगस्ट १० र ११ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित र्याडिसन होटलमा आयोजना हुने सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न मुलुकबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। आयोजकका अनुसार हालसम्म ३५ देशबाट प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको छ भने सम्मेलनमा सहभागीको संख्या करिब २५० पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले उपनेता पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी दिएका हुन्। रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह रहेको वर्तमान राजनीतिक सन्दर्भमा संसदीय दलका उपनेता पराजुलीलाई सम्मेलनको प्रमुख अतिथि बनाइनु सकारात्मक र अर्थपूर्ण भएको शर्माले बताए।

शर्माका अनुसार एनआरएनएले आयोजना गर्ने क्षेत्रीय सम्मेलनहरू प्रवासी नेपालीका मुद्दा नेपाल सरकार र राजनीतिक नेतृत्वसमक्ष पुर्‍याउने महत्वपूर्ण माध्यम बन्दै आएका छन्। यूरोप, एशिया लगायतका क्षेत्रीय सम्मेलनमार्फत नेपालमा लगानी, गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, पर्यटन र प्रवासी नेपालीको भूमिका जस्ता विषयमा महत्वपूर्ण छलफल हुने उनले बताए।

क्षेत्रीय सम्मेलनहरू सम्पन्न भएपछि एनआरएनए नेतृत्व काठमाडौँमा भेला भएर आगामी कार्यक्रम तथा नयाँ योजनासमेत सार्वजनिक गर्ने तयारी रहेको शर्माले जानकारी दिए।

यूरोप क्षेत्रीय संयोजक रोवर्ट लिम्बुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिअनुसार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीसँगै उद्यमी, व्यवसायी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विभिन्न समुदायका प्रतिनिधिको सहभागिता रहनेछ।

हालसम्म ३५ देशबाट २०० भन्दा बढी प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको छ। आयोजकले सम्मेलनमा करिब २५० जनाको सहभागिता पुग्ने अपेक्षा गरेको छ।

एनआरएनएको सञ्जाल अहिले करिब ९२ देशमा विस्तार भइसकेको र एक लाखभन्दा बढी सदस्य आबद्ध रहेको बताइएको छ। सन् २००३ मा स्थापना भएको संघले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राख्दै आएको छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषयगत सत्र आयोजना गरिनेछन्। यस वर्ष सम्मेलनमा विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला, युवा र दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखिएको छ।

महिला केन्द्रित सत्रमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचका विषयमा छलफल हुनेछ। युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रमा नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको सम्बन्धलाई केन्द्रमा राखेर बहस गरिनेछ।

त्यस्तै, नेपालमा लगानीको वातावरण, प्रवासी नेपालीको पूँजी र सीप परिचालन तथा नेपाल र डायस्पोराबीच आर्थिक साझेदारी विस्तारका विषयमा पनि विज्ञ तथा सरोकारवालाबीच छलफल हुनेछ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहा लगायत एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

राजनीतिक नेतृत्व, सरकारी प्रतिनिधि, नीति निर्माता, व्यवसायी र प्रवासी नेपाली एकै मञ्चमा उपस्थित हुने भएकाले सम्मेलनलाई प्रवासी नेपालीका समस्या तथा नेपालमा लगानीका सम्भावनाबारे प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

एनआरएनएले सम्मेलनलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नगरी नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक तथा ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

विशेषगरी सन् २०३० र त्यसपछिको अवधिमा विश्वभर रहेका नेपाली डायस्पोराको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीका लागि साझा मार्गचित्र निर्माण गर्ने लक्ष्य सम्मेलनले लिएको छ।

डब्लिनमा हुने १७औँ यूरोप क्षेत्रीय सम्मेलनबाट गैरआवासीय नेपालीका अधिकार र सरोकारलाई नेपालका राजनीतिक नेतृत्व तथा सरकारसमक्ष थप प्रभावकारी रूपमा पुर्‍याउनुका साथै यूरोपस्थित नेपाली समुदायबीच सहकार्य र एकतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्मेलनमा हुने छलफलबाट प्रवासी नेपालीको सीप, पूँजी, ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने ठोस आधार तयार हुने आयोजकको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार