काठमाडौं(जस)–चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४ सय ४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन् । भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन् ।
भदौमा सबैभन्दा धेरै यूएईका लागि १८ हजार ४ सय ७७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि कतारमा १० हजार ४ सय ७१, मलेसियामा ८ हजार ९१, साउदी अरबमा ६ हजार ७ सय ८७ र कुवेतमा ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् ।
जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार १६ जना वैदेशिक रोजगारीमा गएका छन् । झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९० र सिरहाबाट २ हजार ३ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन् । भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १ सय ६७ जना दक्ष श्रमिक रहेका छन् । यस्तै १६ हजार ५८ अदक्ष, ९ हजार ४ सय ६६ अर्धदक्ष, २ सय ७१ व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक छन् ।