शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३

भाटभटेनीको २४ घन्टे सेवा र उत्साहित नेपालको उपभोक्ता बजार

शुक्रबार, भाद्र ५ २०८३

–दीपा सञ्जेल
काठमाडौं । नेपालको खुद्रा व्यापार क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्दै भाटभटेनी सुपरस्टोर्सले भक्तपुरको राधेराधे शाखाबाट २४ घन्टे सेवा सुरु गरेको छ । भदौ १ गतेदेखि परीक्षणका रूपमा सुरु गरिएको चौबीसै घन्टे सेवाले उपभोक्तामाझ उत्साह थपेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलित चौबीसै घन्टे सुपरमार्केटको अवधारणालाई नेपालमा समेत विस्तार गर्ने उद्देश्यसहित भाटभटेनीले पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।
भाटभटेनीले राधेराधे, भक्तपुरस्थित शाखालाई चौबीसै घन्टा सञ्चालनमा ल्याएर यसको परीक्षण सुरु गरेको जनाएको छ । परीक्षण सफल हुँदै गएमा क्रमशः अन्य शाखालाई पनि चौबीसै घन्टा सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । यसले नेपालको उपभोक्ता बजारमा किनमेल गर्ने समय र शैलीमा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । भाटभटेनी सुपरस्टोर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गत बुधबारदेखि चौबीसै घन्टा सञ्चालनको परीक्षण गरिएको र भदौ १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा सञ्चालनमा रहेका ठूला सुपरमार्केट तथा चेन स्टोरको अभ्यासलाई नेपालमा पनि लागू गर्न खोजिएको बताए ।
‘बुधबार रातिदेखि हामीले परीक्षण ग¥यौं,’ गुरुङले भने, ‘सोमबारदेखि हामीले चौबीसै घन्टा खोलेका छौं । अब क्रमशः अन्य शाखा पनि चौबीसै घन्टा खुल्ने गरी सञ्चालनमा ल्याउने छौं ।’ उनका अनुसार उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर यस्तो सेवा सुरु गरिएको हो । पछिल्लो समय उपभोक्ताको जीवनशैलीमा आएको परिवर्तन, व्यस्तता र रातिसम्म काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै किनमेलको समयलाई विस्तार गर्न आवश्यक देखिएको उनको भनाइ छ । भाटभटेनीले ग्राहकलाई आफूलाई अनुकूल हुने समयमा किनमेल गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले चौबीसै घन्टे सेवा सुरु गरेको जनाएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले अन्तर्राष्ट्रिय चेन स्टोरहरू चौबीसै घन्टा सञ्चालन हुने अभ्यास रहेको बताउँदै नेपालमा पनि सोही अवधारणालाई विस्तार गर्न खोजिएको बताए । उनका अनुसार बिहानदेखि साँझसम्म मात्र किनमेल गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै रातिको समयमा समेत ग्राहकलाई सहज रूपमा आवश्यक सामग्री खरिद गर्न सक्ने वातावरण बनाउन सेवा सुरु गरिएको हो । ‘अन्तर्राष्ट्रिय चेन स्टोरहरू चौबीसै घन्टा खुला रहने गर्छन्,’ पौडेलले भने, ‘अति व्यस्त हुने ग्राहकलाई रातिको समयमा फुर्सद निकालेर किनमेल गर्न सहज होस् भनेर हामीले यस्तो सेवा सुरु गरेका हौं ।’
नेपालको शहरी जीवनशैली पछिल्लो समय तीव्र रूपमा परिवर्तन भइरहेको छ । निजी क्षेत्र, बैंकिङ, सूचना प्रविधि, सञ्चार, स्वास्थ्य, पर्यटन, सुरक्षा तथा अन्य विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको कार्यसमय परम्परागत कार्यालय समयभन्दा बाहिरसम्म फैलिएको छ । कतिपय क्षेत्रमा रातिको समयमा समेत काम गर्नुपर्ने भएकाले त्यस्ता उपभोक्ताका लागि चौबीसै घन्टा खुल्ने खुद्रा बजार उपयोगी हुने देखिन्छ । विशेषगरी काठमाडौं उपत्यकाजस्तो व्यस्त शहरी क्षेत्रमा मानिसको दैनिक जीवनशैलीमा आएको परिवर्तनले उपभोक्ताको किनमेल गर्ने समयलाई पनि प्रभावित गरेको छ । कार्यालयबाट ढिला फर्किने, रातिको समयमा यात्रा गर्ने, आकस्मिक रूपमा आवश्यक वस्तु खरिद गर्नुपर्ने तथा आफ्नो सुविधाअनुसार किनमेल गर्न चाहने उपभोक्ताका लागि चौबीसै घन्टे सुपरस्टोर नयाँ विकल्प बन्न सक्छ ।
भाटभटेनीले यस्तो सेवा सुरु गरेसँगै नेपालको खुद्रा व्यापार क्षेत्रमा प्रतिस्पर्धाको नयाँ आधारसमेत तयार हुने देखिएको छ । यसअघि अधिकांश ठूला सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोर निश्चित समयभित्र मात्रै सञ्चालन हुँदै आएका थिए । अब चौबीसै घन्टा सेवा सुरु भएपछि अन्य ठूला खुद्रा व्यापारिक संस्थामाथि पनि सेवा समय विस्तार गर्न दबाब पर्न सक्ने व्यवसायीहरूको अनुमान छ ।
चौबीसै घन्टा सेवा सञ्चालन गर्नु केवल व्यापारिक समय बढाउनु मात्र नभई उपभोक्ताको बदलिँदो आवश्यकता सम्बोधन गर्ने प्रयासका रूपमा समेत हेरिएको छ । विश्वका ठूला शहरमा चौबीसै घन्टा सञ्चालन हुने सुपरमार्केट, फार्मेसी, रेस्टुरेन्ट तथा अन्य सेवा व्यवसाय सामान्य बन्दै गएका छन् । नेपालमा पनि शहरीकरण, व्यस्त जीवनशैली र उपभोक्ताको क्रयशक्तिमा आएको परिवर्तनसँगै यस्तो अभ्यास विस्तार हुन थालेको छ । भाटभटेनीको राधेराधे शाखाबाट सुरु भएको यो अभ्यासले रातिको बजारलाई समेत औपचारिक खुद्रा व्यापारको महत्वपूर्ण हिस्सा बनाउन सक्ने सम्भावना देखाएको छ । अहिले अधिकांश खुद्रा व्यापार साँझपख बन्द हुने भएकाले रातिको समयमा आकस्मिक रूपमा आवश्यक वस्तु खरिद गर्नुपर्ने उपभोक्ताले सीमित विकल्प मात्र पाउने गरेका छन् । चौबीसै घन्टे सुपरस्टोरको विस्तारसँगै यस्तो समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
पौडेलका अनुसार चौबीसै घन्टा सेवा सञ्चालन गर्दा यातायात तथा ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । भाटभटेनीको एउटा शाखामा दैनिक रूपमा ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने भएकाले दिउँसो तथा साँझको व्यस्त समयमा पार्किङ र ट्राफिक व्यवस्थापनमा दबाब पर्ने गरेको उनले बताए । ग्राहकको केही हिस्सा रातिको समयमा समेत आउने भएपछि मुख्य समयको भीड व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । ‘एउटा स्टोरमा २५–३० वटा सवारीसाधन आवतजावत हुने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको हुन्छ,’ पौडेलले भने, ‘रातिको समयमा पनि ग्राहक आउन थालेपछि त्यसको व्यवस्थापनमा सहजता हुन्छ ।’
यद्यपि चौबीसै घन्टा सेवा सञ्चालन गर्नु व्यवसायका लागि चुनौतीरहित भने छैन । अतिरिक्त समय सञ्चालन गर्दा कर्मचारी व्यवस्थापन, सुरक्षा, विद्युत्, सरसफाइ, आपूर्ति तथा सञ्चालन खर्च बढ्न सक्छ । रातिको समयमा ग्राहकको संख्या अपेक्षाकृत कम भएमा सञ्चालन लागत व्यवस्थापन गर्नु अर्को चुनौती बन्न सक्छ । त्यसैले भाटभटेनीले पहिलो चरणमा एक शाखाबाट परीक्षण गरेर उपभोक्ताको व्यवहार र व्यापारिक सम्भावना अध्ययन गर्न थालेको हो ।
राधेराधे शाखामा गरिएको परीक्षणबाट रातिको समयमा समेत उपभोक्ताको उपस्थिति देखिन थालेपछि कम्पनी उत्साहित भएको जनाएको छ । राति किनमेल गर्ने ग्राहकको संख्या, उनीहरूले खरिद गर्ने वस्तु, खर्च गर्ने रकम तथा सेवा प्रयोग गर्ने समयको अध्ययनका आधारमा अन्य शाखामा चौबीसै घन्टे सेवा विस्तार गर्ने रणनीति बनाइनेछ । नेपालको उपभोक्ता बजारमा पछिल्लो समय ठूला खुद्रा व्यापारिक संस्थाको प्रभाव बढ्दै गएको छ । परम्परागत किराना पसलसँगै सुपरमार्केट, डिपार्टमेन्ट स्टोर तथा संगठित खुद्रा व्यापारको विस्तार भइरहेको छ । उपभोक्ताले एउटै स्थानबाट खाद्यान्नदेखि घरायसी सामग्री, विद्युतीय उपकरण, कपडा तथा दैनिक उपभोग्य वस्तुसम्म खरिद गर्न रुचाउन थालेका छन् । यस्तो अवस्थामा सेवा समयलाई समेत प्रतिस्पर्धाको महत्वपूर्ण आधार बनाउने क्रम सुरु भएको छ ।
भाटभटेनीको चौबीसै घन्टे सेवाले उपभोक्तालाई थप सुविधा दिनुका साथै नेपालको संगठित खुद्रा बजारलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने कामसमेत गर्ने देखिन्छ । यदि यो अभ्यास सफल भयो भने काठमाडौं उपत्यकाका अन्य शाखासँगै देशका प्रमुख शहरमा रहेका भाटभटेनीका स्टोरमा पनि सेवा समय विस्तार हुन सक्नेछ । विशेषगरी रातिको समयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक, पर्यटन तथा आतिथ्य क्षेत्रमा काम गर्ने श्रमिक, सञ्चारकर्मी तथा अन्य सेवाक्षेत्रमा आबद्ध व्यक्तिका लागि यस्तो सेवा उपयोगी हुन सक्छ । त्यस्तै, रातिको समयमा यात्रा गर्ने वा आकस्मिक रूपमा घरायसी सामग्री आवश्यक पर्ने उपभोक्ताले पनि यसको प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
चौबीसै घन्टा सेवा सुरु भएपछि नेपालको खुद्रा बजारमा उपभोक्तामैत्री प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ । व्यापारिक संस्थाहरूले मूल्य, गुणस्तर र वस्तुको विविधतासँगै सेवा उपलब्ध हुने समयलाई पनि प्रतिस्पर्धाको आधार बनाउनुपर्ने अवस्था आउन सक्छ । यसले अन्ततः उपभोक्तालाई बढी विकल्प र सुविधा उपलब्ध गराउन सक्नेछ । तर चौबीसै घन्टे सेवा सफल बनाउन सुरक्षा र गुणस्तरीय सेवामा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि देखिन्छ । रातिको समयमा ग्राहक तथा कर्मचारीको सुरक्षा, पर्याप्त प्रकाश, पार्किङ, आपूर्ति व्यवस्थापन र आवश्यक वस्तुको उपलब्धता सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसैगरी रातिको समयमा काम गर्ने कर्मचारीका लागि उचित कार्यसमय र श्रम व्यवस्थापन पनि महत्वपूर्ण विषय बन्नेछ ।
भाटभटेनीले पहिलोपटक भक्तपुरको राधेराधे शाखाबाट सुरु गरेको चौबीसै घन्टे सेवाले नेपालमा खुद्रा व्यापारको नयाँ सम्भावनाको ढोका खोलेको छ । उपभोक्ताको प्रतिक्रिया, व्यापारिक परिणाम र सञ्चालन लागतका आधारमा यसको विस्तारको गति निर्धारण हुनेछ । तर उपभोक्ताको बदलिँदो जीवनशैली र सुविधामुखी बजारको मागलाई हेर्दा चौबीसै घन्टे सेवा नेपालको शहरी उपभोक्ता बजारमा विस्तार हुँदै जाने सम्भावना देखिन्छ । नेपालमा आधुनिक खुद्रा बजारको विकाससँगै उपभोक्ताले अब केवल सस्तो मूल्य वा धेरै वस्तु मात्र खोजिरहेका छैनन् । उनीहरूले सहज पहुँच, समयको बचत, सुरक्षित किनमेल, गुणस्तरीय सेवा र आफूलाई अनुकूल समयमा सेवा प्राप्त गर्ने सुविधा पनि खोजिरहेका छन् । भाटभटेनीको चौबीसै घन्टे सेवाले यही बदलिँदो उपभोक्ता व्यवहारलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसको सफलताले नेपाली खुद्रा बजारमा सेवा समयलाई समेत प्रतिस्पर्धाको महत्वपूर्ण विषय बनाउने र उपभोक्ता बजारलाई थप आधुनिक तथा व्यवस्थित दिशातर्फ लैजान सक्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार