काठमाडौं । रसुवा र भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भिमसेन थापा उद्धार तथा राहत कार्यमा सक्रिय भएका छन्।
बाढी प्रभावित क्षेत्रमा आफैं पुगेर थापाले उद्धार कार्यमा सहयोग गर्नुका साथै समस्यामा परेका परिवारलाई व्यक्तिगत तर्फबाट राहत सहयोग गरेका छन । उनले एनआरएनएको तर्फबाट समेत प्रभावित परिवारका लागि सहयोग परिचालन गर्न सक्रिय भूमिका निर्वाह गरेका छन्।
पोर्चुगलमा सफल व्यवसाय गर्दै आएका थापा सामाजिक सेवामा समेत सक्रिय छन । नेपालमा विपद पर्दा विदेशमा रहेर पनि आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने मान्यतासहित उनले यसपटक प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेका हुन्।
बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै थापाले ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रभावित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापनाका लागि समेत निरन्तर सहयोग आवश्यक रहेको उनले बताएका छन्।
थापाले नेपालमा रहेका नेपालीसँगै विश्वभर छरिएर रहेका नेपालीलाई विपद्को यो घडीमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्। गैरआवासीय नेपाली, संघसंस्था, व्यवसायी तथा सामाजिक अभियन्ताले सरकारका उद्धार तथा राहत प्रयासमा हातेमालो गर्नुपर्ने उनको भनाइ छ।
‘विपद्मा एकता, पीडामा साथ र मानवतामा हाम्रो साझा जिम्मेवारी हो’ भन्दै थापाले प्रभावित परिवारको दुःखमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
एनआरएनए आईसीसीको युवा नेतृत्वमा रहेका थापाले संस्थागत पहलसँगै व्यक्तिगत रूपमा समेत राहत कार्यमा सहभागिता जनाउँदै विपद्मा परेका परिवारलाई सहयोग गर्दै आएका छन्। रसुवा-नुवाकोटमा प्रत्यक्ष रूपमा उद्धार तथा राहतमा खटिनुले उनको सामाजिक सक्रियतालाई थप बल दिएको छ।
बाढीपछिको उद्धारसँगै प्रभावित परिवारको पुनःस्थापना चुनौतीपूर्ण हुने भएकाले सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र गैरआवासीय नेपाली समुदायबीच सहकार्य आवश्यक रहेको थापाले बताएका छन्।






