आइतबार, फाल्गुन १ २०७८
तिलु शर्मा पौडेल
दोहा, कतार / गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारले आदिवासी जनजाति समुदायको राष्ट्रिय चाड पर्वहरू एकमुष्टरूपमा मनाएको छ । संघले माघ्या सकराटी (मिनाम सार ल्हेस), चासोक तङ्नाम, बलिहाङ तङ्नाम, तमु ल्होसार, साकेला उँधौली, मञ्जुश्री सम्वत २८५८, सोनाम ल्होछार, माघी जितिया पर्व, रापावा श्यादर पिदार, येले सम्बत ५०८२, प्हुगाल पारिम, म्ह पूजा, ल्यापव दुक्षेन, लदी कोसी पूजा, ग्याल्पो ल्होसार,सिरुवा पावुन, नयाँ खुवा, लि:ल. ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित सबै आदिवासी जनजातिको पर्वहरु एकिकृतरुपमा मनाएको हो ।
संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत लक्ष्मण प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नियोगका अन्य अधिकारीसहित जनजाति महॉसंघमा आबद्ध विभिन्न सामुदायिक संस्था तथा कतारमा स्थापित अन्य थुप्रै सस्थाका अध्यक्ष तथा पदाधिकारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले यस्तै सामूहिक कार्यक्रमले सद्भाव र भावनालाई जोड्ने बताए । उनले नेपालमा १२५ थरका जातजाति र १२९ वटा भाषाको अभिलेख रहेको बताउँदै नेपालीहरूमा विविधता रहेको बताए । उनले सन २०२२ को अन्त्यसँगै कतारमा हुने वर्ल्डकप (फुटबल) मा नेपाल र नेपाली समुदायका विभिन्न झाँकीको माग भई आएको जानकारी दिँदै उक्त स्थानमा झाँकी लिएर जान एनआरएनए कतारले नेतृत्वदायी भूमिका निर्वाह गर्न नचुक्ने विश्वास व्यक्त गरेका थिए ।
आफ्नो शुभकामना मन्तव्यका क्रममा एनआरएनए आइसिसीका सचिव आरके शर्माले नेपाल आफैमा धेरै पर्यटकीय सम्भावना बोकेको देश रहेको हुँदा यस्ता किसिमका कार्यक्रमले आत्मीयता तथा भाइचारा बृद्घि सँगसँगै पर्यटनका लागी पनि प्रचार प्रसार हुने बताए । कार्यक्रममा नेपाली दूतावासका तर्फबाट अलदोसरी पार्कका व्यवस्थापकलाई एक कदर पत्रद्वारा सम्मान गरिएको थियो । नेपाली समुदाय प्रति दोसरीले देखाएको सदासयताका लागि उक्त कदर पत्र प्रदान गरिएको हो ।
आदिवासी जनजाति महासंघ कतार तथा महासंघमा आबद्ध चेलीबेटीहरूले आफ्नो समुदायको परम्परा अनुसार आयोजक तथा कार्यक्रमका सभापति, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई फेटाद्वारा सम्मान गर्दै कोसेली प्रदान गरेका थिए । सामाजिक संघ संस्थाका तर्फबाट टेकराज थापाले शुभकामना मन्तव्य राखेका थिए भने सात वटै प्रदेशको तर्फबाट मधेस प्रदेश समन्वय परिषद्का अध्यक्ष साकिर अलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शेर्पा घेदुङ कतारका अध्यक्ष तेन्जी शेर्पाले आफ्नो समुदायले मनाउने ग्याल्बो ल्होसारको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा शेर्पा समुदायको संस्कार झल्किने गरी शेर्पा सेब्रुक झाँकी प्रस्तुत गरिएको थियो । सुनुवार सेवा समाजद्वारा पनि आफ्नो समुदायको संस्कार झल्कने सॉदरशिल झाँकी प्रस्तुत गरिएको थियो भने झाँकीका बारेमा शाम सुनुवारले प्रष्ट पारेका थिए । समाजका अध्यक्ष शेर बहादुर सुनुवारले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । झाँकी प्रस्तुत गर्ने क्रममा किरात राई यायोक्खा शाखा कतारले आफ्नो समुदायको साकेला झाँकी प्रस्तुत गरेको थियो भने अध्यक्ष शंकर राईले त्यसको महत्त्वका बारेमा चर्चा गरेका थिए । त्यस्तै मगर सघ शाखा कतारले कौरा तथा चुटका नृत्य सहित झाँकी प्रस्तुत गरेको थियो भने सघका अध्यक्ष विवेक पुलामी मगरले शुभकामना मन्तव्य राखेका थिए ।
थारु कल्याणकारी समाज कतारले मौलिक झाँकी तथा नृत्य प्रस्तुत गरेको थियो । नृत्यका बारेमा श्यामलाल चौधरीले स्पष्ट पार्दै शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै तमु समाज तथा तमु प्ये ल्हु संघ कतारका तर्फबाट छ्याटू झाँकी प्रस्तुत गरिएको थियो । झाँकीका बारेमा तमु प्ये ल्हु संघका दित्तीय उपाध्यक्ष राम बहादुर गुरुङले प्रष्ट पारेका थिए भने तमु गुरुङ समाजका अध्यक्ष खुसीमान गुरुङले शुभकामना मन्तव्य राखेका थिए । किरात याक्थुङ चुम्लुङले पनि आफ्नो (केलाङ) च्यापदुङ नाच प्रस्तुत गरेको थियो भने चुम्लुङका द्वितीय उपाध्यक्ष योगेन लिम्बुले नृत्यका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष हर्क खुजुङले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै नेपाल प्रवासी तामाङ समाज कतारले पनि आफ्नो झाँकीसहित नृत्य प्रस्तुत गरेको थियो ।
प्रवासी भुजेल समाजले पनि आफ्नो झाँकी सहित नृत्य प्रस्तुत गरेको थियो । प्रवासी भुजेल समाजका अध्यक्ष विनोद भुजेल, ताजपुरीया समाजका अध्यक्ष ज्ञानेन्द्र ताजपुरीया, घले समाजका अध्यक्ष आयुस घले, नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता पौडेल भण्डारी, पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष दिल श्रेष्ठ, आदिवासी जनजाति महासंघका अध्यक्ष पुरुषोत्तम सुनुवार, संघीय लिम्बुवान कतारकी अध्यक्ष रेखा राई, जनप्रगतिशिल मोर्चा कतारका अध्यक्ष रबिन पुन, नेपाली समाजका अध्यक्ष तेज मोक्तान, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रामहरि गैह्रै, जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी, नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न कलाकारहरूले आफ्नो सॉगितीक प्रस्तुति दिएका थिए । अमृत लिम्बु, गुना मगर, धर्मराज राई, इन्दिरा राई, अर्जुन तामाङ, गौतम लिम्बु, गोविन गुरुङ, याम सारू मगरलगायतको गायन, राधिका, सोनी र रोशनी, रबिन मगर, सरोज मगर, रेखा मगर, रिता मोटे, लिलु गुरुङ सरन पुन मगर, टिकाराज गुरुङ, रञ्जना गुरुङ, सिला गुरुङ, विष्णु गुरुङ सकूँ श्रेष्ठलगायतले नृत्यमार्फत प्रस्तुति दिएका थिए ।
सघका सचिव तथा कार्यक्रमका संयोजक रबिन पुन मगरको स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा जानकारी पछि बिधिबत रूपमा सुरुवात भएको कार्यक्रमको सञ्चालन संघका महासचिव पदम गिरीले गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति मुक्तदाले जनजाति महासंघको मातृ संस्थालाई सहकार्य तथा समन्वयका लागी धन्यवाद दिँदै आगामी बर्षहरुमा पनि यसरी नै संयुक्त रूपमा विभिन्न चाडबाड मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले एनआरएनए कतार श्रमिकमुखी संस्था भएको हुँदा जुनसुकै समस्यामा पनि संघ पिल्लर बनेर श्रमिकका लागि उभिने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij