काठमाडौं(जस)–मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच भएको टेलिफोन संवादप्रति वैदेशिक रोजगार व्यवसायी संघले धन्यवाद व्यक्त गरेको छ । मलेसिया रोजगारीसँग सम्बन्धित विषयमा दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद हुनु सकारात्मक भएको भन्दै संघले यसले लामो समयदेखि देखिएको अन्योल अन्त्य गर्न महत्वपूर्ण आधार तयार गरेको जनाएको हो ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सार्वजनिक गरेको विवरणअनुसार कुराकानीका क्रममा नेपाली कामदारलाई मलेसिया लैजाने प्रक्रियामा एजेन्टको भूमिकासहित भर्ती प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र कामदारको अधिकार तथा कल्याण सुनिश्चित हुने गरी अघि बढाउने विषयमा छलफल भएको थियो । दुई देशका मानव संशाधनमन्त्रीले छिट्टै छलफल गरी नेपाली कामदारको मलेसिया रोजगारीसँग सम्बन्धित विषयमा उपयुक्त समाधान खोज्ने सहमति भएको विषयलाई पनि संघले स्वागत गरेको छ ।
मलेसिया रोजगारीको विद्यमान छनोट प्रणाली, फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) तथा प्रिन्सिपल र सपोर्ट एजेन्सीको भूमिकालाई लिएर व्यवसायीबीच लामो समयदेखि अन्योल र विवाद रहँदै आएको छ। यस्तो अवस्थामा विषयलाई कूटनीतिक तथा संस्थागत संवादमार्फत समाधान खोज्ने वातावरण बनेको संघको बुझाइ छ । संघले नेपाल र मलेसियाका प्रधानमन्त्रीबीच भएको संवाद तथा त्यसपछि सम्बन्धित मन्त्रीस्तरीय छलफलको पहलप्रति दुवै देशका सरकारलाई धन्यवाद दिएको हो ।
संघले दुई देशबीचको श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउँदै नेपाली कामदारको हित, पारदर्शी भर्ती प्रक्रिया र वैदेशिक रोजगार व्यवसायीको स्पष्ट भूमिकालाई सम्बोधन गर्ने गरी समाधान खोजिनुपर्नेमा जोड दिएको छ । मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि सरकार, सम्बन्धित निकाय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको भन्दै संघले आगामी मन्त्रीस्तरीय तथा संयुक्त संयन्त्रका छलफलबाट ठोस निष्कर्ष आउने अपेक्षा गरेको जनाएको छ ।