–रामशोभित नायक
देवभूमि नेपाल सात दशक लामो राजनीतिक क्रान्तिपछि शासन व्यवस्था बदलिएसँगै आर्थिक समुन्नतिको मार्गचित्रतर्फ प्रस्थान गरिसकेको छ । सरकारले नीति तथा कार्यक्रममै ‘नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने तथा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने र आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने’ विषय समावेश गरेको छ । तर नेपालमा भदौ १० को रसुवा भोटेकोशी नदीको जलप्रलयसँगै वर्षा र बाढीका कारण आधारभूत राष्ट्रिय सडक सञ्जाल छिन्नभिन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि राजनीतिक परिवेश विस्तारै सही मार्गमा आए पनि प्राकृतिक विपत्तिसँगै आर्थिक स्थिति निकै गम्भीर मोडमा पुगेको छ । आगामी दिनलाई विपत्तिका चुनौतीलाई अवसरमा बदलेर शहीदको सपना र बलिदानलाई सार्थक बनाउन अबको मुख्य ध्यान आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुन मार्गचित्र बनाउनु पर्छ ।
जलविद्युत्सँगै पर्यटन
जलविद्युत् क्षेत्रमा नेपालले सफलता पाएजस्तै समुन्नतिको दोस्रो बलियो आधार धार्मिक पर्यटन बन्न सक्ने अवसर छ । सन् २०२५ मा भारतको प्रयागराजमा सम्पन्न ४५ दिने महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी भक्तजनको सहभागिताले भारतीय अर्थतन्त्र र राजस्वमा ठूलो योगदान दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमार्फत धार्मिक पर्यटनको सफल उदाहरण पेस गरेको जस्तै नेपालले पनि आफ्ना धार्मिक तथा सांस्कृतिक धरोहरलाई अर्थतन्त्र सुधारको मूल आधार बनाउनु पर्ने देखिन्छ । नेपाल केवल भौगोलिक भूभाग मात्र नभई परापूर्वकालदेखि ऋषिमुनि, साधना र अध्यात्मको केन्द्र रहँदै आएको छ । हिमवत्खण्डमा उल्लेख भएअनुसार विभिन्न युगमा सत्यवती, तपोवती, मुक्तिसोपान हुँदै कलियुगमा नेपाल नामले परिचित यो भूमि धर्मप्राण र आस्थाको सजीव सङ्ग्रहालय हो । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी तथा गौरीशङ्कर जस्ता पवित्रस्थलहरूले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई उच्च बनाएका छन् । पशुपतिनाथ सनातनी, शैव, शाक्त, बौद्ध र किरात परम्पराको अनुपम संगमस्थल हो । मुक्तिनाथ सनातनी, हिन्दू, वैष्णव, शैव र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र हो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्र बनाउन ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने र अध्यात्म तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथको प्रवर्धन गर्ने घोषणा गरेपछि यसलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न आवश्यक छ ।
आराध्यदेव भगवान् पशुपतिनाथ नेपालको धार्मिक–सांस्कृतिक पहिचानको मेरुदण्ड र विश्वका करोडौँ सनातन धर्मावलम्बीको आस्थाको केन्द्र हो । यसको व्यवस्थापन र विकासमा अझै ध्यान दिनुपर्छ । आमूल सुधारका योजना र गुरुयोजना कार्यान्वयनलाई तीव्र बनाउनुपर्छ । पशुपति क्षेत्रलाई व्यवस्थित गरी वार्षिक ६० लाखभन्दा बढी श्रद्धालुलाई आकर्षित गर्न र स्थानीय तहमा २० देखि २५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । यसका लागि भगवान पशुपतिनाथको सम्पत्ति तथा जग्गाको रक्ष गर्न आवश्यक छ । आधिकारिक अनलाइन पूजा प्रणाली लागू गरी राजस्व बढाउनुपर्छ । पार्किङ व्यवस्थित गर्ने तथा पर्यटन सर्किट बनाउने विषयमा योजना आवश्यक छ । अन्तर्राष्ट्रिय सूचना केन्द्र स्थापना गरी सनातन धर्मको अध्ययनलाई अनुसन्धान र प्रवर्धन गर्नुपर्छ । गोठाटारमा रहेको ५३४ रोपनी जग्गामा पशुपति हिन्दू विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति ग्राम निर्माण गर्ने गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले जिम्मेवारी सम्हालेपछि पशुपतिसँगै धार्मिक क्षेत्रलाई सुधार्नका निमित्त गरेका प्रयासले नेपालको पर्यटन विकासका नयाँ अध्यायको सुरुआत हुने मार्गचित्र कोरेको छ ।
भारतका श्रद्धालु भित्र्याउने अवसर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४, २०१८ र २०२२ मा गरेको नेपाल भ्रमणले दुई देशबीचको कूटनीतिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ । उहाँले पशुपतिनाथ, जनकपुर र बुद्ध जन्मस्थल लुम्बिनी तथा मुक्तिनाथको दर्शन गर्नु यात्रा केवल औपचारिकतामा सीमित थिएन, नेपालको गरिमा र महिमालाई फैलाउने जग पनि थियो । उहाँको विनम्रता र अध्यात्मप्रतिको समर्पणले दुई देशबीचको सांस्कृतिक कूटनीतिलाई थप उचाइमा पु¥याएको छ । हाम्रो धार्मिक क्षेत्र समावेशी अध्यात्म र धार्मिक सहिष्णुताको प्रत्यक्ष प्रमाण हो । त्यसैले आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सिर्जनशील नेतृत्व आवश्यक छ । नेपाल र भारतबीच केवल सिमाना मात्र जोडिएको छैन, हाम्रा देवी–देवता, शास्त्र, चाडपर्व र मूल्य–मान्यताहरू पनि साझा छन् । यस आध्यात्मिक सम्बन्धलाई धार्मिक पर्यटनका माध्यमबाट आर्थिक समृद्धिमा रूपान्तरण गर्न सकिन्छ । नेपाललाई विश्वकै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिने अथाह सम्भावना छ । नेपालमा अघिल्ला पुस्ताका असल कामको संरक्षण गर्दै र कमजोरीलाई सुधार्दै राष्ट्र निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । सरकारले विज्ञान, प्रविधि, डिजिटल नेपाल र अर्थतन्त्रको सुदृढीकरणमा तीव्रता दिनुपर्छ । आगामी दशकलाई नेपालको धार्मिक पर्यटन प्रवर्धनको दशकका रूपमा अघि बढाउन सकेमा मात्र शहीदको सपना पूरा हुनेछ र देश आर्थिक आत्मनिर्भरतातर्फ अद्धि बढ्नेछ । (लेखक नायक पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य हुनुहुन्छ)