काठमाडौं(जस)–पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री–ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको छ । मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिंगमार्फत नेपाल प्रवेश गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरे । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुआत भएको छ ।
मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भूभागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको जनाइएको छ । इन्टरनल कम्बसन इन्जिन (आईसीई) भएका सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सहुलियतले पेट्रोलबाट चल्ने थ्री–ह्विलरबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण हुने चालक तथा यात्रुका लागि यसको आर्थिक लाभ हुने कम्पनीको दाबी छ ।
९ केडब्लूएच ब्याट्री प्याक र पीएमएसएम मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट ६० एनएम टर्क प्रदान गर्ने र यसले एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ । साढे चार घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्ने, विभिन्न ड्राइभ मोडले फरक–फरक लोड र सडक अवस्थाअनुसार सवारी चलाउन सहज बनाउने कम्पनीको दाबी छ । यी मोडले शक्तिको सहज वितरण सुनिश्चित गर्दै परम्परागत गियरमा आधारित सवारीसाधनमा अनुभव हुने झट्का कम गर्नेछ ।
यसमा यात्रु तथा चालक दुवैलाई ध्यानमा राखेर तयार गरिएको एर्गोनोमिक डुअल–टोन सिट, प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन र थप हेडरुम तथा लेगरुमका कारण सुपर अटो लामो दूरीका यात्राका लागि समेत आरामदायी रहेको जनाइएको छ । नेपालमा सुपर अटोको मूल्य आठ लाख ६४ हजार ९०० तोकिएको छ । सुपर अटो सार्वजनिक कार्यक्रममा हिप्को ट्रेडिंगका निर्देशक हिमांशु गोल्छाले नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड भएको र लामो समयदेखि आर्थिक विकासको मूल्य ठूलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएको बताए । “सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो,” उनले भने, “देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ ।”
टीआई क्लिन मोबिलिटीका अध्यक्ष अरुण मुरुगप्पनले मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गरेको बताए । कम्पनीका प्रबन्ध निर्देशक जलज गुप्ताले भारतको तीव्र रूपमा बढिरहेको इलेक्ट्रिक कमर्सियल भेहिकल क्षेत्रमा मोन्ट्रा इलेक्ट्रिक अग्रणी कम्पनीका रूपमा स्थापित रहेको बताए । हिप्कोका निर्देशक सिद्धार्थ जजोडियाले नेपालमा उच्च प्रदर्शनयुक्त सुपर अटो यात्रुवाहक सवारीसाधनको सुरुआतले कम्पनीको महत्वाकांक्षी विश्वव्यापी योजनाको सुरुवात भएको बताए ।