शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

नाट्टा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको उम्मेदवारीप्रती ब्याबसायीको भरोसा,युवा ऊर्जा र अनुभवी नेतृत्वको जोडी

शनिबार, साउन २३ २०८३

काठमाडौं ,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।पर्यटन क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजन गर्ने उद्देश्यसहित भण्डारी-ढकाल जोडीले आफ्नो टिम अघि सारेको हो। बदलिँदो पर्यटन बजार र व्यवसायीका व्यावहारिक समस्यालाई नजिकबाट बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले नाट्टालाई थप व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्षकी उम्मेदवार युविका भण्डारी पर्यटन क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। नाट्टाको नेतृत्वमा नयाँ पुस्ताको सहभागिता बढाउँदै संस्थालाई समयअनुकूल बनाउने, सदस्य व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने तथा सरकारसँग नीतिगत पैरवीलाई प्रभावकारी बनाउने उनको मुख्य प्राथमिकता छ।

महासचिवका उम्मेदवार कृष्णप्रसाद ढकाल पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी हुन । ठमेलस्थित ‘डिजायर नेपाल ट्रेक्स, ट्राभल एन्ड टुर्स’का अध्यक्ष रहेका ढकाल ट्रेकिङ, सांस्कृतिक पर्यटन, साहसिक यात्रा, हवाई टिकटिङ तथा अन्तर्राष्ट्रिय पर्यटन सहकार्यमा लामो समयदेखि सक्रिय छन्।

नाट्टाको बोर्ड सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका ढकालले संस्थाको आन्तरिक संरचना, चुनौती र सदस्य व्यवसायीका समस्यालाई नजिकबाट बुझेका छन । ३० भन्दा बढी देशको भ्रमण तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँगको प्रत्यक्ष अनुभवले उनलाई विश्व पर्यटनका बदलिँदा प्रवृत्ति, नयाँ सम्भावना र प्रतिस्पर्धाबारे व्यवहारिक ज्ञान छ।
सदस्यको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको
भण्डारी–ढकाल टिमले नाट्टालाई सदस्य केन्द्रित, प्रविधिमैत्री र परिणाममुखी संस्था बनाउने एजेन्डा अघि सारेको छ। सदस्य व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी सचिवालय निर्माण, नयाँ अन्तर्राष्ट्रिय बजार तथा गन्तव्यको खोजी, पर्यटन प्रवद्र्धनमा सहकार्य, युवा नेतृत्व विकास र व्यवसायीको क्षमता अभिवृद्धिलाई टिमले प्राथमिकतामा राखेको छ।

त्यस्तै, हवाई टिकटिङ तथा हवाई यातायातका समस्या, डिजिटल प्रविधिको तीव्र विस्तार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, पर्यटकको बदलिँदो रुचि र पर्यटनसम्बन्धी नीतिनिर्माणमा निजी क्षेत्रको प्रभावकारी सहभागिताका लागि सशक्त पैरवी गर्ने प्रतिबद्धता पनि टिमले जनाएको छ।

अनुभव र नयाँ सोचको संयोजनका रुपमा यो टिमलाई हेरिएको छ ।
नाट्टाको आगामी नेतृत्वका लागि केवल पदभन्दा पनि दृष्टिकोण, अनुभव र परिणाम दिने क्षमता आवश्यक रहेको भण्डारी-ढकाल टिमको भनाइ छ। अध्यक्षमा युवा व्यवसायी युविका भण्डारी र महासचिवमा संस्थागत अनुभव बोकेका सफल युवा ब्याबसायी कृष्णप्रसाद ढकालको उम्मेदवारीलाई समर्थकहरूले युवा ऊर्जा र अनुभवी नेतृत्वको संयोजनका रूपमा हेरेका छन्।

पर्यटन व्यवसायीका वास्तविक समस्या बुझ्ने, सदस्यलाई केन्द्रमा राखेर निर्णय गर्ने र प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्ने नेतृत्व अहिले आवश्यक रहेको भन्दै भण्डारी-ढकाल टिमले आफूलाई नाट्टाका व्यवसायीका लागि विश्वासिलो र व्यावसायिक विकल्पका रूपमा प्रस्तुत गरेकोले यो टिमलाई पर्यटन ब्याबसायीले बिश्वास र भरोसाका साथ हेरेको छ ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि आगामी साउन २९ गते (१४ अगस्ट २०२६) निर्वाचन हुँदैछ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहले आ-आफ्ना उम्मेदवार र एजेन्डा सार्वजनिक गरिरहेका छन्। यही प्रतिस्पर्धाबीच अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको जोडीले युवा पुस्ताको सक्रियता, व्यवसायिक अनुभव र संस्थागत सुधारलाई एकै ठाउँमा जोडेर व्यवसायीको भरोसा जित्ने अभियान अघि बढाएको छ।

सार्वजनिक गरिएको प्यानलअनुसार अध्यक्षमा युबिका भण्डारी, वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धकनाथ काफ्ले,महासचिवमा कृष्ण प्रसाद ढकाल,सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल तथा सह–कोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार रहेका छन ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेन्द्रप्रसाद त्रिपाठी, प्रदीपप्रसाद उदय, बिवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता तथा होमबहादुर परियार रहेका छन ।
यसपटकको निर्वाचनमा भन्डारीसङ्गै अन्य दुई प्यानल पनि सार्वजनिक गरिएको छ ।
अन्य प्यानलमा भरत जङ्ग पाण्डे र जिस्वन तुलाधर श्रेष्ठ रहेका छन । उनिहरुले पनि प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट