सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

सोमबार, साउन ११ २०८३

काठमाडौं,युवा गैरसरकारी संस्था महासंघ नेपाल (युथ एनजीओ फेडेरेसन नेपाल) को केन्द्रीय सदस्यमा युवा अभियन्ता राजेन्द्र अधिकारी मनोनीत भएका छन्। झन्डै दुई दशकदेखि युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय महासंघले अधिकारीलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको हो।

वि.सं. २०६५ सालमा स्थापना भएको महासंघमा देशभरका २ हजार १०० भन्दा बढी युवा संस्थाहरू आबद्ध रहेका छन्। महासंघले युवा अधिकार, सुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता अभिवृद्धि गर्दै आएको छ।

केन्द्रीय सदस्यमा मनोनयन भएपछि अधिकारीले यो अवसरलाई सम्मानसँगै ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। युवाको क्षेत्रमा आफूले लामो समयदेखि गर्दै आएको निरन्तर योगदानको कदर भएको अनुभूति भएको उल्लेख गर्दै उनले गाउँदेखि सहर, टोलदेखि सिंहदरबार तथा स्थानीय तहदेखि केन्द्रीय तहसम्मको युवा अभियानमा साथ, सहयोग र विश्वास गर्ने सबै अग्रज, सहयात्री तथा युवाप्रति आभार व्यक्त गरेका छन्।

उनले महासंघका अध्यक्ष नारायण गिरी, महासचिव रबिन्द्र लामिछाने लगायत सम्पूर्ण केन्द्रीय नेतृत्व, पदाधिकारी र महासंघ परिवारप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको उद्देश्य, मूल्य र अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि महासंघको दैलेख जिल्ला संयोजक को जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका अधिकारीले अब केन्द्रीय सदस्यका रूपमा युवा अधिकारको संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि, सामाजिक रूपान्तरण तथा राष्ट्र निर्माणमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न इमान्दार, सक्रिय र समर्पित भएर काम गर्ने बताएका छन्।
उनले आगामी दिनमा पनि सम्पूर्ण अग्रज, शुभेच्छुक, साथीभाइ तथा युवा अभियानका सहयात्रीहरूको निरन्तर साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा गर्दै सबैको भरोसालाई परिणाममुखी काममार्फत सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार