शुक्रबार, असोज ९ २०८३

शुक्रबार, असोज ९ २०८३

दुबईबाटै राहदानी डेलिभरीको सुविधा, यूएईमा पहिलो प्रयास

शुक्रबार, असोज ९ २०८३

युएइ, दुबइ

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले राहदानी सेवामा नयाँ सुविधा थप्दै इमिरेट्स पोस्ट मार्फत राहदानी डेलिभरीको व्यवस्था सुरु गरेपछि यूएईमा रहेका नेपालीहरूमा सहजता थपिएको छ। विशेषगरी दुबईबाट टाढा रहेका रस अल खैमाह, फुजैराह र उम्म अल क्वैन लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि यो सुविधा निकै उपयोगी हुने देखिएको छ।

महावाणिज्यदूतावासले सेप्टेम्बर २५ मा जारी गरेको सूचनाअनुसार नयाँ बनेको राहदानी लिनका लागि पुनः महावाणिज्यदूतावाससम्म आउन समय र यात्रा खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउन इमिरेट्स पोस्ट मार्फत सम्बन्धित आवेदकको ठेगानामै राहदानी डेलिभरी हुने व्यवस्था गरिएको हो। राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फारम भरेर यो सुविधा लिन सक्नेछन्।

राहदानी तयार भएपछि इमिरेट्स पोस्ट मार्फत घरमै डेलिभरी हुनेछ। यसका लागि सेवाग्राहीले VAT सहित १५.७५ दिराम शुल्क तिर्नुपर्नेछ। यो सेवा ऐच्छिक रहने छ।

दुबईमा राहदानीसम्बन्धी कामका लागि टाढाटाढाबाट यात्रा गर्नुपर्ने नेपालीका लागि यो सुविधा समय र खर्च दुवै बचत गर्ने माध्यम बन्ने सेवाग्राहीहरूको भनाइ छ। विशेषगरी कामबाट बिदा मिलाउन कठिन हुने श्रमिक तथा दुबईबाहिरका इमिरेट्समा बस्ने नेपालीलाई यसले प्रत्यक्ष राहत दिने अपेक्षा गरिएको छ। राहदानी लिनकै लागि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्नु आफैंमा महत्वपूर्ण र खुसीको विषय भएको उनीहरूको प्रतिक्रिया छ।

महावाणिज्यदूतावासले पछिल्लो समय श्रमिकमैत्री सेवा तथा सेवाग्राहीलाई सहज हुने विभिन्न पहललाई प्राथमिकता दिएको भन्दै नेपाली समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। दुबईसँगै रास अल खैमाह, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा रहेका नेपालीहरूका लागि पनि कन्सुलर सेवा सहज बनाउने यस्ता पहलले दूतावासप्रतिको पहुँच र विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार