काठमाडौं(जस)–पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपियाँ सहयोग गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ । होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
होटल व्यवसायी अरुण कुमार सर्राफ होटल याक एण्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौंका समेत सञ्चालक हुन् । उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित नाम हो । ऐतिहासिक लाल दरबारलाई समेटेर विकास गरिएको होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो ।
राणाकालीन वास्तुकला, पुराना कलाकृति र ऐतिहासिक संरचनाको संरक्षण गर्दै आधुनिक होटल सेवासँग संयोजन गरिएकाले याक एण्ड यती नेपालको आतिथ्य क्षेत्रसँगै कला, वास्तुकला र सम्पदाको पहिचानसँग समेत जोडिएको छ । सर्राफ परिवार व्यवसायसँगै सामाजिक सेवा, सम्पदा संरक्षण र दिगोपनका क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ । सर्राफ फाउन्डेसनले नेपालको सांस्कृतिक, वास्तुकलागत तथा हिमाली सम्पदाको संरक्षण, अध्ययन र प्रवद्र्धनमा काम गर्दै आएको छ । फाउन्डेसनले कला, वास्तुकला, शिक्षा, समुदाय र दिगोपनलाई जोड्दै तारागाउँ नेक्स्ट, नेपाल आर्किटेक्चर आर्काइभलगायतका पहलमार्फत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खुम्बु क्षेत्रमा दिगो पर्यटन र वातावरण संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेको सगरमाथा नेक्स्ट सर्राफ फाउन्डेसनको सहयोगमा अघि बढाइएको प्रमुख पहलमध्ये एक हो । नाम्चे बजारनजिक स्याङ्बोचेमा रहेको यस केन्द्रले सगरमाथा क्षेत्रमा बढ्दो पर्यटनसँगै देखिएका फोहोर व्यवस्थापन तथा वातावरणीय चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदाय, संस्कृति र हिमाली वातावरणको संरक्षणमा केन्द्रित भएर काम गर्दै आएको छ । व्यवसायसँगै सम्पदा संरक्षण, वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सर्राफ परिवारले विभिन्न पहललाई निरन्तरता दिँदै आएको छ । होटल याक एण्ड यतीले बाढी प्रभावितका लागि उपलब्ध गराएको पछिल्लो सहयोगलाई पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा लिइएको छ ।