बुधबार, साउन २७ २०८३

बुधबार, साउन २७ २०८३

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

बुधबार, साउन २७ २०८३

काठमाडौं(जस)–एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ । यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न संगठनहरूका लागि लक्षित छ । नेपाली व्यवसायहरू डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ । एनसेल बिजनेस क्लाउडसुइटको उपभोग गर्दै ग्राहकहरूले एकीकृत प्लेटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन् । यस प्लेटफर्मले डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन सुविधाहरू पनि समेट्छ ।
यो प्लेटफर्मले व्यवसायको विभिन्न विकास चरणअनुसार व्यावसायिक वेब होस्टिङ विकल्पहरू प्रदान गर्छ । विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै एनसेलले उपलब्ध गराएको सेवा मार्फत ग्राहकहरूले अब नेपाली मुद्रामै भुक्तानी गर्न सक्नेछन् । एनसेलले यी सेवाहरूका लागि दुई वटा प्याकेज उपलब्ध गराएको छ । मासिक १,००० रूपैयाँ पर्ने बेसिक प्याकेजले व्यवसायलाई अनलाइन उपस्थिति स्थापना गर्न सहज र भरपर्दो समाधान उपलब्ध गराउँछ । यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू समावेश छन् ।
त्यस्तै प्रो प्याकेज बढ्दो डिजिटल आवश्यकता पूरा गर्न तयार गरिएको छ । यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू उपलब्ध छन् । यो प्याकेजको मासिक २,००० रूपैयाँ पर्छ । एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओ भने, ‘एनसेल बिजनेस क्लाउडसुइटको आगमन नेपालका धेरै भन्दा धेरै व्यवसायहरूलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन मद्दत गर्ने महत्त्वपूर्ण कदम हो । डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार हो ।
स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङलाई जोडेर हामी व्यवसायहरूलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहज बनाउँदै छौँ। क्लाउडसुइटको पहिलो चरणमा हामीले डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरेका छौँ किनकि यी सेवाहरू डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि सबैभन्दा मुख्य आवश्यकता हुन् । एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा नेपालभित्रै होस्टिङ हुन्छ अनि डेटा पनि नेपालमै रहन्छ । यसको प्रयोगले ग्राहकहरूलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा उपलब्ध गराँउछ । यसबाट व्यवसायहरूले आफ्नो डेटामा बढी नियन्त्रण स्थापित गर्न सक्छन् र नियामक आवश्यकताहरू पूरा गर्न सहज हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार