शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३

वाह्य विज्ञापनका समस्या, चुनौती र समाधानको विकल्प : रामहरि कार्कीको लेख

शुक्रबार, भाद्र ५ २०८३

नेपाली समाजमा प्रचलित एउटा आख्यानअनुसार ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने भनाइले विज्ञापनको मर्मलाई उजागर गर्दछ । ‘विज्ञापन’ भन्नाले कुनै वस्तु, सेवा, कार्यक्रम वा अवसरको सार्वजनिक प्रचार–प्रसारका लागि छापा, विद्युतीय तथा अनलाइन माध्यम, सामाजिक सञ्जाल, होर्डिङ बोर्डलगायत प्रयोग गरिने शब्द, चित्र, सङ्केत, प्रकाश, संरचना तथा श्रव्य, दृश्य वा श्रव्यदृश्य सामग्रीलाई बुझिन्छ ।
त्यस्तै सामान्यतः वाह्य विज्ञापन भन्नाले सार्वजनिक स्थलहरू जस्तै सडक, चोक, भवनका बाहिरी भाग, सवारीसाधन तथा खुला स्थानमा राखिने दृश्य विज्ञापनलाई बुझिन्छ । होर्डिङ बोर्ड, फ्लेक्स, ब्यानर, डिजिटल स्क्रिन, बिलबोर्ड तथा अन्य प्रदर्शन सामग्री यसअन्तर्गत पर्छन् । प्रविधिको विकाससँगै यसको स्वरूप पनि निरन्तर परिवर्तन हुँदै गएको छ । विशेषगरी डिजिटल प्रविधिको विकासँगै वाह्य विज्ञापनलाई व्यावसायिक सन्देश आमसमुदायसम्म प्रत्यक्ष र प्रभावकारी रूपमा पु¥याउने महत्वपूर्ण औजारका रूपमा प्रयोग गरिन्छ ।
वाह्य विज्ञापनको इतिहास मानव सभ्यताको प्रारम्भिक कालदेखि नै जोडिएको पाइन्छ । प्राचीन रोम, ग्रीस र इजिप्टमा सार्वजनिक स्थलमा व्यापारिक सूचना तथा प्रचार सामग्री प्रदर्शन गर्ने प्रचलन रहेको इतिहासमा उल्लेख छ । एक्टा डिउर्ना यसको उदाहरण हो । सन् १४४० मा जोहानेस गुटेनबर्गले आधुनिक छापाखानाको आविष्कार गरेपछि विज्ञापनमा मुद्रित सामग्रीको प्रयोग बढ्यो । त्यसको करिब तीन सय वर्षपछि, सन् १८३५ मा अमेरिकामा पहिलोपटक बिलबोर्ड विज्ञापनको प्रयोग भएको इतिहासको पानामा उल्लेखित छ । त्यसपछि वाह्य विज्ञापन क्रमशः विश्वभर विस्तार हुँदै आज एलईडी स्क्रिन, एनिमेटेड डिस्प्ले र अन्तरक्रियात्मक डिजिटल विज्ञापनसम्म विकसित भएको छ ।
वि.सं. २००७ सालको राजनीतिक क्रान्तिपछि आर्थिक तथा व्यापारिक गतिविधि विस्तार हुँदै जाँदा नेपालमा होर्डिङ बोर्ड, ब्यानरलगायतका आउडोर विज्ञापन सामग्रीको प्रयोग पनि बढ्दै गयो । तर यसको व्यवस्थापनका लागि आवश्यक दीर्घकालीन र व्यवस्थित नीति तथा प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ । फलस्वरूप देशका प्रमुख सहरहरूमा अव्यवस्थित, अनधिकृत र अनियन्त्रित विज्ञापनको समस्या बढ्दै गएको छ ।
आधुनिक विज्ञापन प्रणालीमा वाह्य विज्ञापनले छापा, विद्युतीय र डिजिटल माध्यमबीच समन्वय गर्ने भूमिका खेल्छ । उपभोक्ताले खरिद निर्णय लिनुअघि प्रत्यक्ष रूपमा सन्देश पु¥याउने भएकाले यसलाई विज्ञापनको ‘अन्तिम सम्पर्क माध्यम’ का रूपमा पनि लिइन्छ । प्रविधिको विकास र सामाजिक सञ्जालको विस्तारका बाबजुद वाह्य विज्ञापनको सान्दर्भिकता घटेको छैन । यसको प्रत्यक्ष प्रभाव, निरन्तर उपस्थिति, स्थानीयकरण गर्न सकिने क्षमता र तुलनात्मक लागत प्रभावकारिताका कारण यो अझै प्रभावकारी माध्यमका रूपमा रहेको छ ।
वाह्य विज्ञापनले ब्रान्ड निर्माण र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उपभोक्ताको दैनिक जीवनमा ब्रान्डको निरन्तर उपस्थिति कायम राख्न, नयाँ उत्पादनको प्रचार गर्न, बजारमा विद्यमान उत्पादनको पहुँच विस्तार गर्न र ब्रान्डप्रतिको विश्वास बढाउन सहयोग गर्छ । साथै उपभोक्ता चेतना अभिवृद्धि गर्न पनि यसको उपयोग गर्न सकिन्छ । जनस्वास्थ्य, सडक सुरक्षा, वातावरण संरक्षण र सामाजिक सद्भावजस्ता सार्वजनिक सरोकारका विषयमा जनचेतना फैलाउन पनि वाह्य विज्ञापन प्रभावकारी माध्यम बन्न सक्छ ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायको बजार विस्तारमा समेत यसको भूमिका उल्लेखनिय छ । इन्टरनेट तथा डिजिटल माध्यमको पहुँच अझै सीमित रहेका ग्रामीण र अर्धसहरी क्षेत्रमा यसको महत्व झनै बढी देखिन्छ । पर्यटन प्रवद्र्धनमा पनि विभिन्न पर्यटकीय स्थलमा राखिने सूचना तथा प्रचार सामग्रीले पर्यटकलाई आवश्यक जानकारी दिनुका साथै गन्तव्यको प्रचारमा सहयोग पु¥याउँछ । वाह्य विज्ञापन सार्वजनिक सूचना प्रवाह र सामाजिक उत्तरदायित्वको माध्यम पनि हो । प्राकृतिक विपद्का समयमा सूचना प्रवाह, स्वास्थ्यसम्बन्धी अभियान, निर्वाचन तथा नागरिक शिक्षा, सरकारी योजना र सार्वजनिक सेवासम्बन्धी जानकारी प्रसार गर्न यसको प्रयोग हुँदै आएको छ ।
डिजिटल प्रविधिको विस्तार भए पनि सबै उमेर, वर्ग र समुदायसम्म एकैपटक सन्देश पु¥याउन सक्ने, स्थानीय आवश्यकताअनुसार प्रयोग गर्न सकिने र मुलतः दृश्यबाट प्रभाव पार्ने भएकाले वाह्य विज्ञापनको महत्व अझै कायम छ । तर नेपालको सन्दर्भमा नीतिगत अस्पष्टता, कमजोर कार्यान्वयन, नियामक निकायको प्रभावकारी अनुगमनको अभाव र व्यवसायीको लापरवाही प्रमुख चुनौतीका रूपमा देखिएका छन् । यो आलेखमा ललितपुर महानगरपालिकाको अध्ययनलाई आधार बनाएर नेपालको वाह्य विज्ञापनका समस्या र चुनौतीको विश्लेषण गर्ने जमर्को गरिएको छ ।
ललितपुर महानगरपालिका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको पुरानो सहर हो । पाटन दरबार क्षेत्रसहित यहाँका मन्दिर, पाटी–पौवा, हिटी तथा परम्परागत कला–संस्कृतिले ललितपुरलाई विशेष पहिचान दिएको छ । तर यति महत्वपूर्ण सांस्कृतिक सहरमा वाह्य विज्ञापनको व्यवस्थापन भने सन्तोषजनक देखिँदैन । पंक्तिकारको संलग्नतामा हालै गरिएको एक अध्ययनमा स्थानीय बासिन्दा, व्यापारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र विज्ञापन व्यवसायीसहित १०२ जना सरोकारवालालाई सहभागी गराइएको थियो । अध्ययनले ललितपुरमा वाह्य विज्ञापनको अवस्था, यसले सहरको सौन्दर्य र सुरक्षामा पारेको प्रभाव तथा व्यवस्थापनका चुनौतीबारे अध्ययन गरेको थियो ।
अध्ययनको सबैभन्दा महत्वपूर्ण निष्कर्ष सहरको सौन्दर्यसँग सम्बन्धित छ । ७२.५५ प्रतिशत उत्तरदाताले वाह्य विज्ञापनले ललितपुरको सौन्दर्यमा नकारात्मक असर पारेको बताएका छन् । सकारात्मक प्रभाव परेको मान्नेहरू भने केवल १.९६ प्रतिशत थिए । यसले जथाभावी राखिएका फ्लेक्स, ब्यानर र होर्डिङ बोर्डले सहरको मौलिक स्वरूपमा असर गरिरहेको जनाउँछ । पाटन दरबार क्षेत्र, मन्दिर, पाटी–पौवा, हिटी तथा अन्य ऐतिहासिक संरचनाको आसपास राखिएका अव्यवस्थित विज्ञापनले ललितपुरको सांस्कृतिक पहिचानमै असर पार्ने देखिन्छ । अझ महत्वपूर्ण कुरा, ७२.५५ प्रतिशत उत्तरदाताले महानगरपालिकाले वाह्य विज्ञापनको प्रभावकारी अनुगमन र नियमन गर्न नसकेको धारणा व्यक्त गरेका थिए ।
ललितपुरका मुख्य चोकमा पछिल्लो समय डिजिटल एलईडी स्क्रिनको प्रयोग पनि बढेको छ । यसले विज्ञापनलाई आकर्षक र प्रभावकारी बनाए पनि यसको अनियन्त्रित प्रयोगले ट्राफिक सुरक्षामा जोखिम बढाएको देखिन्छ । अध्ययनमा सहभागी ८०.३९ प्रतिशतले वाह्य विज्ञापनले ट्राफिक सुरक्षामा असर पारेको बताएका थिए । विशेषगरी रातको समयमा अत्यधिक चम्किला स्क्रिनले चालकको ध्यान भङ्ग गर्ने र दुर्घटनाको जोखिम बढाउने सम्भावना देखिएको छ । डिजिटल विज्ञापनको बढ्दो प्रयोगअनुसार आवश्यक मापदण्ड भने अझै स्पष्ट छैन । स्क्रिनको चमक, आवाज, उचाइ, स्थान र सञ्चालन समयबारे स्पष्ट व्यवस्था नहुँदा समस्या बढेको छ । रातको समयमा चमक स्वतः घटाउने प्रणालीको अभाव र चालकको प्रत्यक्ष दृश्यमा पर्ने गरी स्क्रिन राख्ने प्रवृत्ति पनि चुनौतीका रूपमा देखिएका छन् ।
समस्या कहाँ छ ?
नेपालको संविधान २०७२ र विज्ञापन (नियमन) ऐन २०७६ ले स्थानीय तहलाई विज्ञापनको नियमन, स्थान, आकार र कर सङ्कलनसम्बन्धी अधिकार दिएको छ । तर कानुनमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विज्ञापनको आकार, स्थान र प्रकारसम्बन्धी मापदण्ड भए पनि तिनको पालना र अनुगमन कमजोर छ । नियम उल्लङ्घन गर्दा पनि कारबाही नहुने प्रवृत्तिले व्यवसायीमा नियम पालना गर्नैपर्ने बाध्यता कम भएको देखिन्छ । समस्याको अर्को कारण राजस्वमुखी सोच हो । स्थानीय तहले वाह्य विज्ञापनलाई मुख्यतः आम्दानीको स्रोतका रूपमा हेर्ने तर यसको व्यवस्थापन र सहरी सौन्दर्यमा पर्याप्त ध्यान नदिने अवस्था देखिन्छ । अध्ययनमा सहभागी विज्ञापन व्यवसायीले पनि महानगरपालिका राजस्व उठाउन बढी केन्द्रित भएको तर नियमन र सहरी सौन्दर्यमा कम ध्यान दिएको बताएका थिए ।
नेपालको वाह्य विज्ञापन बजार करिब २ अर्ब ३७ करोड रुपैयाँको रहेको अनुमान छ । विज्ञापन बोर्डको अध्ययनअनुसार उचित व्यवस्थापन र नियमन गर्न सके यो बजार १९ अर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने प्रक्षेपाण गरेको थियो । तर तत्कालको राजस्वमा मात्र केन्द्रित हुँदा बजारको दीर्घकालीन विकास र व्यवस्थित व्यवस्थापन ओझेलमा परेको देखिन्छ । यसको असर सहरको सौन्दर्य, नागरिक सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणमा समेत परेको छ ।
पछिल्लो समय डिजिटल स्क्रिनको बढ्दो प्रयोगले नयाँ चुनौती थपेको छ । फ्लेक्स र होर्डिङ बोर्डभन्दा डिजिटल स्क्रिन आकर्षक र प्रभावकारी भए पनि अत्यधिक चमक, ठूलो आकार र गलत स्थानमा राख्दा ट्राफिक सुरक्षा तथा सहरी वातावरणमा असर पर्न सक्छ । तर डिजिटल विज्ञापनका लागि चमक, ध्वनि, स्थान र सञ्चालन समयजस्ता विषयमा स्पष्ट वैज्ञानिक मापदण्ड अझै पर्याप्त छैनन् । प्रविधि तीव्र गतिमा परिवर्तन भए पनि नीति र कानुन सोही गतिमा परिमार्जन हुन नसक्दा नियमन कमजोर बनेको छ । यी सबै समस्याको मुख्य कारण भने पालिकाको इच्छाशक्तिको अभाव हो । कानुन र मापदण्ड हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र उल्लङ्घनमा कारबाही हुन सकेको छैन ।
सम्पदा बचाउन विज्ञापनमा कडाइ
सांस्कृतिक सम्पदाको संरक्षण र विज्ञापन नीतिबीच स्पष्ट तालमेलको आवश्यकता छ । ललितपुरको पाटन दरबार क्षेत्रजस्ता विश्व सम्पदामा सूचिकृत स्थलमा जथाभावी विज्ञापन राख्नु यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई कमजोर बनाउनु हो भन्नेमा धेरैको मत छ । अध्ययनमा सहभागी ८६.२७ प्रतिशत उत्तरदाताले विश्व सम्पदा क्षेत्रमा विज्ञापन पूर्ण रूपमा रोक्नुपर्ने धारणा राखेका थिए । सम्पदा क्षेत्रको आफ्नै ऐतिहासिक पहिचान र सौन्दर्य हुन्छ, जसलाई व्यावसायिक विज्ञापनले ओझेलमा पार्न हुँदैन । त्यसैले यस्ता क्षेत्रलाई विज्ञापनमुक्त क्षेत्र घोषणा गरी सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा ध्यान दिँदा उपयुक्त हुने देखिन्छ ।
वाह्य विज्ञापन व्यवस्थापनमा विभिन्न देशका सहरहरूले प्रभावकारी अभ्यास अघि बढाएका छन् । नेपालका लागि ती अभ्यास उपयोगी हुन सक्छन् । भारतको इन्दौरले सन् २०१६ मा ‘होर्डिङ बोर्डमुक्त सहर’ अभियान सुरु गरेको थियो । अभियानअन्तर्गत मुख्य सडक र चोकबाट अनधिकृत होर्डिङ हटाइयो, डिजिटल स्क्रिनमा कडाइ गरियो र विज्ञापनका लागि निश्चित क्षेत्र तोकियो । व्यवस्थित विज्ञापनसँगै राजस्व सङ्कलनमा समेत सुधार आएको बताइन्छ । भारतकै चण्डीगढले ‘भिजुअल पोलुसन कन्ट्रोल एक्ट’ लागू गरी विज्ञापनको आकार, स्थान, रङ र अन्य मापदण्ड तोकेको छ । नियम उल्लङ्घन गर्नेलाई जरिवानाको व्यवस्था छ । सहरको सौन्दर्य, सार्वजनिक सुरक्षा र नागरिकको जीवनमा असर पार्ने विज्ञापनलाई दृश्य प्रदूषण मान्दै त्यसको नियन्त्रण गरिएको छ ।
चीनका सांघाई, बेइजिङ र सेन्जेनजस्ता सहरले विज्ञापनलाई सहरी योजनाकै एउटा हिस्सा मानेका छन् । सहरको गुरुयोजना बनाउँदा विज्ञापनको स्थान, आकार, प्रकार र सञ्चालन समयसमेत निर्धारण गरिन्छ । अनुमति प्रक्रिया अनलाइनबाट हुने भएकाले प्रणाली बढी पारदर्शी छ । डिजिटल स्क्रिनमा स्वचालित ‘ब्राइटनेस कन्ट्रोल’ प्रयोग गरिन्छ, जसले रातको समयमा चमक घटाएर सवारी सुरक्षामा सहयोग गर्छ । अनुमति, कर र विज्ञापनको अवधि समेत अनलाइनबाट हेर्न सकिने व्यवस्था छ ।
नेपालले के गर्न सक्छ ?
ललितपुरको अध्ययनले ऐतिहासिक सम्पदा क्षेत्र र आधुनिक व्यापारिक क्षेत्रलाई एउटै विज्ञापन नीतिले व्यवस्थापन गर्न कठिन हुने देखाएको छ । क्षेत्रअनुसार फरक मापदण्डसहित वाह्य विज्ञापन निर्देशिका लागू गर्न सकिन्छ । पाटन दरबार क्षेत्र, स्वयम्भू, पशुपति र लुम्बिनीजस्ता विश्व सम्पदा क्षेत्रमा विज्ञापनलाई पूर्ण रूपमा निषेध गर्न सकिन्छ । अध्ययनमा सहभागी ८६.२७ प्रतिशतले पनि सम्पदा क्षेत्रमा विज्ञापन रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस्ता क्षेत्रलाई ‘सम्पदा संरक्षण विशेष क्षेत्र’ घोषणा गरी व्यावसायिक विज्ञापनमुक्त बनाउन सकिन्छ । त्यस्तै, व्यापारिक, आवासीय, औद्योगिक र पर्यटकीय क्षेत्रका लागि छुट्टाछुट्टै मापदण्ड बनाउन सकिन्छ । संवेदनशील क्षेत्रलाई ‘रेड जोन’ र अन्य क्षेत्रमा आवश्यक मापदण्डसहित ‘यल्लो’ वा ‘ग्रीन जोन’मा वर्गिकृत गर्न सकिन्छ ।
यसका साथै ट्राफिक सुरक्षालाई पनि विज्ञापन नीतिसँग जोड्न आवश्यक छ । अध्ययनमा ८०.३९ प्रतिशत उत्तरदाताले वाह्य विज्ञापनले ट्राफिक सुरक्षामा असर पारेको बताएका थिए । सडक निर्माण गर्दा ‘क्लियर भिजन जोन’को अवधारणा लागू गरी चालकको दृष्टिमा अवरोध नहुने स्थान, उचाइ र कोणमा मात्र विज्ञापन राख्न अनुमति दिनुपर्छ । डिजिटल स्क्रिनका लागि चमक, आवाज, आकार, उचाइ, स्थान र स्क्रिन परिवर्तन हुने समयसमेत स्पष्ट मापदण्डमा ल्याउनुपर्छ । विशेषगरी रातको समयमा चमक स्वतः कम हुने प्रविधि प्रयोग गर्न सकिन्छ । यसमा चीनका सहरले अपनाएको प्रणालीबाट नेपालले सिक्न सक्छ ।
एउटै अध्ययनले देशभरीको वाह्य विज्ञापनको नीति कस्तो हुने भन्ने विषयको प्रतिनिधित्व नगर्ला तर यस क्षेत्रमा चाल्नु पर्ने कदमबारे भने यसले घचघच्याउन सहयोग पु¥याउँछ । यस अर्थमा ललितपुरलाई एउटा ‘आँखिझ्याल’ का रूपमा लिन सकिन्छ, जसबाट सहरको समस्या मात्र होइन, समाधानको विकल्प पनि पहिल्याउन सकिन्छ । व्यवस्थित, वैज्ञानिक र नागरिक सहभागितामा आधारित वाह्य विज्ञापन नीति लागू गर्न सके ललितपुरले नेपालका अन्य सहरका लागि उदाहरणिय काम गर्न भने सक्छ ।
(कार्की नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार