बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

देशभर मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभाव : केही दिन भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

बिहिबार, असोज ८ २०८३

काठमाडौँ । देशका अधिकांश भागमा यतिबेला मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षाको क्रम बढेको हो। भारतको ओडिसा र आन्ध्र प्रदेश आसपासबाट जमिनतर्फ प्रवेश गरेको उक्त प्रणालीले जलवाष्पयुक्त हावा नेपालतर्फ सोझ्याउँदा केही दिनसम्म वर्षा जारी रहने देखिएको छ।
पछिल्लो २४ घण्टाको तथ्याङ्कले विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा गराएको छ। लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तु आसपासका क्षेत्रमा त १६० मिलिमिटरभन्दा बढी पानी परिसकेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार असोज ८ र ९ गतेदेखि पाँचवटै प्रदेशमा वर्षाको प्रभाव रहेको छ भने शुक्रबारपछि यो प्रणाली कर्णाली र सुदूरपश्चिमसम्म फैलिने सम्भावना छ। असोज १० गतेबाट पूर्वी क्षेत्रमा वर्षा घट्ने भए पनि पश्चिमी भूभागमा प्रभाव बढ्ने र ११ गतेपछि मात्र मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।
यस विषम मौसमी अवस्थालाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले विभिन्न रङका सङ्केतहरूद्वारा जोखिमको तह स्पष्ट पारेको छ। हरियो रङले सामान्य, पहेँलोले सतर्कता, सुन्तलाले तयारीको अवस्था र रातो रङले उच्च जोखिम तथा खतराको सङ्केत गर्दछ। रातो रङ अंकित क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने र बाढी–पहिरोको उच्च जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
बाढी र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गर्दै देशभरका ६४९ स्थानलाई अति जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनको व्यापक तयारी थालेका छन्। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा विशेष तालिमप्राप्त सुरक्षाकर्मीको टोली थप गरिएको छ। नदी तटीय क्षेत्रहरू रोशी, सुनकोशी, त्रिशुली, इन्द्रावती तथा काठमाडौँ उपत्यकाका नदी किनारमा प्रहरीले माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिरहेको छ।
त्यस्तै, सशस्त्र प्रहरी बलका ११ हजार ७६३ जना सुरक्षाकर्मी जोखिमपूर्ण क्षेत्रमा परिचालित भएका छन्। सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार ८२ वटा र्‍याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखिएका छन्। ड्रोन प्रविधि र मेडिकल टिमसहितका गोताखोर परिचालन गरी खोज तथा उद्धारको कामलाई तीव्रता दिइएको छ। विशेषगरी मधेस प्रदेशका कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय बस्तीहरू तथा काठमाडौँ उपत्यकाका ५२ वटा जोखिमपूर्ण स्थानमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।
वर्षाको समयमा पहाडी क्षेत्रमा पहिरो र तटीय क्षेत्रमा बाढीको जोखिम रहने भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र मौसमसम्बन्धी अपडेटहरू निरन्तर लिन आग्रह गरिएको छ। विशेष गरी पर्यटकहरूलाई मौसम अनुकूल नभएसम्म पदयात्रामा ननिस्कन र तटीय क्षेत्रमा दाउरा सङ्कलन जस्ता कार्य नगर्न सुरक्षा निकायले चेतावनी दिएको छ। असोज ११ गतेसम्म सक्रिय रहने अनुमान गरिएको यो मौसमी प्रणालीको अवधिभर सुरक्षा संयन्त्र पूर्ण तयारीका साथ जोखिमपूर्ण क्षेत्रमा तैनाथ रहनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार