बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

सक्रिय राजनीतिमा विद्या भण्डारीको कमब्याक, ३३ जना केन्द्रीय समितिमा मनोनीत

बिहिबार, असोज ८ २०८३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नबित्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई पार्टीको विशिष्ट वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ को जिम्मेवारी दिएको छ। यससँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी छन्।
२०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्वराष्ट्रपतिको भूमिकामा सीमित भएकी भण्डारीले त्यसअघि दुई कार्यकालराष्ट्रपति पद सम्हालेकी थिइन्। राष्ट्रपति पदबाट बिदा भएपछि नै उनी पार्टी राजनीतिमा फर्कने विषयले चर्चा पाउँदै आएको थियो। सुरुवाती चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओली उनको पुनरागमनप्रति सकारात्मक नदेखिए पनि पछिल्लो समय पार्टीभित्रको समीकरण र बढ्दो आलोचनाका बीच ओलीले भण्डारीलाई राजनीतिमा फर्कने मार्ग प्रशस्त गरिदिएका हुन्।
ललितपुरको रामबागमा सम्पन्न एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको छ। यसअघि बसेको सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेको हो। पार्टीको पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई फेरि सक्रिय बनाउने कि नबनाउने भन्ने विषयमा लामो समयदेखि एमालेभित्र बहस चल्दै आएको थियो। अन्ततः उनलाई सम्मानजनक भूमिका दिँदै वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो।

एमाले सचिव हिक्मत कार्कीका अनुसार, भण्डारीको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीका आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन महत्त्वपूर्ण सहयोग पुग्नेछ। अर्की सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित व्यक्तित्वलाई सामान्य सदस्यता दिएर मात्र राख्नु उपयुक्त नहुने भएकाले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको स्पष्ट पारिन्।

त्यस्तै, सचिव महेश बस्नेतले बैठक अत्यन्त सौहार्दपूर्ण रूपमा सम्पन्न भएको बताउँदै नेतृत्व र पार्टीमाथि भएका हमलालाई चिर्दै बैठकले पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाएको दाबी गरे।
यसै बैठकले पार्टीका विभिन्न तहमा रिक्त रहेका पदहरूमा थप ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। मनोनयन हुनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोटलेन छेप्याङ गुरुङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाङ्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला, मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन अन्सारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोल, धर्मराज निरौला, रवि चाम्लिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रীত राम र ध्रुव विष्ट रहेका छन्।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण, विभागहरूको गठन, पोलिटब्युरो तथा स्थायी कमिटीको पूर्णता दिने अधिकार सचिवालयलाई प्रत्यायोजन गरिएको छ। बैठकले समसामयिक राजनीतिक परिस्थिति, बाढीपहिरोको विनाश र राष्ट्रियताका सवालमा समेत गम्भीर छलफल गर्दै सरकारको पछिल्लो कार्यशैलीको कडा आलोचना गरेको छ। पार्टीले आगामी दिनमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि देशका सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन समेत आह्वान गरेको छ।

एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।

ललितपुरको रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको एमालेले जनाएको छ ।

बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ ।

एमालेका अनुसार स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् ।

त्यस्तै, काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरिएको छ ।

बैठकले स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा तेस्रो केन्द्रीय कमिटी बैठकबाट समेत प्रस्तुत भएको बताएका थिए ।

भोटेकोशी बाढीबारे सरकारको आलोचना

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले बाढीबाट विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखेर पुनस्र्थापनाको काम तत्काल अघि बढाउन माग गरेको छ ।

ध्वस्त भएका पुल तथा सडक मर्मत गरी प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनः सञ्चालन गर्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि माग गरिएको छ ।

बैठकले विपद्का समयमा सरकारको उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल र अन्य पक्षसँग पर्याप्त समन्वय नगरेका कारण उद्धार तथा राहत प्रभावित भएको एमालेको आरोप छ ।

त्यस्तै, विपद्को समयमा उद्धार तथा राहतमा खटिएका पार्टीसम्बद्ध जनसंगठन र स्वयंसेवकको प्रशंसा गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, बागमती प्रदेश सरकार तथा स्थानीय तहलाई धन्यवाद दिएको छ ।

ओली र पौडेलको गिरफ्तारीको विरोध

एमालेले अध्यक्ष ओली र पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै विरोध गरेको छ ।

बैठकले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ । यसअघि गठित छानबिन आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न पनि एमालेले माग गरेको छ ।

सुकुम्बासी बस्तीमा गरिएको डोजर अभियान, ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियनको अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता र नागरिक तथा अभियन्ताको गिरफ्तारीका विषयमा समेत एमालेले सरकारको आलोचना गरेको छ ।

संविधान संशोधनका नाममा संविधानका आधारभूत संरचना परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने बताउँदै एमालेले संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने जनाएको छ ।

महँगी र आर्थिक अवस्थाप्रति चिन्ता

बैठकले खाना पकाउने ग्यासको आपूर्ति, बढ्दो महँगी र कर वृद्धिका कारण नागरिक समस्यामा परेको जनाएको छ । ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, महँगी नियन्त्रण गर्न र कर वृद्धिको निर्णय फिर्ता लिन सरकारसँग माग गरिएको छ ।

व्यवसायीको मनोबल कमजोर भएको र लगानी संकुचित हुँदै गएको उल्लेख गर्दै अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय हित र प्रवासी नेपालीका विषयमा पनि प्रस्ताव

एमालेले नेपालको राष्ट्रिय हितविरुद्धका गतिविधि बढेको दाबी गर्दै राष्ट्रियता, महत्वपूर्ण प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ ।

राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षा तथा जनताका सवालमा संवाद, सहकार्य र एकताका लागि सबै राजनीतिक दल, नागरिक तथा बौद्धिक समुदायलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, प्रवासी नेपालीलाई नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रूपमा उल्लेख गर्दै उनीहरूको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

पार्टी एकता सुदृढ भएको एमालेको निष्कर्ष

बैठकले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न तथा पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजना निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको एमालेले जनाएको छ ।

विगतका कमजोरीको समीक्षा गरी सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरिएको र बैठकपछि पार्टी थप एकजुट भएको एमालेको निष्कर्ष छ । पार्टीले लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा अघि बढाउने जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना औँल्याएको भन्दै एमालेले नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार