काठमाडौँ । सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सोमबार दिनभर जिल्लाको जनजीवन त्रसित र तनावपूर्ण बन्यो । घटनामा कमजोरी औँल्याउँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कोशी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहितका सुरक्षा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरेको छ ।
आइतबार राति सुरु भएको विवादमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि प्रदर्शनकारी झनै आक्रोशित बने । प्रदर्शनकारीले सोमबार दिनभर विभिन्न स्थानमा तोडफोड र आगजनी गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गर्यो ।
साउनको सोमबारका लागि बोलबम यात्रामा निस्कने तयारीमा रहेको एक समूहले डिजे बजाएको र धार्मिक झण्डा राख्ने विषयलाई लिएर आइतबार राति ९ बजेतिर देवानगन्ज–३ कप्तानगन्जमा विवाद सुरु भएको थियो । बिजुलीको पोलमा एउटा समुदायको झण्डा हटाएर अर्को पक्षले आफ्नो झण्डा राखेपछि दुई पक्षबीच झडप भयो । सामान्य भनाभनबाट सुरु भएको विवादले केहीबेरमै हिंसात्मक रूप लियो । दुवै पक्षबाट लाठी, ढुङ्गा र भाला प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरेको थियो । सोही क्रममा गोली लागेर मेहताको मृत्यु भयो भने अन्य ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भए ।
घटनाले उग्र रूप लिएपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाएको छ । यस्तै, कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाउँदै उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेलाई भैरहवा विमानस्थलमा सरुवा गरी उनको ठाउँमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ । सशस्त्र प्रहरीको कप्तानगन्ज युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर मदन नाथलाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय समिति समेत गठन गरेको छ ।
सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले लौकी, भोक्राहा र इनरुवा खण्डमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रशासनले राजमार्ग क्षेत्रमा समेत कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारीले सोमबार सूचना जारी गर्दै राति ९ बजेदेखि लागू हुने गरी राजमार्गको ५०० मिटर दायाँ–बायाँ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश दिएका छन् । आदेश अनुसार इनरुवा, कोशी ब्यारेज र आसपासका क्षेत्रमा भेला हुन, जुलुस निकाल्न र सभा गर्न पूर्ण रोक लगाइएको छ ।
कर्फ्यु उल्लंघन गर्नेलाई एक हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कप्तानगन्ज लगायतका क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई समेत दिइएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले सुनसरी घटनाप्रति चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको छ । आयोगको कोशी प्रदेश कार्यालयले गरेको प्रारम्भिक अनुगमन अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आयोगले राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
सुनसरीमा भएको यो साम्प्रदायिक तनावको असर छिमेकी जिल्ला सिरहा र मोरङको विराटनगर क्षेत्रमा पनि देखिएको छ । हाल सुनसरीका मुख्य बजार र यातायात क्षेत्र ठप्प छन् भने सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । सरकारले संवादमार्फत विवाद समाधान गर्न र दोषीमाथि कडा कारबाही गर्न प्रतिबद्धता जनाएको छ ।