काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा देखिएका विभिन्न समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयका सचिवसँग भेट गरी वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।
भेटका क्रममा मलेशियामा सुरक्षागार्डका रूपमा जाने श्रमिकको उमेर हद पुनरावलोकन गरी २२ देखि ५० वर्ष कायम गर्न कूटनीतिक पहल गर्न संघले अनुरोध गरेको छ । यस विषयमा सम्बन्धित मलेशियाली निकायलाई समेत पत्राचार गरिएको संघले जनाएको छ ।
त्यस्तै, पूर्वी मलेशियाका लागि आउने मागपत्र प्रमाणीकरण प्रक्रियामा सहजीकरण गर्न पनि मन्त्रालयसँग आग्रह गरिएको छ । संघले मागपत्र प्रमाणीकरणमा देखिएका प्रक्रियागत कठिनाइका कारण रोजगारदाता तथा व्यवसायीलाई समस्या परेको भन्दै सहज व्यवस्था गर्न माग गरेको हो ।
संघले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको व्यवस्था हटाउन कूटनीतिक पहल गर्नसमेत अनुरोध गरेको छ । उक्त व्यवस्था हटाउन सके श्रमिकको वैदेशिक रोजगारी प्रक्रिया थप सहज र छिटो हुने संघको भनाइ छ ।
यस्तै, वैदेशिक रोजगार व्यवसायीलाई प्रशासनिक नियमन गर्ने क्रममा विभिन्न निकायमा अलग–अलग प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै एकद्वार प्रणाली लागू गर्न संघले माग गरेको छ । व्यवसायीलाई प्रशासनिक झन्झट कम गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली आवश्यक रहेको संघको भनाइ छ ।
संघले यूएईस्थित नेपाली दूतावासबाट रोजगारदाताले पठाउने मागपत्रमध्ये अधिकतम २०० जनासम्मको मात्र प्रमाणीकरण गर्ने स्वैच्छिक व्यवस्थाको समेत पुनरावलोकन गर्न आग्रह गरेको छ । रोजगारदाताबाट प्राप्त हुने जुनसुकै संख्याको मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुपर्ने संघको माग छ ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरि)ले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र सहज बनाउन सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएको बताए । उनले श्रमिकको हितसँगै वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका व्यावहारिक तथा प्रशासनिक समस्याको समाधानका लागि सरकारको सक्रिय पहल आवश्यक रहेको बताए ।