शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुरक्षा गार्डको वर्दीदेखि व्यवसायीसम्म : युएइ मा इहाबको २५ वर्षे यात्रा, जसमा जोडिएका छन् १,००० भन्दा बढी नेपाली

मंगलबार, भाद्र १६ २०८३

युएइ,दुबई- परदेशको यात्रा धेरैका लागि एउटा सामान्य जागिरबाट सुरु हुन्छ। ठूलो पद वा सुविधा हुँदैन, तर परिवारको भविष्य बदल्ने सपना भने ठूलो हुन्छ। इजिप्टबाट २५ वर्षभन्दा बढीअघि संयुक्त अरब इमिरेट्स आएका इहाब अलि अब्देल्घानी अलिको यात्रा पनि यस्तै सामान्य सुरुवातबाट भएको थियो। आज उनी युएइ मा व्यवसायीका रूपमा स्थापित छन् र अरबियन ग्रुप मार्फत आफ्नो व्यावसायिक यात्रा अघि बढाइरहेका छन्। तर उनको कथा केवल व्यक्तिगत सफलताको कथा होइन। यसमा नेपालसँग जोडिएको एउटा विशेष अध्याय पनि छ उनको व्यावसायिक यात्रा र रिक्रुटमेन्य मार्फत १,००० भन्दा बढी नेपाली सुरक्षा कामदार युएइ मा रोजगारीको अवसरसँग जोडिएका छन्।

इहाबले आफ्नो करियर सुरक्षा क्षेत्रमा सेक्युरिटी सुपरभाइजरका रूपमा सुरु गरेका थिए। सुरक्षाकर्मीको ड्युटी, अनुशासन, साइटको सुरक्षा, ग्राहकसँग समन्वय र दैनिक सञ्चालन व्यवस्थापन गर्दै उनले आफ्नो पेशागत यात्रा अघि बढाए। त्यो समय उनको लागि जागिर मात्र थिएन, सिकाइको विद्यालय पनि थियो। मानिस व्यवस्थापन, नेतृत्व, समस्या समाधान र जिम्मेवारी लिन सिक्दै उनी क्रमशः व्यवस्थापन तहमा पुगे। पछि सेक्युरिटी रिक्रुटमेन्ट क्षेत्रमा सक्रिय हुँदै अन्ततः आफ्नै व्यवसाय निर्माण गर्ने अवस्थामा पुगे।

२५ वर्षभन्दा बढी युएइ मा बिताउँदा उनले देशसँगै सुरक्षा उद्योग पनि तीव्र रूपमा परिवर्तन भएको देखेका छन्। पहिले सुरक्षा मुख्यतः जनशक्ति र भौतिक उपस्थितिमा केन्द्रित थियो। अहिले निगरानी, एक्सेस कन्ट्रोल, डिजिटल रिपोर्टिङ , आपतकालीन तदारुकता जस्ता प्रविधि सुरक्षा उद्योगका महत्वपूर्ण हिस्सा बनेका छन्। त्यसैले आजको सुरक्षा गार्डका लागि शारीरिक क्षमता मात्र पर्याप्त नभई कम्युनिकेसन, टेक्नोलोजी , निरिक्षण, रिपोर्ट लेखन जस्ता सीप पनि आवश्यक हुने उनको अनुभव छ।

युएइ मा इहाब र नेपालबीच जोडिएको सम्बन्ध

सुरक्षा तथा रिक्रुटमेन्ट क्षेत्रमा काम गर्ने क्रममा इहाबको नेपालसँगको सम्बन्ध विस्तार हुँदै गयो। नेपाली कामदारसँग वर्षौं काम गरेपछि उनी उनीहरूको मेहनत, अनुशासन र जिम्मेवारीप्रति प्रभावित भए। तर नेपाली कामदारमा उनले सबैभन्दा गहिरो रूपमा देखेको कुरा हो परिवारप्रतिको समर्पण।

युएइ मा काम गर्ने धेरै नेपालीका लागि विदेश आउनुको अर्थ व्यक्तिगत सुख मात्र होइन। नेपालमा रहेका आमाबुबा, श्रीमती, छोराछोरी र परिवारको भविष्य सुरक्षित गर्नु उनीहरूको मुख्य उद्देश्य हुन्छ। कसैले छोराछोरीको पढाइका लागि काम गरिरहेको हुन्छ, कसैले ऋण तिर्न, कसैले घर बनाउन र कसैले परिवारको उपचार तथा दैनिक आवश्यकताका लागि।

इहाबले सामान्य सुरक्षा गार्डका रूपमा युएइ आएका धेरै नेपालीलाई अनुभव र मेहनतका आधारमा वरिष्ठ सुरक्षाकर्मी तथा सुपरभाइजर , मेनेजर बन्दै गएको देखेका छन्। कतिपयले घर बनाए, छोराछोरी पढाए र परिवारको आर्थिक अवस्था परिवर्तन गरे। त्यसैले उनका लागि एउटा जागिर केवल मासिक तलब होइन परिवारको भविष्य बदल्ने अवसर पनि हो। बर्षौंको यही सम्बन्धका क्रममा व्यक्तिगत, आर्थिक, कागजी वा पेशागत समस्यामा परेका नेपाली कामदारलाई सम्भव भएसम्म सहयोग र मार्गदर्शन गर्ने प्रयास पनि उनले गरे। कहिलेकाहीँ सहयोग पैसा होइन; सही प्रक्रिया बुझाइदिनु, समस्या सुनिदिनु वा सम्बन्धित व्यक्तिसम्म पुर्‍याइदिनु पनि महत्वपूर्ण हुने उनको बुझाइ छ।

नेपालीहरूसँगको लामो सम्पर्कले इहाबमा नेपाली संस्कृति र समाजप्रति पनि छुट्टै सम्मान विकास गरेको छ। परिवारप्रतिको समर्पण, ठूलाप्रतिको सम्मान, विनम्रता, सामुदायिक भावना र कठिन परिस्थितिमा पनि मेहनत गर्ने स्वभावलाई उनले नेपालीका विशेषता मानेका छन्। उनी भन्छन म केही भाग नेपाली नै भएको छु। त्यसैले १,००० भन्दा बढी नेपालीसँग जोडिएको रोजगारीको यो संख्या उनका लागि केवल व्यावसायिक तथ्यांक होइन। प्रत्येक संख्याको पछाडि एउटा परिवार, एउटा संघर्ष र एउटा सपना रहेको उनी बताउँछन्।

जहाँबाट सुरु भयो, त्यहीँ अन्त्य हुँदैन’

विदेश जान खोजिरहेका नेपाली युवालाई इहाबको सुझाव पनि उनको आफ्नै जीवनसँग जोडिएको छ। युएइ आउनुअघि तलब मात्र हेरेर निर्णय नगर्न उनी आग्रह गर्छन्। कामको प्रकृति, तलब, कम गर्ने समय, यातायत,बेनिफिटहरु, साथै कन्ट्र्याक्ट का शर्तहरू स्पष्ट रूपमा बुझ्नुपर्ने उनको सुझाव छ। अप्रमाणित एजेन्ट वा व्यक्तिको मौखिक आश्वासनमा विश्वास नगरी सबै कुरा प्रमाणित गरेर मात्र विदेश आउनुपर्ने उनी बताउँछन्।
अंग्रेजी भाषा, सम्भव भए अरबी भाषा, प्रविधि र नयाँ सीप सिक्न सके युएइ मा करियरका अवसर अझ फराकिलो हुने उनको अनुभव छ। उनका लागि सुरक्षा गार्डको पद करियरको अन्तिम बिन्दु होइन। आफूले सेक्युरिटी सुपरभाइजर बाट व्यवस्थापन र व्यवसायसम्मको यात्रा तय गरेकाले मेहनत र निरन्तर सिकाइ भए एउटा सामान्य सुरुवात पनि ठूलो यात्रामा बदलिन सक्ने उनी मान्छन्।

आफ्नो सफलताको मुख्य कारणबारे इहाबको उत्तर सरल छ, निरन्तरता । वर्षौंसम्म निरन्तर सिक्ने, जिम्मेवारी स्वीकार गर्ने र आफूलाई समयअनुसार परिवर्तन गर्ने बानीले उनलाई यहाँसम्म ल्याएको उनको भनाइ छ। त्यससँगै उनी इज्जतलाइ आफ्नो सबैभन्दा महत्वपूर्ण सम्पत्तिमध्ये एक मान्छन्। उनका लागि व्यवसायमा सफलता पैसा मात्र होइन; ग्राहकको विश्वास, कर्मचारीको सम्मान र अरूका लागि अवसर सिर्जना गर्न सक्नु पनि हो।
आफ्नो लिगेसी पनि उनी कम्पनी वा सम्पत्तिले मात्र मापन गर्न चाहँदैनन्। १,००० भन्दा बढी नेपालीलाई युएइ मा रोजगारीको अवसरसँग जोड्न सकेको कुरा उनको यात्राको महत्वपूर्ण हिस्सा हो। तर त्यसको सम्पूर्ण श्रेय आफूले लिन भने उनी चाहँदैनन्। अवसर एउटा पक्ष भए पनि त्यसलाई सफलतामा बदल्ने मेहनत, त्याग र संघर्ष ती नेपाली कामदार स्वयंको भएको उनको बुझाइ छ।

इजिप्टमा जन्मिएका इहाबले युएइलाई आफ्नो कर्मभूमि बनाए। यही भूमिमा उनले आफ्नो करियर बनाए, व्यवसाय खडा गरे र विभिन्न देशका मानिससँग काम गरे। तीमध्ये नेपालीहरू उनको यात्राको विशेष हिस्सा बने।

उनको कथा त्यसैले एउटा इजिप्सियनको युएइ सफलताको कथा मात्र होइन। यो परदेशमा आफूले बनाएको बाटोमा अरूका लागि पनि ढोका खोल्न सकिन्छ भन्ने मानवीय कथा हो।
२५ वर्षअघि सुरक्षा क्षेत्रमा एउटा सामान्य पदबाट सुरु भएको यात्रा आज व्यवसायसम्म पुगेको छ। तर उनको सफलताको वास्तविक उचाइ शायद उनको कार्यालय वा व्यवसायमा मात्र छैन। त्यो उचाइ ती परिवारहरूमा पनि देखिन्छ, जसका कुनै सदस्यले उनको व्यावसायिक यात्रासँग जोडिएको अवसरमार्फत युएइ मा काम गर्ने बाटो पाए।

नेपालबाट हजारौँ किलोमिटर टाढा जन्मिएका इहाब नेपाली होइनन्। तर युएइ मा बिताएका दशकहरूले उनलाई हजारौँ नेपालीका सपना, संघर्ष र परिवारसँग जोडिदिएको छ। र कहिलेकाहीँ मानिसको परिचय उसले जन्मेको देशले मात्र होइन उसले अरूको जीवनमा छोडेको प्रभावले पनि बनाउँछ।

प्रतिक्रिया
सम्बन्धित समाचार