शुक्रबार, भाद्र ५ २०८३
मानव सभ्यताको विकाससँगै प्राकृतिक तथा मानव सिर्जित विपद्का स्वरूप र चुनौतीहरू पनि जटिल बन्दै गएका छन् । जलवायु परिवर्तन, तीव्र शहरीकरण, वातावरणीय विनाश, जनसंख्याको चाप तथा प्रविधिको दुरुपयोगका कारण विश्वभर विपद्को जोखिममा वृद्धि भएको छ । भूकम्प, बाढी, पहिरो, डढेलो, चक्रवात, महामारीजस्ता घटनाले लाखौँ मानिसको जीवन, सम्पत्ति र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको छ । यस्तो अवस्थामा विपद् व्यवस्थापन केवल सरकारी निकायको जिम्मेवारी मात्र होइन, सम्पूर्ण समाजको साझा दायित्व बनेको छ । यस दायित्वको सफल कार्यान्वयनमा सञ्चारमाध्यम अर्थात मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ ।
विपद््को समयमा गरिने उद्धार, राहत एवं पुनस्र्थापनाका काममा मानवीय सहायताको विषय निकै महत्वपूर्ण र संवेदनशील हुन्छ । विपद्मा परेका व्यक्तिलाई सर्वप्रथम जीवन रक्षा र खाद्यान्न, स्वास्थोपचार, लत्ताकपडा, आवासलगायतका कुरा आवश्यक हुन्छ । बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्को समयमा सडक, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासमेत अवरुद्ध हुनसक्ने भएकाले राहत, उद्धार तथा पुनस्र्थापनाका काममा समस्या हुनसक्छ । यस्तो परिस्थितिमा पनि विपद्पश्चात् सहयोगका लागि धेरै क्षेत्रबाट काम हुन्छ, स्थानीयस्तरदेखि केन्द्रीय तहसम्म तथा व्यक्तिगतदेखि संस्थागत रूपमा उद्धार तथा राहतको काम भएको हुन्छ । तर यस्ता कार्यमा मानवीय संवेदनशीलताको पक्षलाई भने पर्याप्त ध्यान दिएको पाइँदैन । कहिलेकाहीँ मिडियामा आउने गलत र तथ्यहीन सूचनाले पनि थप जटिलता ल्याउने गर्दछ ।
आधारभूत मानवीय संवेदनशीलता
विपद्को सवाल भनेको राहत र उद्धारसँग मात्र सीमित छैन । आधारभूत मानव अधिकार, मानवीय कानुन, विकास निर्माण, गास, बास, कपास, शान्ति सुरक्षा एवं सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका विविध पक्षसँग यसको प्रत्यक्ष सम्बन्ध रहन्छ । विपद्को बेला व्यक्ति, परिवार वा समुदायले आफैैँ अत्यावश्यक सेवा परिपूर्ति गर्न सक्दैन । विपद्का घटनाले नियमित क्रियाकलापमा असहज स्थिति सिर्जना गर्छ, मानवीय जीवनलाई अस्तव्यस्त बनाएको हुन्छ । एउटा लयमा चलिरहेको जीवन पद्धतिमा अप्रत्यासित रूपमा असजिलोमा पारेको हुन्छ । विपद्को समयमा मानिस शारीरिक तथा मानसिक पीडामा रहने हुँदा राहतको नाममा फाइदा लिने, भेदभाव गर्ने, शोषण गर्ने, आफ्नो कुरा लाद्नेजस्ता अवाञ्छित गतिविधि अधिक हुने सम्भावना रहन्छ । यस्ता क्रियाकलाप हुन नदिन र मानवीय दुःख र पीडा कम गरी मानव भएर बाँच्ने पाउने अधिकार सुनिश्चित गर्न नै विश्वव्यापी रूपमा पनि आधारभूत मानवीय मापदण्डलाई प्रतिपादन गरिएको छ ।
विपद्मा परेका व्यक्तिलाई सहयोग गर्नु सकारात्मक कुरा हो । तर यस्ता कतिपय काम मानवीय हिसाबले भन्दा पनि सस्तो प्रचारका लागि हुनुचाँहि यसको खराब पक्ष हो । खासगरी पीडितलाई वितरण गर्न ल्याइएका सामग्री पीडितको वास्तविक आवश्यकता भन्दा दाताको इच्छा र लहडमा भएको देखिन्छ र त्यसमा मानवीय संवेदनालाई पूरै बेवास्ता गरिएको हुन्छ । राहत बाँड्ने क्रममा न्यून गुणस्तरको चाउचाउ, चिउरा, चामल र त्रिपाल वितरण गरिएका उदाहरणहरु नेपालमा भएका विभिन्न विपद्का समयमा सार्वजनिक भएका छन् । सस्तो लोकप्रियताका लागि कतिपयले केही पोका चाउचाउ, चामल लिएर हेलिकप्टर सवार गरिरहँदा त्यसले पीडितको मानवीय संवेदनामा गम्भीर चोट पुग्दछ । पीडितको आँसुको लिलामी गरेर आफू मुस्कुराउँदै सन्तुष्टि खोज्ने दाताको भीड लाग्ने गर्दछ । पीडितको अवस्था कस्तो छ ? उनीहरूलाई तत्काल के कुराको आवश्यकता छ ? यस्तो समयमा उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा कतिपय दाताहरुले कुनै जानकारबिना नै सहयोगको नाममा सस्तो प्रचार खोजेको देखिन्छ । सम्बन्धित क्षेत्रको आधिकारिक संस्था, निकायलगायतसँग सम्पर्क गरी आवश्यक सामग्री सहयोग गरेको अवस्थामा भने पीडितले वास्तविक राहत पाउने मात्र होइन, उनीहरूको भावनामा ठेस लाग्न पाउँदैन ।
खासगरी २०७२ को भूकम्पपछि स्थानीय निकाय, गैरसरकारी संस्था तथा व्यावसायिक संस्थामा मौसमजन्य प्राकृतिक प्रकोपको पूर्वसूचना, पूर्वतयारी र प्रतिकार्यलगायतका कामका लागि कानुनी, भौतिकलगायतका संरचना तयार गर्नुपर्छ भन्ने अवधारणाको विकास भएको पाइन्छ । तद्अनुसार केही स्थानीय निकायले प्राकृतिक प्रकोप न्यूनीकरण, उद्धार, राहत, पुनस्र्थापनालगायतका कुरामा स्पष्ट नीति, कार्यनीति बनाएका छन् । बाढी, पहिरो तथा अन्य विपद्बारे पूर्वसूचना प्रणाली, विपद्् प्रतिकार्य योजना बनेका भए पनि प्राकृतिक प्रकोपपछि पुनस्र्थापनालगायतका कुरामा निकै कमजोरी देखिन्छ । मुख्य कुरा ती नीति, कार्यनीति, रणनीति वा अन्य पहलमा आधारभूत मानवीय मापदण्डका मूलभूत पक्षबारे कुनै उल्लेख भएको पाइँदैन । विपद्बाट विस्थापित तथा प्रभावित हुन पुगेकालाई बाँच्नका लागि आवास र खाद्यान्नको सहायता पहिलो आवश्यकता हो ।
विपद्को समयमा मानिस शारीरिक तथा मानसिक पीडामा रहने हुँदा राहतको नाममा फाइदा लिने, भेदभाव गर्ने, शोषण गर्ने, आफ्नो कुरा लाद्नेजस्ता अवाञ्छित गतिविधि अधिक हुने सम्भावना रहन्छ । विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी सहायता अझ प्रभावकारी र व्यवस्थित गर्न आवश्यक छ । आगामी दिनमा आउने यस्ता विपद्मा हुने क्षति न्यूनीकरण गर्न तथा विपद्मा परेकाहरूको पीडा कम गरी मानव भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न स्थानीय तह, सामाजिक सङ्घसंस्था तथा व्यावसायिक संस्थाहरूका लागि विश्वव्यापी रूपमा लागू गरिएको आधारभूत मानवीय मापदण्ड (सीएचएस) को आवश्यकता महसुस हुन थालेको छ ।
आधारभूत मापदण्ड विभिन्न देशको अनुभवका आधारमा तयार पारिएको र विश्वव्यापी रूपमा पालना भइरहेको आधारभूत मानवीय मापदण्डले विपद्मा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिता सुधारका लागि विभिन्न नौवटा प्रतिबद्धतामा जोड दिएको छ । विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यो मापदण्डअनुसार सहायतालाई अझ प्रभावकारी र व्यवस्थित गर्न सकेमा सही अर्थमा पीडितको आँसु पुछिनेछ । यसले विपद्को समयमा सहयोग गर्ने तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायलाई अझ जिम्मेवार र उत्तरदायी बनाउने छ । विपद्बाट बच्न र क्षति कम गर्न पूर्वतयारी र प्रतिकार्ययोजना बनाउनु आवश्यक हुन्छ । विपद्को समयमा समुदायका सदस्यमध्ये बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, दूध चुसाउने आमा, एकल महिला, असहाय, असक्त र संरक्षण दिनुपर्ने वर्ग बढी प्रभावित हुन्छन् । विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनामा यी वर्गलाई विशेष प्राथमिकतामा राख्न र पर्याप्त ध्यान पु–याउन पनि यी मापदण्डले सहयोग गर्छ । यस मापदण्डको कार्यान्वयनमा पनि मिडियाको महत्वपूर्ण रहेको हुन्छ ।
मिडियाको भूमिका
आधुनिक विश्वमा सञ्चारमाध्यमलाई केवल समाचार दिने माध्यमका रूपमा मात्र जनताको सुरक्षाको महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गरिएको छ । विकसित देशहरूमा विपद् आउनुअघि नै मिडियामार्फत मौसम पूर्वानुमान, सम्भावित जोखिमको जानकारी तथा सुरक्षाका उपायहरूका बारेमा जानकारी दिने गरी चेतावनी प्रणाली सक्रिय गरिन्छ । सन् २००४ को हिन्दमहासागर सुनामी, सन् २००५ को क्याट्रिना आँधी, सन् २०११ को जापानको भूकम्प तथा सुनामी तथा हालका वर्षहरूमा अमेरिका, अष्ट्रेलिया र युरोपमा देखिएका डढेलो तथा बाढीका घटनाहरूमा मिडियाले खेलेको भूमिका उल्लेखनीय रहेको थियो । जापानमा भूकम्पपछि टेलिभिजन, रेडियो, मोबाइल सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत तत्काल सूचना प्रवाह हुँदा लाखौँ मानिसले सुरक्षित स्थानमा पुग्ने अवसर पाएका थिए ।
कोभिड–१९ महामारीको समयमा पनि विश्वव्यापी रूपमा सञ्चारमाध्यमले जनस्वास्थ्यसम्बन्धी सूचना प्रवाह, सचेतना अभिवृद्धि तथा वैज्ञानिक जानकारी प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । विश्वका धेरै देशहरूमा विपद् व्यवस्थापन योजनामा मिडियालाई संस्थागत साझेदारी बढाउँदै सञ्चारकर्मीहरूलाई विपद् पत्रकारितासम्बन्धी विशेष तालिम प्रदान गरिन्छ । संकटका बेला सूचना व्यवस्थापनका स्पष्ट मापदण्ड अपनाइन्छन् । यसले विश्वसनीय, छिटो र सन्तुलित सूचना प्रवाह सुनिश्चित गर्छ । विपद व्यवस्थापनमा मिडियाको भूमिका केवल समाचार प्रसारणमा सीमित हुँदैन; मानव जीवनको सुरक्षा, सामाजिक उत्तरदायित्व र राष्ट्रिय विकाससँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण दायित्व भएकाले मिडिया क्षेत्र यसबाट अलग रहन सक्दैन ।
नेपालको भौगोलिक बनावट, कमजोर पूर्वाधार, जलवायु परिवर्तनको प्रभाव तथा तीव्र शहरीकरणका कारण विश्वका उच्च विपद जोखिम भएका देशहरूमध्ये एक हो । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डढेलो, चट्याङ तथा महामारीजस्ता घटनाहरू नियमित रूपमा देखिन्छन् । २०७२ सालको विनाशकारी भूकम्प नेपालका लागि महत्वपूर्ण पाठ बनेको थियो । विपद्का बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उद्धार, राहत तथा जनचेतनामा उल्लेखनीय योगदान पु¥याएका थिए । रेडियो, टेलिभिजन, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमार्फत पीडितहरूको अवस्था विश्वसामु पुगेको थियो । पत्रकार तथा सञ्चारमाध्यमहरुले सूचना सम्प्रेषण गर्दा पनि के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने आचारसंहिता बनाएका छन् । पत्रकार आचारसंहितामा पनि पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष सिंवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भाव जस्ता विषयमा विशेष संवेदनशीलता र सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।
विपदका बेला प्राप्त सही सूचनाले जीवन बचाउन सक्छ, समुदायलाई सुरक्षित बनाउन सक्छ र राष्ट्रलाई पुनर्निर्माणतर्फ अग्रसर गराउन सक्छ । विश्वभरका अनुभवहरूले देखाएका छन् कि विपद् व्यवस्थापनका चार प्रमुख चरण—पूर्वतयारी, प्रतिकार्य, राहत तथा पुनःनिर्माण । यी सबै चरणमा मिडिया प्रभावकारी माध्यम बन्नसक्छ । सूचना, शिक्षा, चेतना, निगरानी र जनसहभागिताका माध्यमबाट मिडियाले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न उल्लेखनीय योगदान पु¥याउन सक्छ । नेपालजस्तो विपदको उच्च जोखिम भएको मुलुकमा त यसको महत्व झन् बढी रहेको छ ।
ड्ड विपदपूर्व चेतना निर्माणमा मिडिया
विपद व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको जोखिम न्यूनीकरण हो । कुनै पनि विपद आउनुअघि नै सम्भावित विपद्का बारेमा नागरिकलाई सचेत, सक्षम र तयार बनाउनु नै क्षति घटाउने प्रभावकारी उपाय हो । यस कार्यमा मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन माध्यममार्फत जनतालाई सम्भावित जोखिम, सुरक्षाका उपाय, उद्धार प्रक्रियाहरू तथा आपतकालीन तयारीबारे जानकारी दिन सकिन्छ । विद्यालय, समुदाय तथा स्थानीय तहसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । आज सामाजिक सञ्जालको पहुँच तीव्र रूपमा बढेको छ । फेसबुक, युट्युब, एक्स, टिकटकलगायत डिजिटल प्लेटफर्मले सूचना प्रसारणलाई सहज बनाएका छन् ।
ड्ड विपदका बेला जीवन रक्षक सूचनाको माध्यम
विपद्का घटना भइरहेका बेला समयमै सूचना प्राप्त हुनु जीवन र मृत्युबीचको अन्तर बन्न सक्छ । यस्तो अवस्थामा मिडियाको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवार हुन्छ । विपदको स्थान, क्षतिको अवस्था, सुरक्षित मार्ग, उद्धार केन्द्र, राहत वितरण, स्वास्थ्य सेवा तथा सरकारी निर्णयबारे तत्काल सूचना उपलब्ध गराउनु मिडियाको प्रमुख दायित्व हो । यसले नागरिकलाई सही निर्णय लिन सहयोग गर्छ ।
रेडियो विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका लागि अझै पनि प्रभावकारी माध्यम बनेको छ । विद्युत् वा इन्टरनेट सेवा अवरुद्ध भएका अवस्थामा सामुदायिक रेडियोहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । विश्वका विभिन्न देशहरूमा आपतकालीन सञ्चार प्रणालीका रूपमा रेडियोलाई प्राथमिकता दिइन्छ । यद्यपि, विपदका बेला समाचारलाई सनसनीपूर्ण बनाउने प्रवृत्ति पनि देखिन्छ । मृतक तथा पीडितका तस्बिरहरू अत्यधिक प्रयोग गर्ने, अपुष्ट जानकारी प्रसारण गर्ने तथा त्रास फैलाउने सामग्री प्रस्तुत गर्ने कार्यले समाजमा नकारात्मक असर पार्न सक्छ । त्यसैले संकटका बेला संवेदनशील, तथ्यपरक र मानव केन्द्रित पत्रकारिता आवश्यक हुन्छ ।
ड्ड राहत तथा पुनःस्थापनामा मिडियाको योगदान
विपदपछि राहत तथा पुनःस्थापनाको चरण सुरु हुन्छ । यस अवधिमा पनि मिडियाको भूमिका समाप्त हुँदैन, बरु अझ महत्वपूर्ण बन्छ । पीडित समुदायको वास्तविक अवस्था सार्वजनिक गरेर राहत सामग्री उचित स्थानमा पु¥याउन मिडियाले सहयोग गर्न सक्छ । राहत वितरणमा भएको अनियमितता, भ्रष्टाचार वा विभेद्लाई उजागर गरेर सम्बन्धित निकायलाई जवाफदेही बनाउन सक्छ । विश्वका विभिन्न मुलुकहरूमा मिडियाको पहलमा राहत अभियान सञ्चालन भएका उदाहरणहरू प्रशस्त छन् । नागरिक, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि प्रेरित गर्न मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पुनःनिर्माणका क्रममा सरकारका प्रतिबद्धता, बजेट खर्च तथा विकास योजनाको निगरानी गर्नु पनि सञ्चारमाध्यमको दायित्व हो । यसले सुशासन र पारदर्शीता प्रवद्र्धन गर्न मद्दत पु¥याउँछ ।
नेपाली मिडियाका अवसर र चुनौती
नेपालमा चार हजारभन्दा बढी पत्रपत्रिका, झण्डै १२ सय को हाराहारीमा एफएम रेडियो, करिब २०० टेलिभिजन, दुई हजारभन्दा बढी अनलाइन पोर्टलहरु दर्ता भई सञ्चालनमा रहेका छन् । देशभर सञ्चालनमा रहेका यी सञ्चारमाध्यमहरू विपद् व्यवस्थापनका दृष्टिले अमूल्य सम्पत्ति हुन सक्छन् । दुर्गम गाउँसम्म सूचना पु¥याउन, स्थानीय भाषा प्रयोग गर्न तथा समुदायसँग प्रत्यक्ष सम्पर्क कायम गर्न यी माध्यमहरु प्रभावकारी हुन्छन् । विपद व्यवस्थापनमा मिडिया क्षेत्रले अझ प्रभावकारी रुपमा निर्वाह गर्नसक्ने भूमिकामा केही अवसरहरुसँगै चुनौतीहरू पनि रहेका छन् । आमसञ्चार माध्यमहरुसँगै सामाजिक सञ्जालको बढ्दो लोकप्रियता र प्रयोगका कारण कुनै पनि सूचना तत्काल आम समुदायमा पु¥याउन सम्भव भएको छ । इन्टरनेटको पहुँच विस्तार, इन्ड्रोइड मोवाइलको प्रयोग र बढ्दो जनचेतनाले गर्दा सूचना प्रवाहमा निकै सहजता आएको छ ।
यद्यपि, गलत सूचना र अफवाहको कारण सञ्चार क्षेत्रमा ठूलो चुनौती ल्याएको छ । डिजिटल युगमा विपद व्यवस्थापनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक गलत सूचना प्रवाह बनेको छ । मुख्यगरी सामाजिक सञ्जालमा अपुष्ट समाचार, अफवाह तथा भ्रामक सामग्री तीव्र गतिमा फैलिंदा जनतामा भ्रम, त्रास र अविश्वास सिर्जना गर्न सक्छ । कोरोना महामारीकै बेलामा पनि कतिपय अफवाह, अपुष्ट सूचना तथा सनसनीपूर्ण समाचारले चुनौती पनि सिर्जना गरेको थियो । घटनाको वास्तविकता र मानवीय संवेदनशीलतालाई ख्याल नगरी सम्प्रेषण हुने सूचनाले थप जटिलता निम्त्याउँछ ।
नेपालमा सञ्चार क्षेत्रले उल्लेखनीय विस्तार गरेको भए पनि विपद व्यवस्थापनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न केही चुनौतीहरू छन् । अधिकांश सञ्चार संस्थामा विपद पत्रकारितासम्बन्धी विशेष तालिमको अभाव छ । धेरै पत्रकारहरूले संकटका बेला रिपोर्टिङ गर्दा आवश्यक सुरक्षा तथा संवेदनशीलताबारे पर्याप्त ज्ञान पाएका जनशक्ति नहुँदा जस्तोसुकै सूचना पनि आमजनतामा पुिग्ने खतरा रहन्छ । त्यसैगरी कहिलेकाहीँ सूचना स्रोतको विश्वसनीयता सुनिश्चित गर्न कठिनाइ हुँदा पनि समयमै सूचना नआउने वा गलत सूचना सम्प्रेषित हुने गर्दछ । सरकारी निकायबीच समन्वय अभाव हुँदा तथ्यांक फरक–फरक आउन सक्छ । त्यस्तै आर्थिक स्रोतको कमीका कारण कतिपय सञ्चारमाध्यमले निरन्तर विपद्सम्बन्धी सामग्री उत्पादन गर्न सकेका हुँदैनन् ।
चुनौतीहरूबीच पनि नेपाली मिडियासँग ठूलो अवसर छ । डिजिटल प्रविधि, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिन्छ । स्थानीय सरकार, विपद व्यवस्थापन निकाय तथा सञ्चार संस्थाबीच सहकार्य बढाउन सकिन्छ । यसका लागि जिम्मेवार पत्रकारिताको आवश्यकता झन् स्पष्ट बनाएको छ । जसरी जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी सञ्चारमाध्यमले हजारौँ जीवन बचाउन, क्षति कम गर्न तथा समाजलाई संकटसँग जुध्न सक्षम बनाउन सक्छ, त्यसैगरी गैरजिम्मेवार सञ्चार अभ्यासले भ्रम, त्रास र अव्यवस्था पनि निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै रहेको हुन्छ ।
विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीच सुदृढ सहकार्य आवश्यक हुन्छ । सरकारी निकायहरूले समयमै सही सूचना उपलब्ध गराउने र मिडियाले पनि जिम्मेवार ढङ्गले त्यसलाई जनतासम्म पु¥याउने अवस्था रहेमा कुनै अन्यौल वा द्वीविधा सिर्जना हुँदैन । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीतिहरूमा सञ्चार रणनीतिलाई पनि एकाकार गर्नुपर्ने हुन्छ । आपत्कालीन सूचना प्रणालीलाई सबै सञ्चार माध्यमसँग एकीकृत गर्न सकिन्छ । पत्रकारहरूका लागि नियमित तालिम तथा अभ्यास कार्यक्रम सञ्चालन गर्दा उनीहरुको क्षमता विकाससँगै सही सूचना सम्प्रेषण हुन सक्छ ।
मिडियाले पनि आफूलाई जनताको विश्वासको साथी बनाउन तथा गलत सूचना सम्प्रेषण हुने अवस्था आउन नदिन तथ्य जाँच (फ्याक्ट–चेकिङ) लाई प्राथमिकता दिनुपर्र्ने हुन्छ । आधिकारिक स्रोतको पुष्टि बिना कुनै सूचना प्रसारण गर्नु हुँदैन । यसका लागि सञ्चार संस्थाहरूले डिजिटल साक्षरता अभिवृद्धि गर्न पनि भूमिका खेल्नुपर्ने हुन्छ । हाम्रोजस्तो विपद् जोखिमयुक्त देशमा मिडियाको भूमिकालाई अझ रणनीतिकरुपमा बढाउन आवश्यक देखिन्छ । यसका लागि सञ्चारमाध्यम, सरकार, नागरिक समाज, निजी क्षेत्र तथा समुदायबीच सहकार्य अपरिहार्य छ । विपद् व्यवस्थापन केवल उद्धार र राहतमा सीमित विषय होइन, यो जोखिम न्यूनीकरण, पूर्वतयारी, जनचेतना, पुनःस्थापना तथा दीर्घकालीन विकाससँग जोडिएको समग्र प्रक्रिया हो । यस प्रक्रियामा यी तीनै निकायले पनि मिडियालाई एक शक्तिशाली र अपरिहार्य साझेदारको रुपमा लिनु आवश्यक छ । (लेखक राससका आलेख प्रमुख हुनुहुन्छ)
–––
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij