बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

बैंकिङ क्षेत्र सुधारका लागि नयाँ पूँजी र लगानी आवश्यक : एनएमबि अध्यक्ष गोयल

बुधबार, असोज ७ २०८३

काठमाडौं । एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयलले नेपालको बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा रहे पनि सुधार गर्न सकिने बताएका छन् ।
बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोयलले बैंकिङ क्षेत्रमा देखिएको समस्या ‘टर्मिनल इलनेस’ नभएको भन्दै अर्थतन्त्रले साथ दिएमा बैंकिङ क्षेत्र पुनः मजबुत बन्न सक्ने बताए ।

उनले बैंकिङ क्षेत्रलाई अहिले ‘ज्वरो आएको’ अवस्थासँग तुलना गर्दै समस्या समाधान गर्न सकिने बताए ।‘अहिलेको डेटा र फिगर हेर्नुभयो भने बैंकिङ सेक्टर अप्ठ्यारोमा छ भन्ने देखिन्छ। त्यो येस, छ, त्यो ज्वरो आएजस्तो हो । त्यसलाई हामीले ठीक गर्न सक्छौँ, करेक्सन गर्न सक्छौँ,’ उनले भने ।

गोयलले नेपालको अर्थतन्त्रमा कुनै ठूलो संरचनात्मक वा क्षेत्रगत क्षति नभएको दाबी गरे । उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्नु, श्रम पलायनलगायतका कारणले अहिलेका समस्या देखिएको उनको भनाइ थियो ।

‘कुनै हाम्रो नेप्लिज इकोनोमीमा कुनै पनि स्ट्रक्चरल अथवा सेक्टरल स्ट्रक्चरल ड्यामेज भएको छैन । हामीले समयमा जुन किसिमको एउटा स्टेबिलिटी पाउनुपर्ने थियो अथवा जुन इन्सिडेन्ट्सहरू हाम्रो इकोनोमीमा हुँदै गए, र कुनै बेला हामीले प्रोडक्टिभ सेक्टरमा नजानुको कारण अथवा जुन हाम्रो लेबर पलायन भयो, त्यसका विभिन्न कारणहरूले गर्दाखेरि यो सिम्प्टम्सहरू देखिएको हुन्,’ उनले भने ।

गोयलले बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसबारे नकारात्मक भाष्य निर्माण गर्नुभन्दा सुधारका लागि सबै पक्षले योगदान गर्नुपर्ने बताए ।

‘यो बैंकिङ सेक्टर एकदम कोरमा बसेको इम्पोटेन्ट सेक्टर हो र यसमा आएको कमजोरीले इकोनोमीलाई कमजोर बनाउँछ । सो, यो कमजोर छैन र यसमा चाहिँ भोलि अलिकता पनि हामी राइट बाटोमा हिँड्यौँ भने हामी रिकभर गर्न सक्छौँ भन्ने म्यासेज चाहिँ हाम्रो स्टेकहोल्डर्स सबैलाई जानुपर्‍यो,’ उनले भने ।

उनले नेपालमा लगानीका अवसर प्रशस्त रहेको पनि बताए। सरकारले सही नीति र बाटो अपनाए अर्थतन्त्रलाई छिट्टै पुनरुत्थान गर्न सकिने उनको भनाइ थियो ।

‘अपर्चुनिटी नभएको एउटा चिज बताइदिनुस् अनि मात्रै कुरा गरौँ भन्दा अपर्चुनिटी नभएको त हाम्रो देशमा त सेक्टर नै रहेनछ,’ उनले भने, ‘अब आजको दिनमा हामीसँग एउटा बलियो गभर्मेन्ट छ। केही गरौँ भन्ने सबैको सोचाइ छ भने राइट बाटोमा हिँड्ने हो भने हामीले यसलाई चाहिँ छिट्टै रिभाइभ गर्न सक्छौँ।’

गोयलले बैंकका पुराना प्रवद्र्धक तथा सेयरधनीलाई बाहिरिने वा आफ्नो हिस्सा क्रमशः घटाउने अवसर दिनुपर्नेमा पनि जोड दिए। नयाँ पूँजी, नयाँ लगानीकर्ता र नयाँ सोच बैंकिङ क्षेत्रमा प्रवेश गराउन यस्तो व्यवस्था आवश्यक रहेको उनले बताए ।

‘नयाँ क्यापिटल र नयाँ माइन्ड र नयाँ फ्रेस आउटलुक छिर्न दिने हो भने पुरानो प्रमोटरहरूलाई निस्किने बाटो दिने अथवा उहाँहरूलाई अलि–अलि डाइल्युट गर्न दिने चाहिँ हामीले एउटा माग जहिले पनि राखिराख्या छौँ,’ उनले भने, ‘त्यो गर्दाखेरि इकोनोमी चलायमान हुन्छ, क्यापिटल मुभमेन्ट हुन्छ ।’

उनले राष्ट्र बैंक ऐनमा सञ्चालक नियुक्ति तथा सञ्चालकको योग्यतासम्बन्धी विषयमा थप स्पष्टता आवश्यक रहेको बताए । साना त्रुटिका कारण बैंकिङ क्षेत्रमा काम गर्नेहरूमा डरको वातावरण सिर्जना हुन नहुने उनको भनाइ थियो ।

यस्तै, गोयलले कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिने प्रोभिजनिङमा करसम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने बताए । अर्थतन्त्रमा आएको समग्र प्रभावका कारण बढेको कर्जा नोक्सानीको भार बैंकमाथि मात्र नपर्ने गरी नीतिगत सुधार आवश्यक रहेको उनले बताए ।

गोयलले एसेट म्यानेजमेन्ट कम्पनी गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए। बैंकिङ क्षेत्रमा रहेका समस्याग्रस्त तथा ‘डिस्ट्रेस्ड एसेट’ व्यवस्थापन गर्न यस्तो कम्पनी उपयोगी हुने उनको भनाइ थियो ।

‘एसेट म्यानेजमेन्ट कम्पनी अब खोल्नुपर्ने भनेर पुस मसान्तसम्मको लागि अघि आएको छ। तर अहिले खोइ कुनै खास त्यस्तो डेभलपमेन्ट अथवा डिस्कसन सुरु भएको छैन । तर त्यो डिस्कसन हुने बेला अब भइसक्यो,’ उनले भने ।

हालैको बाढी तथा विपद्बाट बैंकका ऋणीहरूमा परेको असरको उचित मूल्यांकन गरी समाधान खोज्नुपर्ने पनि गोयलले बताए । निक्षेपकर्ताको रकम सुरक्षित भए पनि ऋणीको सम्पत्ति तथा व्यवसायमा परेको क्षतिले बैंकिङ क्षेत्रलाई समेत असर गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘डिपोजिटर त सुरक्षित नै छन्, तर बरोअरहरूको चाहिँ जुन प्रब्लम आउने, उहाँहरूलाई रिपेमेन्टमा आउने अथवा उहाँहरूको एसेटहरू गएको, त्यो चाहिँ एकचोटि राम्ररी एसेस गरेर राष्ट्र बैंक र हामी मिलेर त्यसलाई चाहिँ एउटा प्रोपर निकास दिने नै छौँ भन्ने हाम्रो विश्वास छ।’

गोयलले जलविद्युत् तथा जलवायु जोखिमका विषयमा पनि बैंकहरूले थप ध्यान दिनुपर्ने बताए । वातावरणमैत्री लगानीका लागि अन्तर्राष्ट्रिय कोषहरूसँग संवाद भइरहेको र विपद्पछि पनि नेपालमा लगानी गर्न उनीहरू इच्छुक रहेको उनले जानकारी दिए ।

उनले जलविद्युत् तथा अन्य विकास आयोजनामा जोखिम न्यूनीकरणका उपाय अपनाएर प्रविधि र वैज्ञानिक आधारमा काम गर्नुपर्ने बताए ।

गोयलले नेपालले एक ट्रिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राख्दा बैंकिङ क्षेत्रको आकार र क्षमता पनि बढाउनुपर्ने बताए । बैंकिङ क्षेत्रले अर्थतन्त्रको विस्तारलाई आवश्यक पूँजी उपलब्ध गराउनुपर्ने भएकाले बैंकमा नयाँ इक्विटी आकर्षित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

गोयलले बैंकिङ क्षेत्रमा लगानी आकर्षित गर्न सेयरधनीले उचित प्रतिफल पाउने वातावरण आवश्यक रहेको बताए ।

‘सेयरहोल्डरले कम कमायो, कसलाई के फरक पर्यो भन्ने खालले गर्दाखेरि मात्रै हुँदैन। यो सेयरहोल्डरले मागेको कुरा होइन कि इकोनोमीको लागि मागेको कुरा भन्ने पनि बुझ्नुपर्ने हुन्छ,’ उनले भने ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार