शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

एनआरएनए मध्यपूर्वबाट बाढीपीडितका लागि १ करोड संकलन

सहयोग अभियान जारी,आरसी रमेश श्रेष्ठ,डिआरसी विकास शाही र पूर्ण पोखरियाद्वारा सकेजति सहयोग गरेर विपद्मा पीडितको सहारा बन्दै पुण्य कमाउन आग्रह

शनिबार, भाद्र २० २०८३

काठमाडौं, नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मध्यपूर्वमा रहेका नेपालीहरूले ठूलो आर्थिक सहयोग जुटाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वका क्षेत्रीय संयोजक रमेश श्रेष्ठको पहलमा मध्यपूर्वमा रहेका सातवटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) परिचालन गरी बाढीपीडितका लागि करोड रुपैयाँ संकलन भएको हो ।

विपद्को खबर सार्वजनिक भएलगत्तै श्रेष्ठको पहलमा मध्यपूर्वका विभिन्न देशमा रहेका एनआरएनएका संरचना तथा नेपाली समुदाय राहत अभियानमा जोडिएको थियो । त्यसक्रममा यूएई, कतार, साउदी अरेबिया, बहराइन, कुवेत, ओमान,इराक
लगायतका मुलुकमा रहेका नेपालीले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गरेका छन् ।

एनआरएनए मध्यपूर्वको संस्थागत पहलमा मात्रै करोड रुपैयाँभन्दा बढी रकम जुटिसकेको र सहयोग संकलनको क्रम अझै जारी रहेको डीआरसी विकास शाहीले बताएका छन् । उनका अनुसार प्रारम्भिक चरणमा उल्लेख्य रकम संकलन भए पनि बाढीबाट भएको क्षति र प्रभावित परिवारको आवश्यकता ठूलो भएकाले अभियानलाई निरन्तरता दिइएको हो ।

शाहीले प्रवासमा रहेका नेपालीहरूलाई विपद्को यो कठिन समयमा सकेको सहयोग गर्न आग्रह गरेका छन् । विदेशमा बसे पनि मातृभूमिमा परेको विपत्तिप्रति प्रवासी नेपालीको जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सहयोग अभियानमा थप नेपालीलाई जोडिन आह्वान गरेका हुन् ।

डीआरसी पूर्ण पोखरियाले पनि बाढीपीडितको पीडामा सबै नेपालीले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताएका छन् । विपद्को समयमा आर्थिक सहयोगसँगै मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै पोखरियाले सकेको सहयोग गरेर पुण्य कमाउनसमेत नेपाली समुदायलाई आग्रह गरेका छन् ।

एनआरएनए मध्यपूर्वबाट संस्थागत रूपमा उठाइएको करोड रुपैयाँको सहयोगबाहेक पनि मध्यपूर्वमा रहेका सयौँ नेपालीले विभिन्न माध्यम र व्यक्तिगत पहलबाट ठूलो रकम नेपाल पठाएका छन् । कतिपयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रत्यक्ष रकम जम्मा गरेका छन् भने कतिपयले विभिन्न नेपाली संघसंस्था तथा राहत अभियानमार्फत सहयोग गरेका छन् ।

एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ,डिआरसी विकास शाहीले १११११ लगाएत मध्यपुर्वबाट सयौले
सहयोग गरेका छन् ।
शर्मासहित मध्यपूर्वमा रहेका विभिन्न व्यवसायी, सामाजिक अभियन्ता तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले व्यक्तिगत रूपमा समेत लाखौँ रुपैयाँ सहयोग गरेका छन् । यसले एनआरएनएको औपचारिक अभियानबाहेक पनि मध्यपूर्वबाट बाढीपीडितका लागि उल्लेख्य रकम नेपाल भित्रिइरहेको देखाएको छ ।

मध्यपूर्वमा रहेका नेपालीको सहयोग अभियान रकम संकलनमा मात्र सीमित छैन । बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने, विस्थापित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने तथा प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान अघि बढाइएको हो ।

नेपालमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि अहिले हजारौँ प्रभावित परिवारलाई तत्काल राहतको आवश्यकता छ । कतिपय परिवारले आफन्त गुमाएका छन् भने कतिपयको घर, व्यवसाय तथा आयआर्जनका आधार ध्वस्त भएका छन् । यस्तो अवस्थामा राज्यको प्रयाससँगै स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग पनि महत्वपूर्ण बनेको छ ।

एनआरएनएले समेत बाढीपीडितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि संस्थागत रूपमा सहयोग गर्ने घोषणा गरिसकेको छ । एनआरएनए मध्यपूर्वको अभियान त्यसैको एक महत्वपूर्ण हिस्साका रूपमा अघि बढेको हो ।

मध्यपूर्वमा श्रम र व्यवसायमार्फत आफ्नो भविष्य निर्माण गरिरहेका नेपालीले मातृभूमिमा परेको विपत्तिका लागि आफ्नै कमाइबाट रकम छुट्याएर सहयोग गर्नु प्रवासी नेपालीको देशप्रतिको सम्बन्धको बलियो उदाहरण बनेको छ । संकटका बेला नेपालीहरू जहाँ भए पनि एकजुट हुन्छन् भन्ने सन्देश यस अभियानले दिएको छ ।

विशेषगरी श्रेष्ठको पहलमा सात एनसीसीलाई एउटै अभियानमा जोडेर अघि बढाइएको प्रयासले मध्यपूर्वमा रहेका नेपाली समुदायको सामूहिक शक्ति पनि देखाएको छ । अलग–अलग मुलुकमा रहेका नेपालीलाई एउटै उद्देश्यमा जोडेर राहतका लागि स्रोत परिचालन गर्नु अभियानको महत्वपूर्ण पक्ष बनेको छ ।

अभियान अझै जारी रहेकाले आगामी दिनमा संकलित रकम थप बढ्ने अपेक्षा गरिएको छ । एनआरएनए मध्यपूर्वका पदाधिकारी तथा अभियन्ताहरूले बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग जुटाउनेसँगै प्राप्त सहयोगलाई पारदर्शी र प्रभावकारी रूपमा प्रभावितसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

प्राकृतिक विपत्तिले मुलुकलाई संकटमा पारेका बेला प्रवासमा रहेका नेपालीले देखाएको यो सक्रियताले मातृभूमिसँगको सम्बन्ध भूगोलले टाढा पार्न नसक्ने प्रमाणित गरेको छ । एनआरएनए मध्यपूर्वका सात एनसीसीबाट करोड रुपैयाँ संकलन हुनु, त्यसबाहेक व्यक्तिगत तथा अन्य अभियानबाट समेत ठूलो रकम नेपाल पुग्नुले बाढीपीडितका लागि प्रवासी नेपालीको सहयोगको दायरा अझ व्यापक रहेको देखाएको छ ।

अब आवश्यकता सहयोग जुटाउने मात्र होइन, उक्त सहयोग वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउने हो । त्यसैले एनआरएनए मध्यपूर्वले सुरु गरेको अभियानलाई पारदर्शिता, समन्वय र प्रभावकारी वितरणसँग जोडेर अघि बढाउनुपर्ने देखिन्छ । विपद्को घडीमा प्रवासी नेपालीले देखाएको सद्भावलाई पीडितको जीवनमा वास्तविक राहतमा रूपान्तरण गर्न सके मात्रै यो अभियानको उद्देश्य सार्थक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार