मंगलबार, साउन २६ २०८३

मंगलबार, साउन २६ २०८३

आयरल्यान्डको डब्लिनमा सुरु भयो एनआरएनए युरोप सम्मेलन,राज्यले एनआरएनएका माग सम्बोधन गर्छ : रास्वपा नेता पराजुली

मंगलबार, साउन २६ २०८३

काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्यान्डको राजधानी डब्लिनमा सोमबारदेखि सुरु भएको छ। ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने मूल नारासहित सुरु भएको दुईदिने सम्मेलनमा युरोपसहित विश्वका विभिन्न मुलुकबाट एनआरएनए अभियन्ता, उद्यमी, पेसाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको उल्लेख्य सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले गैरआवासीय नेपालीका मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने बताएका छन्। उनले एनआरएनएका सबै माग तत्काल पूरा गर्न सम्भव नभएको स्वीकार गर्दै सरकार चरणबद्ध रूपमा आवश्यक सुधार र सहजीकरणतर्फ अघि बढिरहेको बताए।
“राज्यका आफ्नै प्रक्रिया र सीमितताहरू छन्। त्यसैले सबै माग तत्काल सम्बोधन गर्न नसकिए पनि क्रमशः सबै विषयलाई समाधानतर्फ लैजाने हाम्रो प्रतिबद्धता छ,” उनले भने। नेपालको अर्थतन्त्रमा गैरआवासीय नेपालीहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न आवश्यक रहेको धारणा राखे।

पराजुलीले एनआरएनएले पनि विगतका वर्षहरूमा अपेक्षाअनुसार ठोस र स्पष्ट देखिने काम गर्न नसकेको टिप्पणी गरे। संस्थाले अब बैठक, घोषणापत्र र मागपत्रमा सीमित नबसी नेपालसँगको सम्बन्धलाई आर्थिक, सामाजिक, शैक्षिक र प्रविधिगत सहकार्यमा रूपान्तरण गर्नुपर्ने उनले बताए।

सम्मेलनको उद्घाटन पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। डब्लिनस्थित रेडिसन ब्लू रोयल होटलमा आयोजित सम्मेलनमा विभिन्न देशबाट करिब दुई सय प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले संस्थाभित्रको विभाजन र अविश्वासलाई अन्त्य गर्दै एकता कायम गर्ने अभियान आयरल्यान्डबाटै सुरु भएको बताए। उनले नयाँ पुस्ता, महिला, सरकार, निजी क्षेत्र तथा नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थासँग सहकार्यलाई तीव्रता दिइने जानकारी दिँदै ‘ग्लोबल नलेज कन्फरेन्स’ लाई संस्थाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरे।

बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्समार्फत मात्र होइन, ज्ञान, अनुभव र उद्यमशीलतामार्फत पनि नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको र चौथो पुस्ता अझ टाढा हुने जोखिम बढेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले दीर्घकालीन रणनीति बनाउनुपर्ने बताए।

उनले सरकारले अघि सारेको ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणालाई व्यवहारमा प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय निरन्तर सक्रिय रहेको जानकारी दिए। विदेशमा आर्जन गरिएको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताए। नेपालमा लगानी भित्र्याउन विश्वास सबैभन्दा पहिलो सर्त भएको उल्लेख गर्दै उनले सरकारले गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार रहेको र ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुपर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।

सुवेदीले एनआरएनएको वास्तविक पुँजी पैसा मात्र नभई विदेशमा रहेका नेपालीहरूको अनुभव, ज्ञान र क्षमता पनि भएको बताए। सरकारले अब ‘रिटर्न टु नेपाल’ भन्दा पनि ‘कनेक्ट टु नेपाल’ को अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिँदै एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक, शैक्षिक, ज्ञान हस्तान्तरण तथा प्रविधि आदानप्रदानलाई आफ्नो मुख्य एजेन्डा बनाउनुपर्ने बताए।

समारोहमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे। परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाएको शुभकामना सन्देशको भिडियो पनि प्रस्तुत गरिएको थियो।

एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण एनआरएनए अभियानकर्तालाई धन्यवाद दिए। उद्घाटन कार्यक्रममा स्कटल्यान्डमा बसोबास गर्दै आएका सजलकेशर कार्कीले स्कटल्यान्डको राष्ट्रिय धुन ‘बैगपाइप’ बजाएर प्रस्तुति दिएका थिए भने एनआरएनए आयरल्यान्डकी उपाध्यक्ष प्रजया न्यौपानेले सांस्कृतिक झाँकी प्रस्तुत गरेकी थिइन्।

युरोप संयोजक रोबर्ट लिम्बुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन युरोप महिला संयोजक बाबा राजेश्वरी थापा र मुकुन्द भुसालले संयुक्त रूपमा गरेका थिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, ज्ञान सीप तथा प्रविधि हस्तान्तरणलगायत विषयमा १० वटा विषयगत सत्र सञ्चालन हुनेछन्। सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षमा विश्वभर रहेका नेपाली डायस्पोराको भूमिका र नेपालको विकासमा उनीहरूको साझेदारीका लागि साझा मार्गचित्र निर्माण गर्ने उद्देश्यसहित ‘डब्लिन घोषणापत्र’ जारी गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार