काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भारत तथा दक्षिण एसिया क्षेत्रका उत्कृष्ट क्षेत्रीय वायुसेवामध्ये दोस्रो स्थानमा परेको छ।
स्काइट्र्याक्सले सार्वजनिक गरेको सन् २०२६ को ‘विश्वकै उत्कृष्ट क्षेत्रीय वायुसेवा’सम्बन्धी सूचीमा नेपाल एयरलाइन्सले भारत तथा दक्षिण एसिया क्षेत्रको दोस्रो स्थान हासिल गरेको हो। स्काइट्र्याक्सका अनुसार यस श्रेणीमा माल्दिभियन पहिलो, नेपाल एयरलाइन्स दोस्रो, एलायन्स एयर तेस्रो, यूएस–बंगला एयरलाइन्स चौथो र सेरेनएयर पाँचौँ स्थानमा रहेका छन्।
स्काइट्र्याक्सले क्षेत्रीय वायुसेवालाई मुख्यतः घरेलु तथा करिब ६ घण्टासम्मका अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने पूर्ण सेवायुक्त वायुसेवाका रूपमा वर्गीकरण गरेको जनाएको छ। यस्तो श्रेणीमा यात्रुको सेवा, सुविधासहित छोटो तथा मध्यम दूरीका उडानमा प्रदान गरिने समग्र अनुभवलाई आधार बनाइन्छ।
सन् २०२६ को विश्वव्यापी उत्कृष्ट क्षेत्रीय वायुसेवाको सूचीमा भने बैंकक एयरवेज पहिलो स्थानमा रहेको छ। पोर्टर एयरलाइन्स दोस्रो र भर्जिन अस्ट्रेलिया तेस्रो स्थानमा रहेका छन्।
भारत तथा दक्षिण एसिया क्षेत्रको सूचीमा नेपाल एयरलाइन्सले दोस्रो स्थान पाउनुलाई नेपाली ध्वजावाहक वायुसेवाको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। पछिल्लो समय नेपाल एयरलाइन्सले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार तथा नियमित उडान सञ्चालन गर्दै आएको छ।