आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

६ हजार १३२ वडामा कांग्रेस अधिवेशन सम्पन्न

आइतबार, असोज ४ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत आइतबार दोस्रो दिनसम्म उक्त संख्याका वडामा निर्वाचन सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अधिवेशनबाट सम्बन्धित वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेसले वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको जनाएको छ।

शनिबार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको थियो। ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका वडामा अधिवेशन सम्पन्न भएको थियो।

आइतबार दोस्रो दिन ताप्लेजुङदेखि कैलालीसम्म थप ३० जिल्लासहित कुल ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको समितिले जनाएको छ। आइतबारको निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक र सुनसरीका वडामा अधिवेशन भएको छ।

त्यस्तै मधेस प्रदेशका सप्तरी क्षेत्र नं. २ र ४ बाहेकका वडा, धनुषा, महोत्तरी, सर्लाही क्षेत्र नं. २ बाहेक, रौतहट क्षेत्र नं. १ बाहेक, बारा र पर्सामा अधिवेशन भएको छ। बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँका वडामा निर्वाचन सम्पन्न भएको छ।

गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपुर तथा लुम्बिनी प्रदेशका परासी क्षेत्र नं. २ बाहेकका वडासहित रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियामा पनि अधिवेशन सम्पन्न भएको छ।

कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङमा भने बाढी तथा विपद्का कारण अधिवेशनको प्रक्रिया प्रभावित भएको छ। यी जिल्लासहित सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ तथा आइतबार सम्पन्न हुन नसकेका वडाको अधिवेशन असोज ५ गते पनि जारी रहनेछ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ। वडा अधिवेशनपछि क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार