मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच समझदारी, तीनवटै संस्थाले मिलेर काम गर्ने

मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) बीच मानवीय सहायता, जनस्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, नेपाल रेडक्रसका अध्यक्ष डा. विशाल कुमार भण्डारी र आईएफआरसीका तर्फबाट हेड अफ डेलिगेसन डेभिड फिसरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार नेपालमा विपद् वा जनस्वास्थ्य सङ्कटका बेला नेपाल रेडक्रसको मानवीय कार्यका लागि गैरआवासीय नेपालीहरूबाट कोष सङ्कलनमा सहकार्य गरिनेछ । विदेशमा रहेका गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरूका परिवारबिच पारिवारिक सम्बन्ध कायम राख्न तथा आवश्यक सहयोग पुर्‍याउन पनि तीनवटै संस्थाले मिलेर काम गर्नेछन् । यो समझदारी ३० जुन २०३१ सम्म कायम रहनेछ । यसअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजनाहरू भने छुट्टै सहमतिका आधारमा कार्यान्वयन गरिनेछ । सहकार्यको प्रगति समीक्षा गर्न हरेक वर्ष बैठक बस्ने व्यवस्था गरिएको छ ।
समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले यो सहकार्य नेपालमा मात्र सीमित नभई विश्वभर विस्तार हुने बताए । उनले परोपकार एनआरएनएको प्रमुख प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्दै रेडक्रससँगको सहकार्यले यसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
शर्माका अनुसार एनआरएनएले नेपाल रेडक्रससँग मिलेर हालसम्म ५ वटा ‘ब्लड बस’ परियोजना सञ्चालन गरिरहेको छ भने थप २ वटा बस थप्ने योजना छ । उनले कोभिड–१९ का समयमा कतारमा भएको सहकार्यको उदाहरण दिँदै आगामी दिनमा मलेसिया र मध्यपूर्वका देशहरूमा रहेका नेपाली श्रमिकको हितमा रेडक्रससँग मिलेर काम गर्ने बताए ।
यस्तै, एनआरएनएले आगामी जनवरीमा विदेशमा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई नेपालमा ल्याई एक साताको स्वयंसेवी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यस कार्यक्रममा रेडक्रसले युवाहरूलाई मानवीय कार्यमा जोड्न सहयोग गर्नेछ । आगामी मनसुनका लागि कोष सङ्कलन अभियानलाई पाइलट परियोजनाका रूपमा अघि बढाइने र त्यसका लागि एनआरएनएले छुट्टै वेबसाइट तयार गरिरहेको जानकारी पनि शर्माले दिए ।
आईएफआरसीका प्रतिनिधि डेभिड फिसरले नेपालमा विपद् जोखिम व्यवस्थापन र जनस्वास्थ्यका क्षेत्रमा एनआरएनएको सहभागिता महत्त्वपूर्ण हुने बताए । उनले विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले आफू बसेको देश र नेपाल दुवैका लागि योगदान दिन सक्ने उल्लेख गरे ।
फिसरका अनुसार यो समझदारीले विभिन्न देशमा रहेका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीहरूसँग नेपाली समुदायको सम्पर्क विस्तार गर्नेछ । एनआरएनएका सदस्यहरूलाई रेडक्रसको स्वयंसेवकका रूपमा परिचालन गर्दा मानवीय सेवा थप प्रभावकारी हुने र यसले सुरक्षित नेपाल निर्माणमा सघाउ पुग्ने उनले बताए ।
नेपाल रेडक्रसका अध्यक्ष डा. विशाल कुमार भण्डारीले समझदारीलाई ज्येष्ठ नागरिकको हेरचाह र आप्रवासी श्रमिकको सहयोगमा केन्द्रित गर्नुपर्ने बताए । नेपालमा छोराछोरी विदेशमा र आमाबुबा मात्र घरमा बस्ने परिवारको सङ्ख्या बढ्दै गएकाले ‘हेल्दी एजिङ’ (स्वस्थ बुढ्यौली) कार्यक्रम ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो ।
भण्डारीले रेडक्रसको ७७ वटै जिल्लामा रहेको सञ्जाल र एनआरएनएको विश्वव्यापी पहुँचलाई जोडेर ज्येष्ठ नागरिकको हेरचाहमा काम गर्न सकिने प्रस्ताव गरे । साथै, मलेसिया लगायतका देशमा रहेका नेपाली श्रमिकहरू समस्यामा पर्दा त्यहाँका रेडक्रस सोसाइटीहरूसँग समन्वय गरी सहयोग पुर्‍याउन सकिने उनले बताए । मलेसियन रेडक्रसले यसअघि नै नेपाली आप्रवासीलाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी पनि उनले दिए ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, सचिवहरू अमृता थापा, दीपेश खत्री, प्रमुख संरक्षक डा. बद्री केसी लगायतको सहभागिता थियो । यो समझदारीले एनआरएनएको विश्वव्यापी सञ्जाल र रेडक्रसको मानवीय सञ्जाललाई एउटै टेबुलमा ल्याएको छ । यसले गर्दा भविष्यमा नेपालमा आउने प्राकृतिक विपद् वा स्वास्थ्य सङ्कटका बेला छिटो र प्रभावकारी ढङ्गले स्रोत तथा स्वयंसेवक परिचालन गर्न बाटो खुलेको छ ।
समझदारीले एनआरएनएका राष्ट्रिय परिषद्हरूलाई सम्बन्धित देशका रेडक्रस सोसाइटीहरूसँग जोडिन कानुनी र व्यावहारिक आधार पनि प्रदान गरेको छ । यसबाट विदेशमा रहेका नेपालीहरूको हित रक्षा र उनीहरूलाई मानवीय सेवामा उत्प्रेरित गर्न ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार