काठमाडौं, ९ असार । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सिर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गरेको छ । कांग्रेसले छानविन गरी यर्थात घटनाबारे संसदलाई जानकारी गराउन माग गरेको हो ।
कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले संसदमा बोल्दै पौडेल मारिएको बारे यथार्थ जानकारी पेस गर्न गृहमन्त्रीसँग माग गरेका छन् । उनले दोहोरो भिडन्त नभई पक्राउ गरि हत्या गरिएको विषय स्थानिय तहबाट आएको भन्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
यहि असार ५ मा सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला नेता कुमार पौडेल मारिएका थिए ।
साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बडुले विप्लव पक्षसँग सरकारले कस्तो समाधान खोज्दैछ भनि जानकारी माग गरेका छन् । उनले मुलप्रवाहमा ल्याउन सरकारले आलटाल गरिरहेको जस्तो देखिएको बताए ।
‘आन्दोलनरत विप्लव समुहको हेडक्वाटरसहित चारवटा कम्पनीहरु बनिसकेको अवस्था जानकारी गराउनु भएको थियो ।’ बडुले भने, ‘यो अवस्थामा सरकार विप्लव पक्षसँग कुन रुपमा समाधानको बाटो खोज्दैछ ? यसको जानकारी चाहियो ।’