बुधबार, असोज ७ २०८३
काठमाडौं(जस)–यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग बुधबार उच्चस्तरीय छलफल सम्पन्न भएको छ । गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो
छलफलमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उच्च प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए । सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेका क्षेत्रहरूमा पूर्ण सतर्कता अपनाउन र खोज, उद्धार तथा राहतका लागि आवश्यक पूर्वतयारीमा रहन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।
बाढी पूर्वानुमानको समयावधि ५ दिन
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि ३ दिनबाट बढाएर ५ दिन पु¥याएको छ । केन्द्रले बुधबारदेखि नेपालभरका स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालेको जनाएको छ । केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईले बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा थप सुधार गर्दै पूर्वानुमानको समयावधि विस्तार गरिएको बताए । उनका अनुसार केन्द्रको आफ्नै नेपाल केन्द्रित बाढी पूर्वानुमान मोडल तथा भ्ऋःध्ँ भ्लकझदभि ँयचभअबकत मा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलसँग एकीकृत गरी पूर्वानुमान प्रणाली सञ्चालनमा ल्याइएको हो ।
दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ । यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त हुने र पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ । केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थान विशेष तथा समयगत शुद्धता बढाउनुका साथै प्रभावमा आधारित बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ ।
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुने सम्भावना औँल्याएका छन् ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत भारी वर्षाको आंकलन गरिएको छ । मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी खण्ड तथा कर्णालीको जुम्ला आसपासका क्षेत्रहरूमा बाढी, पहिरो, डुबान एवं सडक अवरोधको जोखिम उच्च रहने उल्लेख छ । विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बद्ध निकाय तथा नागरिकहरूका लागि विशेष आग्रह गरिएको छ ।
बाढी, पहिरो तथा डुबानले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न भनिएको छ । ट्रेकिङ वा हिमाली क्षेत्रको भ्रमण तालिका तय गरेका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ ।नदी, खोला किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ । मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित बुलेटिनहरू अवलोकन गर्न तथा सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न भनिएको छ । साथै, सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित सम्पूर्ण सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी एवं प्रभावकारी समन्वयमा रहन निर्देशन दिइएको छ ।
विपद् न्यूनीकरणका लागि सरकार ‘हाई अलर्ट’मा, प्रतिघण्टा पूर्वसूचना दिइने
आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति न्यूनीकरणका लागि अनुगमन, निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ । प्राधिकरणका अनुसार नदीको जलसतह, वर्षाको मात्रा र सम्भावित जोखिमको ‘रियल टाइम’ निगरानी गर्दै सर्वसाधारणलाई हरेक घण्टा पूर्वसूचना तथा अद्यावधिक विवरण उपलब्ध गराइनेछ । प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी कुन नदीमा बाढीको सतह कहिले खतराको तहमा पुग्न सक्छ र त्यसको सम्भावित प्रभाव कुन क्षेत्रमा पर्न सक्छ भन्नेबारे प्राविधिक विश्लेषण गरिनेछ ।
जोखिम बढेको अवस्थामा नागरिकको मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना पठाइने भएकाले त्यस्ता सन्देशलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ । समुद्रमा विकसित हुन सक्ने ठूलो आँधी प्रणाली र त्यसको दिशामा आउन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले सूक्ष्म निगरानी गरिरहेको छ । मौसम प्रणाली छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ । जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरिएको छ । साथै, ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र सम्भावित उद्धारका लागि हेलिकप्टर उडानको पूर्वतयारीमा रहन सुझाव दिइएको छ ।
वर्षा र बाढीपहिरोको जोखिम बढेमा मुख्य राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिनेछ । शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी भइरहेको छ भने यातायात व्यवसायीलाई पनि जोखिमको अवस्था हेरेर मात्र सेवा सञ्चालन गर्न भनिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पन्छाउन मुख्य राजमार्गहरूमा डोजर तथा भारी उपकरणहरू तयारी अवस्थामा राखिएका छन् । भारी वर्षाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाजमा क्षति पु¥याउन सक्ने भएकाले बाली सुरक्षित राख्न किसानहरूलाई आग्रह गरिएको छ । यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी गरिएको छ ।
यसैगरी, बाढीका बेला नदी किनारमा गएर भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्नेजस्ता जोखिमपूर्ण काम नगर्न प्राधिकरणले चेतावनी दिएको छ । खोलामा पसेर दाउरा वा अन्य सामग्री संकलन गर्ने प्रवृत्ति घातक हुन सक्ने भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन अपिल गरिएको छ । सम्भावित विपद् सामना गर्न देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमान्ड पोस्टमार्फत मौसमको अवस्था, नदीको जलसतह र सम्भावित जोखिमको चौबीसै घण्टा निगरानी भइरहेको छ । सरकारले मौसम तथा नदीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले आधिकारिक पूर्वसूचना र स्थानीय प्रशासनबाट जारी हुने निर्देशनहरू पूर्ण रूपमा पालना गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij