बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

१३ सहरमा ‘सांगीतिक टुर’ गर्दै प्रकाश सपुत, प्रमोद खरेलसहित परम्परा र फिरन्ते

बुधबार, असोज ७ २०८३

काठमाडौं । गायक ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले एकसाथ सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको सांगीतिक टुर देशका सातवटै प्रदेशका १३ प्रमुख सहरमा आयोजना हुने भएको हो । 

असोज १० गते धनकुटाको हिलेबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको हो । जसमा दर्शकहरूले नेपाली संगीतका बहुचर्चित हस्तीहरूको लोकप्रिय तथा नयाँ गीतहरुबाट मनोरञ्जन लिन पाउनेछन् । 

टुरमा कलाकारहरूले दर्शकलाई परम्परागत कन्सर्टभन्दा भिन्न र अविस्मरणीय अनुभव दिलाउने तयारी गरेका छन् । टुरमा प्रकाश सपुतका चर्चित एवं सन्देशमूलक गीतहरूसँगै प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डको ऊर्जावान् लाइभ प्रस्तुति रहनेछ । प्रकाश सपुत यसपटक ट्र्याकमा भन्दा पनि भाका नेपालसहित लाइभ प्रस्तुतिमा देखिनेछन् ।

कार्यक्रमलाई अझ भव्य बनाउन अत्याधुनिक साउण्ड, भव्य लाइट, लाइभ इन्स्ट्रुमेन्ट तथा गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयलाई समेत संयोजन गरिने आयोजकले जनाएको छ । कार्यक्रम निशा पन्थीले सञ्चालन गर्नेछिन् ।

यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई कलाकारहरू सामाजिक उत्तरदायित्वमा समेत जोडिएका छन् । कार्यक्रमको खर्च कटाएर हुने सम्पूर्ण आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रदान गरिने आयोजकले जानकारी दियो ।

यसअघि पोखराबाट सुरु हुने तयारी गरिएको टुर बाढीका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरी हिलेबाट सुरु गर्न लागिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए । उनले भने, ‘यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पुर्‍याउने साझा संकल्प हो ।’

असोज १० मा धनकुटा (हिले) बाट उद्घाटनसहित सुरु हुने सांगीतिक टुर १४ गते तेह्रथुम, १७ खाँदबारी, १९ बर्दिबासमा पुगेर सकिनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुने दोस्रो चरणको कार्यक्रम ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा आयोजना हुनेछ । त्यसपछि पोखरा र धरानसँगै कार्यक्रम सकिनेछ ।

देशका विभिन्न भूगोल र दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पस्कन कलाकारहरूको टोली पूर्ण तयारी समेत सकिसकेको आयोजकले जनाएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार