बुधबार, साउन २७ २०८३

बुधबार, साउन २७ २०८३

‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री तथा पुनर्खरिद सुरू

बुधबार, साउन २७ २०८३

काठमाडौं(जस)–गरिमा म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’का इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ । गरिमा विकास बैंक लिमिटेडको प्रवद्र्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित योजनाले लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले साउन २६ गतेदेखि नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको गरिमा म्युचुअल फण्डअन्तर्गत ‘गरिमा सुवर्ण योजना’ पहिलो खुलामुखी योजना हो । नयाँ अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट रूपमा इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, व्यवस्थित लगानी योजना अर्थात् एसआईपी मा दर्ता हुन, एसआईपीको किस्ता भुक्तानी गर्न तथा लाभांश पुनःलगानी योजनामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी, लगानीकर्ताले अनलाइन प्रणालीमार्फत आफ्नो दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन गर्न सक्नेछन् । इकाई पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्ने सुविधा पनि अनलाइन प्रणालीमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । योजनासँग सम्बन्धित अन्य अनलाइन सुविधाहरू पनि क्रमशः थप गर्दै लैजाने योजना रहेको गरिमा क्यापिटलले जनाएको छ । अनलाइन सेवाका अतिरिक्त योजनासँग सम्बन्धित सम्पूर्ण सेवाहरू काठमाण्डौको कमलपोखरीस्थित योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंक लिमिटेडका देशभर रहेका शाखा कार्यालयबाट समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार