शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपा सचिवालय बैठक : शीर्ष नेतृत्वबीच जुटेन सहमति

आइतबार, असार ८ २०७६

काठमाडौं(जस)– शीर्ष नेताहरुबीच जिम्मेवार बाँडफाँडमा सहमति नहुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । अर्को बैठकको समय नतोकी बालुवाटारमा शनिबार दिउँसो सुरु भएको बैठक सकिएको हो । बैठकले पेचिलो बन्दै गएको जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयको विवाद टुंगाउन सकेन । दोहोरो जिम्मेवारीका विषयमा माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नेताहरु दोहोरो जिम्मेवारी दिने पक्षमा रहँदा विवाद भैरहेको छ । यही विवादका कारण गत जेठको २१,२२ र २३ गते बसेको सचिवालय बैठकले पनि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री ओलीको यूरोप भ्रमण गएका थिए । उनी भ्रमणबाट आउने बित्तिकै जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सचिवालय बैठक डाकिएको थियो ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो । राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । “अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो” उनले भने, “अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठकसमक्ष जानकारी दिए ।” दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ ।
त्यसैगरी बैठकले पार्टी एकताका बाँकी कामलाई पनि छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । “एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भए पनि केही काम बाँकी छन्, बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको छ”, महासचिव पौडेलले भने, “एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय भएको छ ।” १३ महिनादेखि थन्किएको राजधानीतिक प्रतिवेदनबारे भने पार्टी अध्यक्षद्वयले बैठकलाई जानकारी गराएको बताइएको छ । बैठकमा दुबै अध्यक्षले उक्त राजनीतिक प्रतिवेदन सम्पादनको अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गर्ने बताएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठकले एकता बाँकी काम सम्पन्न गरी समग्र पार्टी पङ्क्तिलाई केन्द्रिकृत योजनाअन्तर्गत परिचालित गर्ने निर्णयसमेत गरेको छ । बैठकले सरकारको काम प्रभावकारी ढङ्गबाट अघि बढेको ठहर गर्दै थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणका बारेमा जानकारी गराएका थिए । त्यस्तै मुलुकका समसामयिक विषयमा समेत बैठकमा छलफल भएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव पौडेल सहभागी हुनुहुन्थ्यो । पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भने पार्टी कामको सिलसिलामा उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार