-सन्तोषी रावल
काठमाडौं । नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ । घटना हुँदा केही दिन चर्को बहस हुन्छ, संसदमा आवाज उठ्छ, सामाजिक सञ्जालमा न्यायको माग हुन्छ । तर समय बित्दै जाँदा ती आवाज विस्तारै सेलाउँछन् । पीडित परिवार भने आफ्ना छोरी गुमाएको पीडासँगै न्यायको प्रतीक्षामा बसिरहन्छन् ।
छोरीलाई देवी, लक्ष्मी र घरको इज्जतका रूपमा सम्बोधन गर्ने हाम्रो समाजमा उनीहरूकै सुरक्षा भने अझै गम्भीर चुनौती बनेको छ । कलिलो उमेरमै बलात्कार र हत्याको सिकार भएका बालिकाका घटनाले सुरक्षा संयन्त्र, कानुनी कार्यान्वयन र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएका छन् ।
निर्मला पन्त : अझै नसुल्झिएको पीडा
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना नेपाली समाजले कहिल्यै बिर्सन सकेको छैन । २०७५ साउनमा उनको शव भीमदत्त नगरपालिका–१८ को उखुबारीमा फेला परेको थियो ।
घटनाको अनुसन्धान र न्याय प्रक्रियालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ । निर्मलाको परिवारका लागि भने यो पुरानो घटना होइन, छोरी गुमाएको कहिल्यै नमेटिने पीडा हो । घट्नाबारे अन्योलता र शंका भने कायम नै छ ।
भागरथी भट्ट : विद्यालयबाट फर्किने बाटोमै खोसियो जीवन
बैतडीकी १७ वर्षीया भागरथी भट्ट विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश पैदा गरेको थियो ।
किशोरीका लागि विद्यालय जाने–आउने बाटोसमेत सुरक्षित छैन भने समाजले छोरीहरूको सुरक्षाको जिम्मेवारी कसरी पूरा गरिरहेको छ भन्ने प्रश्न यस घटनाले उठाएको थियो ।
इनिशा बिक : अर्को छोरीको असामयिक अन्त्य
सुर्खेतकी १६ वर्षीया इनिशा बिकको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको घटना पनि पछिल्लो समय चर्चामा आएको गम्भीर घटना हो ।
कलिलो उमेरमा आफ्नै भविष्य निर्माण गर्ने अवस्थामा रहेकी इनिशाको जीवन हिंसाले खोस्यो । यस्तो घटनाले बालिका तथा किशोरीका लागि सार्वजनिक स्थान र समुदाय कति सुरक्षित छन् भन्ने प्रश्न फेरि उठाएको छ ।
सम्झना कामी : बाजुराकी छोरीको पीडा
बाजुराकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना पनि बालिकामाथि हुने जघन्य हिंसाका घटनामध्ये सार्वजनिक रूपमा चर्चामा आएको घटना हो ।
१२ वर्षको उमेर खेल्ने, पढ्ने र भविष्यका सपना बुन्ने उमेर हो । तर त्यही उमेरमा एउटा बालिकाले हिंसाको सामना गर्नुपर्ने समाजका लागि गम्भीर चेतावनी हो ।
रिंकु कुमारी सदा : न्यायको प्रश्न
सिरहाकी १७ वर्षीया रिंकु कुमारी सदाको मृत्यु पनि बलात्कारसँग जोडिएको घटनाका रूपमा सार्वजनिक भएको छ ।
यस्ता घटनाले पीडितको सामाजिक तथा आर्थिक अवस्था जस्तोसुकै भए पनि राज्यले समान रूपमा न्याय र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखाउँछन् ।
गरिमा चौधरी : तीन वर्षमै खोसिएको जीवन
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना झनै हृदयविदारक छ ।
तीन वर्षको उमेरमा बालिकाले संसार बुझ्नसमेत पाएकी हुँदिनन् । उनको हातमा किताब र खेलौना हुनुपर्ने उमेरमा जीवन नै खोसिनु मानवताको चरम विडम्बना हो ।
घटना हुँदा मात्रै किन जाग्छ राज्य ?
कुनै बालिकामाथि जघन्य अपराध हुन्छ । त्यसपछि प्रहरी सक्रिय हुन्छ । नेताहरूले विज्ञप्ति निकाल्छन् । संसदमा विषय उठ्छ । सामाजिक सञ्जालमा न्यायको माग हुन्छ ।
तर केही दिनपछि अर्को घटना समाचार बन्छ र पुरानो घटना ओझेलमा पर्छ ।पीडित परिवारका लागि भने त्यो घटना कहिल्यै पुरानो हुँदैन ।
छोरी गुमाएका आमाबुवाका लागि हरेक दिन उही पीडा हो । उनीहरूका लागि छोरीको फोटो, कपडा, कोठा र सम्झनाले न्यायको प्रश्न उठाइरहेको हुन्छ ।
कानुन कडा भएर मात्र पुग्छ ?
नेपालमा बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका लागि कडा कानुनी व्यवस्था छ । तर कानुनमा व्यवस्था हुनु मात्र पर्याप्त हुँदैन । त्यसको निष्पक्ष र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ । अनुसन्धानमा कमजोरी, प्रमाण संकलनमा लापरबाही, राजनीतिक वा सामाजिक दबाब तथा पीडित परिवारमाथि पर्ने विभिन्न किसिमका प्रभावले न्याय प्रक्रियालाई कमजोर बनाउन सक्छन् । अपराधी जुनसुकै व्यक्ति भए पनि कानुनको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने राज्यको दायित्व हो ।
एउटी छोरीको अन्तिम प्रश्न : ‘मलाई सुरक्षित बाँच्न देऊ’
छोरीलाई देवी भनिन्छ । लक्ष्मी भनिन्छ । तर छोरीलाई देवी भनेर सम्बोधन गर्नु मात्रै पर्याप्त छैन । उनलाई सुरक्षित जीवन दिन सक्नुपर्छ । छोरीको मृत्यु भएपछि न्याय खोज्ने होइन, छोरी जीवित हुँदै सुरक्षित रहने वातावरण निर्माण गर्नुपर्छ । आज निर्मला, भागरथी, इनिशा, सम्झना, रिंकु, गरिमा र यस्ता धेरै छोरीका घटनाले एउटै प्रश्न गरिरहेका छन
“हामीलाई जोगाउने जिम्मेवारी कसको हो ?”
सरकारको ?
सुरक्षा निकायको ?
न्याय प्रणालीको ?
परिवारको ?
वा सम्पूर्ण समाजको ?
जवाफ सबैसँग छ । तर जिम्मेवारी पनि सबैले लिनुपर्छ । कानुन फितलो भएकै कारण अपराधीको मनोबल बढ्दै गएको छ । बालिकामाथि बलात्कार गरी निर्ममतापूर्वक हत्या गरिदैछ । आज गरिमाको न्यायका लागि सडकमा आन्दोलन भइरहेको छ । छिटो न्याय दिन केले रोकेको छ ? एउटी छोरीको जीवन कुनै समाचारको शीर्षक मात्र होइन । त्यो एउटा परिवारको संसार हो । त्यसैले बलात्कार र हिंसाविरुद्धको आवाज घटना भएको केही दिनसम्म मात्र होइन, न्याय नभएसम्म निरन्तर उठ्नुपर्छ ।
छोरीलाई पूजा गर्ने समाज होइन, छोरीलाई सुरक्षित भएर बाँच्न दिने समाज निर्माण गरौँ ।