बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

भोटेकोशी बाढी : एनआरएनए अझै फिल्डमा, तुप्चे र देवीघाटका ८० परिवारलाई एनआरएनएको राहत

बिहिबार, असोज ८ २०८३

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान अझै जारी रहेको छ ।

अभियानअन्तर्गत नुवाकोटको तुप्चे र देवीघाटका ८० प्रभावित परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिएको एनआरएनएले जनाएको छ । एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सहयोगमा सामग्री उपलब्ध गराइएको हो ।

स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिएको हो । परिवारलाई ग्यास सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिनलगायत सामग्री उपलब्ध गराइएको छ ।

राहत सामग्री वितरणमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ, एनसीसी नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्वउपसंयोजक धर्मराज गिरी र एनसीसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामालगायत सहभागी थिए ।

यसैगरी, भोटेकोशी बाढीमा आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका २२ प्रभावित परिवारलाई पनि राहत सामग्री वितरण गरिएको छ । एनआरएनए सचिवालयबाट उतरगया तथा विदुरका प्रभावित परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको हो ।

बाढीबाट घर तथा आफन्त गुमाएका ती परिवार हाल काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा रहेका छन् ।

एनआरएनएले भोटेकोशी–रसुवा बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । असोज ७ गतेसम्मको वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । त्यसमध्ये हालसम्म ६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन भएको छ ।

संकलित रकममध्ये सबैभन्दा धेरै बेलायतबाट ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा प्राप्त भएको छ । अष्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ, न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा, स्विडेनबाट १८ लाख ३१ हजार ५३५ रुपैयाँ र नर्वेबाट १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा प्राप्त भएको छ ।

त्यस्तै, हङकङबाट १७ लाख ५२ हजार २३२ रुपैयाँ ५० पैसा, ओमानबाट १३ लाख १५ हजार रुपैयाँ, फिलिपिन्सबाट १२ लाख रुपैयाँ, दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ तथा स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सबाट १० लाख ५५ हजार १९३ रुपैयाँ ६० पैसा प्राप्त भएको एनआरएनएले जनाएको छ ।

लग्जम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा, साउदी अरेबियाबाट १० लाख, टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, म्यानमारबाट ६ लाख १ हजार, यूएईबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ, इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ तथा आयरल्यान्ड र थाइल्यान्डबाट ५–५ लाख रुपैयाँ प्राप्त भएको छ।

एनआरएनए सचिवालय बालुवाटारले असोज ७ गते जारी गरेको विवरणअनुसार पूर्वप्रतिबद्धताअनुसारको रकम प्राप्त हुने क्रम जारी रहेकाले अभियानमा थप सहयोग रकम संकलन हुने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार