काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भारी वर्षाका कारण अनुकूलताअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्न सकिने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार पालिका अधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ । थप केही दिन वर्षा कायम रहने तथा मौसम विभागलगायत विभिन्न निकायले सतर्क रहन सूचना जारी गरेको सन्दर्भलाई समेत मध्यनजर गरी क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमबारे यस्तो व्यवस्था गरिएको हो ।
कांग्रेसले मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० गते तोकिएकै मितिमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न भनेको छ । मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।
देउबा समूहद्धारा नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । लोगोमा बीपीदेखि शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ । कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्दैैछ ।