काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू निरन्तर जारी रह्यो।
भोटेकोशी बाढी प्रभावित परिवारका लागि सञ्चालन गरिएको राहत अभियानलाई अब राहतबाट क्रमशः पुनर्निर्माणतर्फ रूपान्तरण गर्दै लैजाने निर्णय गरिएको छ। राहत अभियानको समीक्षा तथा आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकका एजेन्डा तय गर्न आयोजित रणनीतिक बैठकमा उक्त निर्णय गरिएको हो। त्यसका लागि सरकारसँग आवश्यक समन्वय गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समझदारीपत्र (एमओयू) गरेर अघि बढ्ने निर्णय समेत गरिएको छ। बैठकमा हालसम्म अभियानमार्फत भएको सहयोग संकलन, राहत सामग्री वितरण तथा प्रभावित परिवारलाई प्रदान गरिएको सहयोगको समीक्षा गरिएको थियो। साथै, अभियानका क्रममा देखिएका चुनौती, बाँकी काम तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल गरिएको थियो। प्रभावित क्षेत्रमा दीर्घकालीन आवश्यकता पहिचान गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने, प्राप्त सहयोगको प्रभावकारी परिचालन गर्ने तथा सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको थियो। त्यसैगरी, आगामी आईसीसी बैठकमा प्रस्तुत गरिने एजेन्डा, संघका समसामयिक विषय तथा विभिन्न विभाग र समितिका कार्यप्रगतिलाई समेटेर एजेन्डा तयार गर्ने विषयमा समेत छलफल गरिएको थियो।
७५ परिवारका लागि राहत वितरणको तयारी
लगातारको वर्षाका कारण अवरुद्ध बनेको राहत वितरण पुनः सुरु गर्ने तयारी गरिएको छ। राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फिलिपिन्सको सहयोगमा रसुवाका बाढी प्रभावित ७५ परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी गरिएको हो। यसअघि लगातारको वर्षाका कारण प्रभावित क्षेत्रमा राहत वितरण गर्न कठिनाइ भएपछि कार्यक्रम स्थगित गरिएको थियो। मौसममा सुधार भएसँगै प्रभावित परिवारलाई राहत वितरण गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउने तथा वितरणका लागि आवश्यक समन्वयको काम भइरहेको छ।
तीन दिन सार्वजनिक बिदाका कारण आर्थिक सहयोगको प्रगति विवरण सोमबार सार्वजनिक गरिने
नेपालमा गत शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेकाले भोटेकोशी बाढी राहत अभियानको सहयोगको प्रगति विवरण सोमबार मात्र सार्वजनिक गरिने भएको छ। लगातार तीन दिन बैंकिङ सेवा प्रभावित हुँदा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा सहयोगी दाताले पठाएको आर्थिक सहयोग बैंक खातामा जम्मा भईसकेको भए पनि त्यसको विवरण अद्यावधिक गर्न बाँकी रहेकाले सोमबार पूर्ण विवरण सार्वजनिक गरिने भएको हो।