सोमबार, असोज १२ २०८३

सोमबार, असोज १२ २०८३

गोरखा सेवा समाज कतारद्वारा फेसन डिजाइनर सोन्या गुरुङ सम्मानित

सोमबार, असोज १२ २०८३

दोहा । गोरखालीहरूको साझा संस्था गोरखा सेवा समाज कतारले चर्चित फेसन डिजाइनर सोन्या गुरुङलाई सम्मान गरेको छ।
कतार फेसन शो–२०२६ मा नेपाली फेसन डिजाइनरहरूको प्रतिनिधित्व गर्दै कतार आएकी गुरुङलाई समाजले दोहाको मुम्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा गुरुङलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरिएको थियो।
फेसन डिजाइनलाई आफ्नो व्यावसायिक क्षेत्रका रूपमा दुई दशकदेखि निरन्तर अघि बढाउँदै आएकी गुरुङले नेपाली मौलिक पोसाक, कला र संस्कृतिलाई आधुनिक फेसन डिजाइनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै आएकी छन्। यस क्रममा उनले नेपालका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ६ भन्दा बढी अवार्डसमेत प्राप्त गरिसकेको जनाइएको छ।
फेसन डाइरेक्टर, क्रिएटिभ हेड तथा ‘सोन्या स्टाइलिस्ट’की सीईओसमेत रहेकी गुरुङ ‘क्रिएटिभ फेसन टिम नेपाल’की संस्थापक हुन्। गोरखाको चुमनुब्रीजस्तो दुर्गम भूगोलबाट आफ्नो प्रतिभा, मेहनत र सिर्जनशीलताको यात्रालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा पहिचान बनाउन सफल भएको भन्दै कार्यक्रममा सहभागी गोरखालीहरूले उनको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रममा वक्ताहरूले नेपाली मौलिक कला, संस्कृति र पहिरनलाई विश्व फेसन बजारसँग जोड्ने गुरुङको प्रयासले नेपाली फेसन क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए। प्रतिभा र सिर्जनशीलतालाई अवसर र निरन्तर मेहनतसँग जोड्न सके भूगोल सफलता प्राप्तिको बाधक बन्न सक्दैन भन्ने प्रेरणा उनको यात्राले दिएको उनीहरूको भनाइ थियो।
गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक बुधबल गुरुङ, प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, सल्लाहकार ओमराज गुरुङ, वरिष्ठ उपाध्यक्ष अर्जुन सङ्ग्रौलालगायतले सम्मानित अतिथि गुरुङलाई स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन समाजका महासचिव रुद्र भट्टले गरेका थिए।

गोरखा सेवा समाज कतारले नेपाली कला, संस्कृति, प्रतिभा र सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्दै आएको जनाएको छ। समाजले नेपाली मौलिक फेसन, हस्तकला, कला तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउन यस्ता सिर्जनात्मक प्रयासलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार