बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

बाढीपीडितको पीडामा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साथ, १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । भोटेकोशी तथा रसुवा क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले १० लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी तथा पहिरोका कारण घर, व्यवसाय, सम्पत्ति तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले एशोसिएसनले उक्त रकम राहत कोषमा उपलब्ध गराएको हो।

एशोसिएसनले आज नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मामार्फत उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ। एशोसिएसनका अनुसार एनआईएमबी बैंक (NIMB Bank) मार्फत रकम जम्मा गरिएको हो।

एशोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्वसँगै निजी क्षेत्रको सामाजिक जिम्मेवारी भएको बताए।

“प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडा हामी सबैको साझा पीडा हो। राज्यको प्रयासलाई निजी क्षेत्र र व्यवसायी क्षेत्रले पनि साथ दिनुपर्छ। पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले एशोसिएसनका तर्फबाट यो सहयोग गरेका हौँ,” अध्यक्ष गैरेले भने।

उनले विपद्को समयमा राजनीतिक, व्यावसायिक वा अन्य विभाजनभन्दा माथि उठेर मानवीय आधारमा पीडित नागरिकको पक्षमा उभिनुपर्ने बताए। राहतसँगै प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन दीर्घकालीन सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

“व्यवसायबाट समाजसँग जोडिएका छौँ भने संकटको समयमा समाजसँगै उभिनु पनि हाम्रो दायित्व हो। अहिलेको सहयोगलाई सुरुवातका रूपमा लिएका छौँ। प्रभावित क्षेत्रको अवस्था र आवश्यकतालाई हेरेर आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिनेछौँ,” गैरेले भने।

एशोसिएसनका प्रथम उपाध्यक्ष सुर्वण लामाले भोटेकोशी तथा रसुवाका प्रभावित परिवारलाई तत्काल राहतको आवश्यकता रहेकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिएको बताए।

उनले बाढीपहिरोका कारण कतिपय परिवारले घर तथा व्यवसायमा क्षति व्यहोर्नुपरेको र दैनिक जीवनयापनसमेत कठिन बनेको अवस्थामा सरकारी प्रयाससँगै निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

“पीडित परिवारको आवश्यकता ठूलो छ। हाम्रो सहयोगले सबै समस्या समाधान गर्न सक्दैन, तर विपद्को समयमा व्यवसायी समुदाय पनि पीडितको साथमा छ भन्ने सन्देश दिन्छ,” लामाले भने।

एशोसिएसनका पदाधिकारी तथा सदस्यहरूले विपद्को समयमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापनाका अभियानमा सक्रिय सहभागिता जनाउनुपर्ने बताएका छन्।

नेपालमा वर्षायामसँगै बाढी, पहिरो तथा डुबानका घटना दोहोरिँदै आएका छन्। प्राकृतिक विपत्तिका कारण हुने जनधनको क्षति न्यूनीकरण, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिकस्तरबाट हुने सहकार्य महत्वपूर्ण मानिन्छ।

एशोसिएसनले प्रदान गरेको १० लाख ११ हजार १ सय ११ रुपैयाँले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

अध्यक्ष गैरेले विपद् प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानमा सबै पक्षलाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहभागी हुन आग्रह गर्दै एशोसिएसनले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार