आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

भोटेकोशी विपद‍्देखि ‘राइट टु रिकल’सम्म रास्वपाको निर्णय

आइतबार, असोज ४ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठकबाट विभिन्न निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले भोटेकोशी विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिता, मधेस प्रदेशको कार्यसम्पादन अडिट, विभिन्न विभागमा मनोनयन तथा पार्टीका गतिविधि पुनःसञ्चालनलगायत विषयमा निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकले भोटेकोशीमा आएको बाढीपछि खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ । बाढीमा ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषय, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित हुने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ ।

मधेस प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटबारे पार्टीका सहमहामन्त्री तथा संयोजक हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका छन् । विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठकले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै १० जनालाई सदस्यमा मनोनयन गरेको छ । अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई आयोगको सदस्यमा मनोनयन गरिएको छ ।

त्यसैगरी ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजङ्ग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ ।

बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका आधिकारिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसअन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत साङ्गठनिक र जनसम्पर्कका कार्यक्रम अघि बढाइनेछ ।

बैठकमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई जानकारी गराएका थिए ।

यसैबीच, रास्वपाले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउने निर्णय गरेको छ । यससम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले बहसलाई विस्तार गर्दै आवश्यक दस्तावेज तयार गर्ने निर्णय गरेको हो ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको समितिको बैठकले मनिष खनाललाई सचिवको जिम्मेवारी दिएको छ । साथै संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन, सरोकारवालासँगको छलफल समन्वय तथा सञ्चार र मिडिया समन्वयका लागि चारवटा विषयगत उपसमिति गठन गरिएको छ ।

रास्वपाका अनुसार ‘राइट टु रिकल’ले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा समितिको बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार