-सुरेन्द्र नेपाल श्रेष्ठ
वंशजको नागरिकता निरन्तरताका लागि भइरहेका सबै अभियानप्रति मेरो पूर्ण ऐक्यबद्धता छ। यो विदेशमा रहेका नेपाली मूलका नागरिकको भावनासँग मात्र होइन, नेपालको राष्ट्रिय हित र भावी पुस्ताको पहिचानसँग पनि जोडिएको विषय हो। तर अभियानलाई अझ स्पष्ट, व्यापक र प्रभावकारी बनाउन अभियन्ताहरूबीच केही विषयमा गम्भीर छलफल आवश्यक देखिन्छ। मेरा केही सुझाव यस्ता छन् :
१. हाम्रो नागरिकताको समस्या गणतन्त्र आएपछि मात्र सुरु भएको होइन। यसको ऐतिहासिक पृष्ठभूमि वि.सं. २००९ सालदेखि नै जोडिन्छ। त्यसैले समस्याको इतिहास र वास्तविक कारणलाई स्पष्ट रूपमा प्रस्तुत गरौँ।
२. नेपालबाहेक संसारका सबै देशले वंशजको नागरिकता खोस्दैनन् भन्ने धारणा सही होइन। धेरै देशले दोहोरो नागरिकताको व्यवस्था स्वीकार गरेका छन् भने केही देशले स्वीकार गरेका छैनन्। त्यसैले नेपालको समस्या बुझ्दा विश्वका विभिन्न देशको नागरिकता प्रणालीलाई वस्तुगत रूपमा हेर्नुपर्छ।
३. अन्य देशको नागरिकता भए पनि हिजोसम्म नेपाली नागरिकताबाटै काम चलाउँदै आएका थियौँ। अब पुरानो नागरिकता चलाउन नमिल्ने भयो, गाह्रो भयो भन्दै गैरकानुनी काम गरेको स्वीकार गर्नु हुँदैन।
४. वंशजको नागरिकता निरन्तरता माग्नुको मुख्य कारण ‘नेपालमा लगानी गर्न पाउनुपर्छ’ भन्ने मात्र नबनाऔँ। यस्तो तर्कले यो अभियानलाई आर्थिक स्वार्थसँग मात्र जोडेर हेर्ने वातावरण बन्न सक्छ। लगानी गर्ने अधिकार सम्बन्धित कानुनअनुसार छुट्टै सुरक्षित गर्न सकिन्छ।
५. ‘हामीलाई पूर्ण राजनीतिक अधिकार चाहिन्छ’ भन्ने भाषाले पनि कतिपय राजनीतिक दल र नेताहरूलाई अनावश्यक रूपमा सशंकित बनाएको देखिन्छ। राजनीतिक अधिकारको विषय महत्त्वपूर्ण भए पनि नागरिकताको मूल प्रश्नलाई त्यससँग मात्र जोडेर अभियानलाई कमजोर नबनाऔँ।
६. हाम्रो मूल माग सत्ता, सम्पत्ति वा राजनीति होइन भन्ने कुरा स्पष्ट गरौँ। यो आफ्नो पुर्खाको देशसँगको कानुनी र भावनात्मक सम्बन्ध कायम राख्ने विषय हो।
७. हामीलाई पुस्तौँपुस्तासम्म ‘हामी नेपाली वंशज हौँ’ भनेर गर्व गर्ने अधिकार चाहिएको हो। नेपालमा लगानी गर्ने, व्यवसाय गर्ने वा राजनीति गर्ने व्यक्तिले त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने नै छन्। नागरिकताको निरन्तरतालाई ती सबै विषयसँग एउटै डालोमा राख्नु आवश्यक छैन।
८. जुनसुकै कारणले विदेश गए पनि, त्यहाँको नागरिकता लिएपछि सबै त्यही देशका नागरिक हुन्छन्। तर त्यसलाई विभिन्न नाममा वर्गीकरण गर्दै गयौँ भने हाम्रो आवाज आफैँ कमजोर हुन्छ। हाम्रो साझा पहिचान भनेको नेपाली मूल र वंशजसँगको सम्बन्ध हो।
९. वंशजको नागरिकता निरन्तरता हुँदैमा विदेशमा रहेका करोडौँ मानिसको समस्या समाधान हुन्छ भन्ने भ्रम पनि नराखौँ। दोहोरो नागरिकता स्वीकार गर्ने देशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिका लागि यसको प्रत्यक्ष अर्थ हुन्छ। अन्य देशमा बस्नेहरूका लागि छुट्टै संवैधानिक वा कानुनी व्यवस्था आवश्यक पर्न सक्छ।
१०. दोहोरो नागरिकता स्वीकार नगर्ने देशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिका लागि नेपालको संविधानको धारा १४ महत्त्वपूर्ण हुन्छ। त्यसैले धारा १४ लाई प्रभावकारी र व्यावहारिक बनाउने विषयलाई पनि अभियानको अभिन्न हिस्सा बनाउनुपर्छ।
११. वंशजको नागरिकता निरन्तरता भए पनि नेपालको संविधानको धारा २९१ ले नेपाली नागरिकहरूकै अधिकारमा विभेद सिर्जना गर्ने अवस्था रहिरह्यो भने समस्या पूर्ण रूपमा समाधान हुँदैन। त्यसैले यो धारा पुनरावलोकन वा खारेज गर्ने विषयमा पनि गम्भीर बहस आवश्यक छ।
१२. हाम्रो मूल माग पूरा गर्न नागरिकता ऐनको दफा १०(१) मा रहेको व्यवस्थालाई खारेज वा आवश्यक संशोधन गर्न सकियो भने ठूलो कानुनी अवरोध हट्न सक्छ। त्यसैले संविधान संशोधनसँगै प्रचलित नागरिकता कानुनका सम्बन्धित प्रावधानलाई पनि केन्द्रमा राख्नुपर्छ।
१३. अभियानले भावनासँगै तथ्य, संविधान, ऐन र सर्वोच्च अदालतका फैसलालाई पनि आधार बनाउनुपर्छ। ‘हामीमाथि अन्याय भयो’ भन्ने भावनात्मक तर्कसँगै ‘कुन कानुनका कारण कसरी अन्याय भयो र त्यसको समाधान कुन कानुनी बाटोबाट सम्भव छ?’ भन्ने प्रश्नको स्पष्ट उत्तर दिन सक्नुपर्छ।
१४. यो कुनै दल, व्यक्ति वा समूहविरुद्धको अभियान होइन। आज विदेशमा रहेका नेपालीका लागि उठाइएको यो प्रश्न भोलि नेपालबाट विदेश जाने नयाँ पुस्ताको पनि प्रश्न बन्न सक्छ। त्यसैले अभियानलाई गैरदलीय, समावेशी र दीर्घकालीन राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनु उपयुक्त हुन्छ।
१५. अन्ततः हाम्रो अभियानको मूल सन्देश सरल हुनुपर्छ।हामी जहाँ बसे पनि, जुन देशको नागरिक भए पनि, आफ्नो नेपाली वंशजको पहिचान र नेपालसँगको सम्बन्ध पुस्तौँसम्म कायम राख्न चाहन्छौँ। हामी नेपालमा राजनीति गर्न वा सम्पत्ति जोड्न मात्र नागरिकता खोजिरहेका होइनौँ। आफ्नो पुर्खाको देशसँगको कानुनी र ऐतिहासिक सम्बन्ध नटुटोस् भन्ने चाहना राखिरहेका हौँ।
त्यसैले अभियानले मागलाई धेरै फैलाएर जटिल बनाउनुको सट्टा ‘वंशजको पहिचान र नागरिकता निरन्तरताको अधिकार’ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। लगानी, सम्पत्ति, व्यवसाय र राजनीतिक अधिकारका प्रश्नहरू सम्बन्धित कानुनले अलग्गै सम्बोधन गर्न सक्छन्। मूल मुद्दा भनेको विदेशमा नागरिकता लिएर बसेकै कारण नेपाली वंशजको पुस्तौँदेखिको सम्बन्ध अन्त्य नहोस् भन्ने हो। ( लेखक एन आर एनका पूर्व केन्द्रिय सल्लाहाकार हुन।)-हाल विन्जर, यूके