बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

बुधबार, असोज ७ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाबारे स्पष्ट पारेका थिए । बैठकमा पार्टी सचिवालयका सदस्यसहित केन्द्रीय कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा र सुझाव राखेका थिए ।

बुधबारको बैठकमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायत पदाधिकारी तथा आयोगका अध्यक्षहरूले धारणा राखेका थिए ।

त्यस्तै परशुराम बस्नेत, रामकुमारी झाँक्री, सुहाङ नेम्वाङसहित ठूलो संख्यामा केन्द्रीय सदस्यहरूले पनि प्रतिवेदनमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

एमाले केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो साढे १२ बजे पुनः रामबाग भवनमै बस्ने भएको छ । त्यसअघि बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसअघि केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए ।

बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै सङ्कटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने तर्क ओलीले प्रतिवेदनमा गरेका छन् । निर्वाचन परिणामले पार्टीलाई गम्भीर आघात पुर्‍याएको स्वीकार गर्दै उनले पराजयलाई बहाना बनाएर एक–अर्कामाथि दोषारोपण गर्ने वा निराशामा डुब्ने दुवै बाटो गलत भएको उल्लेख गरेका छन् । उनले कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणको बाटो रोज्नुपर्ने बताएका छन् ।

प्रतिवेदनमा ओलीले पार्टीभित्र नेतृत्व पुस्तान्तरण र पुनर्गठनका नाममा उठाइएका मागको पनि प्रतिवाद गरेका छन् । पार्टी पुनर्गठन लहड वा रहरको विषय नभई इतिहासमा बाध्यात्मक परिस्थितिमा मात्र गरिने कदम भएको उल्लेख गर्दै उनले अहिले नेतृत्व विस्थापनको मनसायले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन् ।

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई सही अर्थमा बुझ्नुपर्नेमा जोड दिँदै ओलीले पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा नकाटिने र जरालाई पोषण दिएर मात्र नयाँ पालुवा हुर्कने दृष्टान्त दिएका छन् । उमेर कम हुँदैमा स्वतः योग्यता र उमेर बढी हुँदैमा अयोग्यता नहुने भन्दै उनले ऊर्जा र अनुभवको संयोजनबाट पार्टी अघि बढ्ने बताएका छन् ।

पार्टीभित्र स्वस्थ आलोचनाको स्वागत गर्ने तर बाहिरबाट विरोधीले चलाएको चरित्रहत्याको स्वरमा स्वर मिलाउन नहुने ओलीको भनाइ छ । कम्युनिष्ट पार्टी कर्पोरेट संस्था नभएकाले यसको नेतृत्व ‘सीईओ’ वा ‘म्यानेजर’ तोकेजस्तो नहुने भन्दै उनले विचार र सङ्घर्षबाट खारिएको नेतृत्व आवश्यक पर्ने उल्लेख गरेका छन् ।

देशको तत्कालीन राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्दै ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनलाई बाह्य प्रायोजित रणनीतिको उपजका रूपमा चित्रण गरेका छन् । जेनजी आन्दोलनका नाममा संसद्मा आगजनी, जनप्रतिनिधिका घरमा आगजनी तथा निर्वाचित सरकार ढालेर असंवैधानिक रूपमा संसद् विघटन गर्ने काम भएको उनको दाबी छ । युवाको बेरोजगारी र निराशाको वास्तविक पीडालाई आपराधिक गिरोह तथा भूराजनीतिक खेलाडीहरूले हिंसात्मक दिशामा मोडेको पनि उनले दाबी गरेका छन् ।

सरकारको प्रतिशोधपूर्ण राजनीतिको विरोध गर्दै ओलीले आफूमाथि जाली पक्राउ पुर्जी जारी गरी गैरकानुनी रूपमा हिरासतमा राखिएको गुनासो गरेका छन् । यद्यपि भदौका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आफू कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै उनले छानबिनलाई राजनीतिक सफायको हतियार बनाउन नहुने बताएका छन् ।

वर्तमान परिस्थितिमा एमालेका सामु संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी स्थानीय तहसहितका निर्वाचनको तयारी प्रमुख कार्यभार रहेको ओलीले उल्लेख गरेका छन् । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकाले न्यायिक विलम्ब चिन्ताजनक रहेको उनको भनाइ छ ।

यी कार्यभार पूरा गर्न सत्यलाई जनतासम्म पुर्‍याउने, जनहितकेन्द्रित प्रतिपक्षको भूमिका निर्वाह गर्ने, डिजिटल पुनर्निर्माण गर्ने र ज्ञानमा आधारित पार्टी निर्माण गर्नेसहित १५ वटा प्रमुख कामको खाका पनि ओलीले प्रस्तुत गरेका छन् ।

एमाले हारे पनि नहारेको र कमजोर भए पनि यसको जरा नसुकेको उल्लेख गर्दै ओलीले पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै पार्टीलाई पुनः राष्ट्रिय विजयको आधार बनाउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार