शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३

नैतिकताको खडेरीमा नेपाली पत्रकारिता : रामप्रसाद ढकालको लेख

शुक्रबार, भाद्र ५ २०८३

पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । राज्यका तीन अङ्गमाथि निगरानी राख्ने र जनताको आवाजलाई सत्तासम्म पु¥याउने भएकाले यसलाई राज्यको ‘चौथो अङ्ग’को उपमा दिइएको छ । सत्य, निष्पक्षता, सन्तुलन, उत्तरदायित्व र जनहित पत्रकारिताका आधारभूत मूल्य, मान्यता हुन् । तर पछिल्ला वर्षहरूमा नेपाली पत्रकारिताको यही मूल्य–मान्यताको जग क्रमशः कमजोर हुँदै गएको देखिन्छ । व्यक्तिपिच्छे मिडिया सञ्चालन गर्ने प्रवृत्ति, बजारमुखी सोच, राजनीतिक हस्तक्षेप, प्रविधिको दुरुपयोग, पत्रकारको पेशागत असुरक्षा तथा सनसनीपूर्ण र सतही सामग्रीको बढ्दो प्रभावले नेपाली पत्रकारिताको व्यावसायिकतामाथि गम्भीर प्रश्न उठाएको छ । समाचारको गहिराइभन्दा आकर्षक शीर्षक, तथ्यभन्दा उत्तेजना र सत्यभन्दा ‘पहिलो हुने’ होड प्राथमिकतामा पर्न थालेको छ ।
डिजिटल युगले पत्रकारितालाई गति दिएको छ । तर यही गति कहिलेकाहीँ पत्रकारिताको सबैभन्दा ठूलो कमजोरी पनि बनिरहेको छ । पाठक र दर्शक तान्ने प्रतिस्पर्धामा समाचारको गुणस्तरभन्दा ‘क्लिक’, ‘भ्यु’ र ‘ट्रेन्ड’ महत्वपूर्ण बन्न थालेका छन् । गहिरो अनुसन्धान, तथ्यको पुष्टि र विश्लेषणात्मक प्रस्तुतिलाई विस्थापित गर्दै छोटा, उत्तेजक र सनसनीपूर्ण समाचार सामग्रीको दबदबा बढ्दै गएको छ । व्यावसायिक पत्रकारिताको पहिलो सर्त नै तथ्यको पुष्टि हो । तर सामाजिक सञ्जालको प्रभावसँगै अपुष्ट, अधुरो र हल्लाका रूपमा रहेका सूचनालाई समेत समाचारको स्वरूप दिने प्रवृत्ति बढेको छ । ‘पहिले छापौँ, पछि सच्याउँला’ भन्ने मानसिकताले पत्रकारिताको गम्भीरता र विश्वसनीयता दुवैलाई कमजोर बनाइरहेको छ ।
पत्रकारिताको छवि धमिलिँदै
भनिन्छ, पत्रकारितालाई समाजको ऐना हो । ऐनाले समाजको वास्तविक मुहार देखाउनुपर्छ । समाज कुन दिशातर्फ गइरहेको छ भन्ने देखाउने, गलत बाटोमा हिँडिरहेको भए सचेत गराउने र सही बाटोमा भए त्यसलाई बलियो बनाउने काम पत्रकारिताको हो ।
आजको नेपाली पत्रकारिता आफैँ कस्तो ऐना बनेको छ भन्ने प्रश्न उठ्न थालेको छ । के यसले समाजको वास्तविक अनुहार देखाइरहेको छ ? के आमसञ्चार माध्यमले नागरिकलाई सही, सन्तुलित र विश्वसनीय सूचना दिइरहेका छन् ? पत्रकारितामा संलग्न भएकाले पेशाप्रति नैतिक र सामाजिक रूपमा जिम्मेवार बहन गरिरहेका छन् ? वर्तमान अवस्थालाई नियाल्दा पत्रकारिताले समाजप्रतिको दायित्व निर्वाह गर्नुभन्दा आफ्नै व्यावसायिक चरित्रमाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको देखिन्छ । समाजको ऐना बन्नुपर्ने मिडियाबाटै कहिलेकाहीँ भ्रम, मिथ्या सूचना र अपुष्ट समाचार फैलिँदा समाज सही बाटोमा हिँड्नुको सट्टा अन्योलको बाटोतर्फ धकेलिएको देखिन्छ । बाटो देखाउनुपर्ने सूचनाले नै समाजलाई बाटो बिराउने अवस्थामा पु¥याउनु पत्रकारिताको गम्भीर विडम्बना हो ।व्यावसायिक पत्रकारिता मूलतः नैतिक पत्रकारिता हो । पत्रकारलाई उसको पेशागत नैतिकताले बाँधेको हुन्छ । कानुन र आचारसंहिताले पनि पत्रकारलाई जिम्मेवार, मर्यादित र व्यावसायिक बन्न निर्देशित गर्छन् । तर पत्रकारितालाई कानुनले मात्र अनुशासित बनाउने विषय होइन । स्वनियमन, सामाजिक उत्तरदायित्व र पेशागत विवेक पनि उत्तिकै महत्वपूर्ण छन् ।
कानुनको कठोर नियन्त्रणले पत्रकारिता र नागरिक पत्रकारिताका क्षेत्रमा थप जटिलता निम्त्याउन सक्छ । त्यसैले पत्रकारिताको सबैभन्दा प्रभावकारी नियमन पत्रकार स्वयंको नैतिक चेतना र स्वनियमन हो । पत्रकार आफैँ जिम्मेवार भएमा बाह्य नियन्त्रणको आवश्यकता कम हुन्छ । तर जब पेशागत विवेक कमजोर हुन्छ, पत्रकारितामा नैतिकताको खडेरी सुरु हुन्छ । र, वर्तमान नेपाली पत्रकारिताको सबैभन्दा जटिल प्रश्नमध्ये एउटा यही नैतिकताको प्रश्न हो । पत्रकारिता पेसालाई मर्यादित, विश्वसनीय र व्यवस्थित बनाउन पत्रकार आचारसंहिता निर्माण गरिएको हुन्छ । नेपालमा नेपाल पत्रकार महासंघको सहमतीमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता जारी गरेको छ । यो कार्यान्वयनमा काउन्सिल र महासंघलगायतका संस्थाहरूको भूमिका रहँदै आएको छ । आचारसंहिताले पत्रकारिताको पेसागत गरिमा, मर्यादा र उत्तरदायित्वलाई संस्थागत गर्ने काम गर्छ । तर पत्रकारिताको सबैभन्दा ठूलो शक्ति कानुन, प्रविधि वा सञ्चारमाध्यमको सङ्ख्या होइन । जनताको विश्वास प्रमुख हो ।
जनताको विश्वास बढ्दै जाँदा पत्रकारिताको प्रभाव र शक्ति पनि बढ्दै जान्छ । तर जब समाचारमाथिको विश्वास घट्छ, पत्रकारिताको प्रभाव पनि क्रमशः क्षीण हुन्छ । विश्वास गुमाएको पत्रकारिता ठूलो आवाज त बन्न सक्छ, तर प्रभावशाली आवाज बन्न सक्दैन । पौराणिक कथनअनुसार रावणको नाभिमा अमृत रहेको मान्यता छ । त्यही अमृतका कारण रावण शक्तिशाली बनेको र नाभिमा रहेको अमृत नष्ट भएपछि उसको शक्ति समाप्त भएको कथा पाइन्छ । पत्रकारिताको शक्ति पनि त्यस्तै केही हो । पत्रकारिताको ‘नाभि’ नैतिकता हो । नैतिकता बलियो रहुन्जेल पत्रकारिताको शक्ति, प्रतिष्ठा र प्रभाव कायम रहन्छ । तर जब नैतिकताको अमृत सुक्दै जान्छ, पत्रकारिताको शक्ति पनि क्रमशः क्षीण हुँदै जान्छ । पत्रकारिताको वास्तविक शक्ति क्यामेरा, माइक्रोफोन, प्रेसकार्ड वा वेबसाइटमा होइन; सत्यप्रतिको प्रतिबद्धता र जनविश्वासमा निहित हुन्छ ।
नैतिकताको अर्थ
पत्रकारितामा नैतिकता भन्नाले सत्य, तथ्यपरक, सन्तुलित, वस्तुगत, निष्पक्ष, भेदभावरहित र विश्वसनीय सूचना तथा सन्देश सम्प्रेषण गर्नु हो । पत्रकारले आफ्नो व्यक्तिगत रुचि, पूर्वाग्रह, राजनीतिक झुकाव, आर्थिक स्वार्थ वा अन्य कुनै प्रभावभन्दा माथि उठेर तथ्यलाई प्राथमिकता दिन सक्नुपर्छ । नैतिक मूल्य आत्मसात् गरेर सामग्री सम्प्रेषण गर्दा पत्रकारिताले एकातर्फ आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्छ भने अर्कातर्फ जनविश्वास कायम गर्दै आफ्नै विश्वसनीयता पनि सुदृढ बनाउँछ । तर सिद्धान्तमा लेखिएका यी मूल्यहरू व्यवहारमा लागू गर्न त्यति सहज छैन । नेपाली समाज स्वयं अभाव, दबाब, प्रभाव र स्वार्थको जालोमा बाँधिएको छ । पत्रकार पनि यही समाजको हिस्सा भएकाले ऊ सामाजिक यथार्थबाट अलग रहन सक्दैन । विशेषगरी सूचना प्रविधिको तीव्र विकासले पत्रकारितामा नैतिकताको प्रश्नलाई अझ जटिल बनाएको छ । एउटा सूचना केही सेकेन्डमै विश्वभर पुग्न सक्छ । गलत सूचना पनि सही सूचनाजत्तिकै तीव्र गतिमा फैलिन सक्छ । त्यसैले अहिले पत्रकारको जिम्मेवारी पहिलेभन्दा झन् बढेको छ । केन्द्रीय पत्रकारिता विभागका विभागीय प्रमुख डा. कुन्दन अर्याल वर्तमान पत्रकारिताका धेरै जटिलतामध्ये नैतिकता र व्यावसायिकता मुख्य विषय रहेको बताउँछन् । शिक्षा, अभ्यास र पाठकको प्रतिक्रियामा आधारित पत्रकारिता पर्याप्त रूपमा हुन नसकेको उनको बुझाइ छ । उनी भन्छन्, “मिडियाहरूले व्यावसायिकता फलो गरेका छैनन्, उनीहरू अझै खरो रूपमा पत्रकारिता गर्न नसकेको अवस्था छ । सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्छ । पत्रकार र पत्रकारिता समाजप्रति जिम्मेवार बन्नुपर्छ ।” प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बरालका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव सिधै मिडियामा परेको छ । त्यसकारण मिडियाको व्यावसायिकता सुधारका लागि पत्रकार महासंघ र नियामक निकायहरूले नेपाली पत्रकारिताको वृद्धि र व्यावसायिकतामा थप ध्यान दिन आवश्यक छ । पत्रकारिता प्रविधिको घेरावन्दीमा परेको उनको ठम्याइ छ । पत्रकारितासमाचार ‘कभर’ गर्ने काम होइन । यो समाजका घटनालाई बुझ्ने, त्यसको सन्दर्भ खोज्ने, तथ्य परीक्षण गर्ने र नागरिकलाई सही सूचना दिने पेशा पनि । तर नेपालमा पत्रकारिताको दक्ष जनशक्ति अभाव बढ्दै गएको छ । दक्ष पत्रकारहरू एकपछि अर्को गर्दै पेसाबाट विस्थापित भइरहेका छन् । कतिपय विदेश पलायन भएका छन् । यसले पत्रकारिताको भविष्यमा थप चुनौती थपेको बरालको बुझाइ छ ।
‘पहिलो’ हुने होड र न्यूज ब्रेकको सङ्कट
आज नेपाली पत्रकारितामा ‘पहिले समाचार दिने’ प्रतिस्पर्धा तीव्र छ । एउटा मिडियाले समाचार ब्रेक ग¥यो भने अर्को मिडिया त्यसलाई पछ्याउँदै तुरुन्तै समाचार सार्वजनिक गर्नुपर्ने दबाबमा हुन्छ । तर समाचारमा पहिलो हुनु र सही हुनु एउटै कुरा होइन । ठूला घटनामा हतारका कारण नेपाली मिडियाहरू पटक–पटक चुकेका छन् । अपुष्ट सूचना प्रकाशन तथा प्रसारण भएका उदाहरण हामीले धेरैपटक देखेका छौँ । एउटा गलत समाचारले केही मिनेटमै हजारौँ मानिसलाई प्रभावित गर्न सक्छ । पछि सच्याइएको समाचारले पनि पहिलो गलत सूचनाले पारेको प्रभाव पूर्ण रूपमा मेट्न सक्दैन । पत्रकारितामा ‘पहिलो’ हुनु उपलब्धि हुन सक्छ, तर ‘सही’ हुनु धर्म हो । नेपालमा पहिलो हुने होडमा कैयौँ मिडियाले आफ्नो व्यावसायिक धर्म बिर्सिएको देखिन्छ । सामाजिक सञ्जालको भ्रम र मिथ्या सूचनाले यो समस्या अझ गम्भीर बनाएको छ । युट्युब, टिकटक र फेसबुकजस्ता प्लेटफर्मबाट फैलिने अपुष्ट सामग्रीले आम नागरिक मात्र होइन, मूलधारका सञ्चारमाध्यमलाई समेत प्रभावित पारिरहेका छन् । बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानका अनुसार नेपाली पत्रकारिताको प्रतिष्ठा गिर्दै गएको छ । यस अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ । पत्रकारिताका गुरु, अभ्यासकर्ता र सरोकारवाला सबै एकै ठाउँमा बसेर इमानदारीपूर्वक आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा छ ।
व्यावसायिक पत्रकारिता कसरी बलियो बनाउने ?
पत्रकारिता सूचना सङ्कलन र प्रसारणको पेसा होइन । यो समाजप्रतिको उत्तरदायित्व पनि हो । त्यसैले हरेक पत्रकार आफ्नो पेशाप्रति इमानदार र जिम्मेवार हुन आवश्यक छ । पत्रकारले आफूले काम गर्ने विषयअनुसार स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका स्रोतसँग संवाद गर्नुपर्छ । तथ्य सङ्कलन गर्नुपर्छ, सम्बन्धित व्यक्तिसँग अन्तर्वार्ता लिनुपर्छ, प्राप्त सूचनाको विश्वसनीयता जाँच्नुपर्छ र समाचार प्रकाशन वा प्रसारणअघि त्यसको तथ्यगत शुद्धता परीक्षण गर्नुपर्छ । विद्युतीय सञ्चारमाध्यम, छापा, अनलाइन प्लेटफर्म पत्रकारितको ‘सत्यको खोजी र समाजप्रतिको उत्तरदायित्व’ आधारभूत धर्म हुन् । दक्ष पत्रकार बन्नका लागि लेख्न जान्नु पर्याप्त हुँदैन । प्रश्न गर्न सक्ने क्षमता, तथ्य पहिचान गर्ने सीप, स्रोतको विश्वसनीयता परीक्षण गर्ने क्षमता, प्रविधिको ज्ञान र नैतिक विवेक पनि आवश्यक हुन्छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने बताउँछन् । साथै पत्रकारितामाथि उठेका प्रश्नको सामना गर्न पनि पत्रकार र मिडिया इमानदार हुनुपर्ने उनको धारणा छ । उनका अनुसार सत्यतथ्यलाई इमानदारीपूर्वक प्रस्तुत गर्नु पत्रकारिताको मूल जिम्मेवारी हो । “पत्रकारिता व्यावसायिक हुनैपर्छ, पत्रकारिता व्यावसायिक भयो भने पाठक, दर्शक र स्रोताको न्याय हुन सक्छ,” उनी भन्छन्, “समाजलाई व्यावसायिक रूपमा सूचना र समाचार पु¥याउनको लागि पत्रकार पनि दक्ष र व्यावसायिक नै चाहिन्छ ।” गाउँलेको भनाइले पत्रकारिताको वर्तमान चुनौतीलाई स्पष्ट रूपमा औँल्याउँछ । दक्षता र नैतिकता एकअर्काका पूरक हुन् । दक्षता नभएको पत्रकारले तथ्य पहिचान गर्न सक्दैन र नैतिकता नभएको पत्रकारले तथ्य पहिचान गरे पनि त्यसलाई सही रूपमा प्रस्तुत गर्न सक्दैन ।
विश्वास फर्काउने कि गुमाउने ?
नेपाली पत्रकारिता अहिले एउटा महत्वपूर्ण मोडमा उभिएको छ । प्रविधिले अभूतपूर्व अवसर दिएको छ, तर त्यही प्रविधिले भ्रम फैलाउने जोखिम पनि बढाएको छ । मिडियाको सङ्ख्या बढेको छ, तर जनविश्वास त्यही अनुपातमा बढेको छैन । समाचारको गति बढेको छ, तर समाचारको गहिराइ कतिपय अवस्थामा घटेको छ । यो अवस्थामा पत्रकारिताले आफैँलाई प्रश्न गर्नुपर्ने समय आएको छ । हामी समाचारको पहिलो स्रोत बन्न खोजिरहेका छौँ कि विश्वसनीय स्रोत ? हामी पाठकलाई सूचना दिइरहेका छौँ कि भ्रम ? हामी सत्तामाथि प्रश्न गरिरहेका छौँ कि सत्तासँग सम्झौता ? हामी समाजको ऐना बनिरहेका छौँ कि समाजलाई नै धमिल्याउने ऐना ? यी प्रश्नको उत्तर पत्रकारले होइन, सम्पूर्ण पत्रकारिता क्षेत्रले खोज्नुपर्छ । पत्रकारिता लोकतन्त्रको पहरेदार हो । पहरेदार स्वयं निदायो भने लोकतन्त्र सुरक्षित रहन सक्दैन । त्यसैले पत्रकारिताको भविष्य प्रविधिको विकासमा होइन, पत्रकारको नैतिक चेतना, व्यावसायिक दक्षता र जनविश्वासमा निर्भर छ । पत्रकारितालाई पुनः विश्वसनीय बनाउन ठूलो लगानीभन्दा ठूलो आवश्यकता इमानदार आत्मसमीक्षाको छ । आचारसंहिता लेखेर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ । कानुन बनाएर मात्र हुँदैन, स्वनियमनको संस्कार विकास गर्नुपर्छ । समाचार छिटो दिएर मात्र हुँदैन, सही सूचना दिनुपर्छ । पत्रकारिताको शक्ति उसको आवाजको ठूलो स्वरमा होइन, त्यो आवाजमाथि जनताले गरेको विश्वासमा हुन्छ । त्यही विश्वास पत्रकारिताको अमृत हो । त्यही अमृतको रक्षा गर्नु आजको नेपाली पत्रकारिताको सबैभन्दा ठूलो नैतिक दायित्व हो । (लेखक पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार