काठमाडौं(जस)–युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका मानव संसाधनमन्त्री रमानान रामाकृष्णसँग टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्री यादवले नेपालमा दर्ता कायम रहेका सबै वैदेशिक रोजगार व्यवसायी संस्थालाई मलेसियाले लागू गरेको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा सूचीकृत गर्न आग्रह गरेका छन् ।
मलेसियाले नेपालसहित स्रोत मुलुकबाट श्रमिक भर्नाका लागि सीमित संख्यामा मेनपावर कम्पनीलाई प्रणालीमा सूचीकृत गरेपछि मन्त्री यादवले त्यसप्रति नेपालको चासो राख्दै वैदेशिक रोजगारसम्बन्धी नेपाली कानुनअनुसार इजाजत प्राप्त सबै संस्थालाई समान अवसर दिनुपर्ने धारणा राखेका हुन् ।
वार्ताका क्रममा मन्त्री यादवले एफडब्लुसिएमएसमा नेपालका २५ वटा प्रमुख भर्ना एजेन्सी र तिनका मातहत रहने गरी २५० वटा सहयोगी तथा एसोसिएट एजेन्सी छनोट गरिएको विषयमा गम्भीर चासो व्यक्त गरेको श्रम मन्त्रालयले जनाएको छ । नेपालमा सरकारबाट इजाजत प्राप्त १ हजार १०० भन्दा बढी वैदेशिक रोजगार व्यवसायी संस्था सक्रिय रहेको उल्लेख गर्दै उनले नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौताअनुसार नेपाली श्रमिकलाई मलेसियामा समान हैसियत र अवसरमा पठाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरे ।
उनले एफडब्लुसिएमएसमा इजाजत प्राप्त सबै संस्थाको सूचीकृत व्यवस्था दुवै देशको समझदारीअनुकूल हुने गरी कार्यान्वयन गर्नुपर्ने बताए । मन्त्री यादवले विकसित अवस्थाबारे निरन्तर संवादमार्फत निष्कर्षमा पुग्न मलेसियाली समकक्षीसँग आग्रह गरेका छन् । जवाफमा मानव संसाधनमन्त्री रामाकृष्णले मलेसिया सरकारले नेपालसँगको श्रम सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको तथा सुरक्षित, मर्यादित र पारदर्शी श्रम आप्रवासनमा विश्वास गर्ने बताएका छन् । उनले हाल लागू गरिएको प्रणालीबारे नेपालको अनुरोधलाई गम्भीरतापूर्वक छलफलमा राखेर अघि बढाइने प्रतिबद्धता जनाउँदै दुवै देशबीच श्रम तथा रोजगारीका क्षेत्रमा निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् ।
