काठमाडौं । १२ भदौमा सङ्घीय संसद्मा हुने प्रधानमन्त्री बालेन्द्र शाहसँगप्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ सांसदले प्रश्न दर्ता गराएका छन्।
प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ सांसदले प्रश्न सोध्न पाउने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कोटाका चार सांसदको नाम पठाउन बाँकी छ।
रास्वपाबाट अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले प्रश्न दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरूङ तथा नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले नाम दर्ता गराएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुश्बु ओलीले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन्।
रास्वपाले बाँकी चार सांसदको नाम पठाएपछि प्रश्नकर्ताको संख्या १५ पुग्ने संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारको कामकारबाही, नीति, समसामयिक विषय तथा जनसरोकारका मुद्दामा संसद्मार्फत जवाफदेही बनाउने महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ।