जनकपुर । मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ । श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ ।
श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पहिलो चरणमा छपाई भईसकेको ३०८१ वटा लाइसेन्स वितरणका लागि सम्बन्धि जिल्लाका यातायात कार्यालयका प्रमुखलाई हस्तान्तरण गरेकी छन् ।
पहिलो चरण अन्तर्गत राजविराजको ५२ थान , सिरहाको ४६० थान , महोत्तरीको ३०३ थान , धनुषाको ९३२ थान , सर्लाहीको ३२ थान , रौतहटको ११९ थान, बाराको ११ थान र पर्साको ११७२ थान लाइसेन्स सम्बन्धीत कार्यालयका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
सातै प्रदेशमध्ये पहिलो पटक मधेश प्रदेशले नै स्मार्ट कार्ड छापेर वितरण गरेकोमा मन्त्री थापाले खुसी व्यक्त गरिन ।
उनले परीक्षा पास गरेको केही दिनभित्रैमा कार्यालयले स्थानीय तहलाई सो स्मार्ट कार्ड पठाउने र सेवाग्राहीले आफ्नै पालिकाबाट कार्ड लिन पाउने व्यवस्था गरिएको जानकारी दिईन।
मन्त्री थापाले जनताको सुविधालाई मध्येनजर गर्दै प्रदेश सरकारले लाइसेन्स वितरणमा सहजिकरण गर्ने सुरुवात गरेको बताईन । उनले अब घण्टौ लाईनमा बसेर वर्षौसम्म लाइसेन्स कुर्नु पर्ने बाध्यता हटेको दाबी गरिन ।ा