आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३

‘विचार दीपक’को दोस्रो संस्करण विमोचन, चौरासी पूजामा ज्ञान र संस्कृतिको संगम

आइतबार, भाद्र ७ २०८३

कास्की,विद्वत् शिरोमणि प्राध्यापक चतुर्भुज शर्मा पौडेल र उहाँकी धर्मपत्नी शान्तिदेवी पौडेलको अष्ठोत्तर सहस्र चन्द्र दर्शन तथा चौरासी पूजा अवसरमा ‘विचार दीपक’ पुस्तकको दोस्रो संस्करण ‘चौरासी पूजा विशेषाङ्क’का रूपमा विमोचन गरिएको छ।
वैदिक विधिअनुसार चौरासी पूजा सम्पन्न भएपछि आयोजित विशेष समारोहमा पुस्तक विमोचन गरिएको हो। सह–प्राध्यापक डा. विनिता पौडेल गुरागाईंको सभापतित्वमा सम्पन्न समारोहमा गलेश्वर धाम देवघाटका प्रमुख तथा नर्वादे स्वर आश्रमका अध्यक्ष महामण्डलेश्वर अनन्त सरस्वती आत्मानन्द गिरी महाराज प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहमा प्रमुख अतिथि आत्मानन्द महाराजले वैदिक सनातन धर्म, चौरासी पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्व र जीवन दर्शनबारे आशीर्वचन दिनुभयो। उहाँले प्राध्यापक चतुर्भुज शर्मा पौडेलसँगको आत्मीय सम्बन्ध स्मरण गर्दै एउटै माटोमा हुर्किएका शर्मा असल वेदान्त साधक रहेको उल्लेख गर्नुभयो।
पुस्तकका प्रमुख व्यक्तित्व प्राध्यापक चतुर्भुज शर्मा पौडेलले ‘विचार दीपक’ प्रकाशन गर्ने इच्छा नेपाल आएदेखि नै रहे पनि पारिवारिक साथ, सहयोग र समर्थनका कारण लामो समयपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो। अध्ययन, साधना र जीवनअनुभवबाट प्राप्त ज्ञान तथा विचारलाई पुस्तकमार्फत पाठकसमक्ष पुर्‍याउने प्रयास गरिएको उहाँको भनाइ थियो।

पुस्तकका सम्पादक आचार्य जगदीश पौडेलले *‘विचार दीपक’*को पहिलो अङ्क कोभिड–१९ महामारीका क्रममा अनलाइनमार्फत प्रकाशन गरिएको जानकारी दिनुभयो। पहिलो अङ्कमा समेटिएका वेदान्तलगायतका विषयवस्तुलाई पाठकले रुचिपूर्वक अध्ययन गरेपछि यसपटक चौरासी पूजा विशेषाङ्कका रूपमा दोस्रो संस्करण प्रकाशन गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा पौडेल वंश महासंघ नेपालका अध्यक्ष हरिराम पौडेलले पौडेल वंश महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा पौडेल समाजका अग्रज व्यक्तित्वका रूपमा प्राध्यापक चतुर्भुज शर्मा पौडेलले पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो। उहाँले चौरासी पूजा जस्तो महत्त्वपूर्ण अवसरमा *‘विचार दीपक’*को दोस्रो संस्करण प्रकाशन तथा विमोचन हुनु गौरवको विषय भएको बताउनुभयो।
समारोहमा सामाजिक व्यक्तित्व विमल सुवेदीले चौरासी पूजा र पुस्तक विमोचनको सन्दर्भ समेटिएको मुक्तक प्रस्तुत गर्नुभएको थियो।
समापन मन्तव्य राख्दै कार्यक्रमकी सभापति सह–प्राध्यापक डा. विनिता पौडेल गुरागाईंले माता–पिताको सरलता, अनुशासन, माया र जीवनभर प्राप्त प्रेरणाले आफूहरूलाई जीवनको महत्त्व बुझ्न तथा निरन्तर संघर्षशील बन्न प्रेरित गरेको बताउनुभयो। माता–पिता अभिभावक मात्र नभई जीवनका मार्गदर्शकसमेत रहेको उल्लेख गर्दै उहाँले उनीहरूको आशीर्वाद सधैँ परिवारमाथि रहिरहोस् भन्ने कामना गर्नुभयो।
विमोचन समारोहपछि उपस्थित अतिथि तथा निम्तालुहरूले टीका र आशीर्वाद ग्रहण गरेका थिए। सो अवसरमा सहभागीहरूलाई ‘विचार दीपक’ पुस्तकसमेत हस्तान्तरण गरिएको थियो।
समारोहमा परिवारजन, विद्वत् व्यक्तित्व, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्राध्यापक चतुर्भुज शर्मा पौडेलको दीर्घ जीवनयात्रा, अध्ययन, साधना, वैदिक दर्शनप्रतिको समर्पण र जीवनअनुभवबाट प्राप्त विचार समेटिएको *‘विचार दीपक’*को दोस्रो संस्करण चौरासी पूजा विशेषाङ्कका रूपमा प्रकाशन हुनु धार्मिक संस्कारसँगै ज्ञान, संस्कृति र बौद्धिक चेतनाको संरक्षण तथा पुस्तान्तरणको अर्थपूर्ण प्रयासका रूपमा लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार